Comments Add Comment

शुल्क वृद्धिको विरोधमा वीरगञ्जको नारायणी अस्पतालमा प्रदर्शन

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ ।

नारायणी उप-क्षेत्रीय अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो ।

गरीबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क वृद्धि गरेर निजी अस्पतालको भन्दा महंगो सेवा बनाएको भन्दै वीरगञ्जका युवा तथा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म नारायणी उपक्षेत्रीय अस्पतालको मुख्य गेटबाहिर विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरे ।

नारायणी उप-क्षेत्रीय अस्पतालमा भएको शुल्क वृद्धि, भ्रष्टाचार, अनियमितता, बेथितिको विरुद्धमा प्रदर्शन गरिएको अभियानका संयोजक ओमप्रकाश सर्राफले बताए ।

‘नारायणी उपक्षेत्रीय अस्पतालमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु उपचारका लागि आउँछन् तर शुल्क वृद्धि गरेर उनीहरुको ढाड सेक्ने काम भएको छ ‘ उनले भने ‘अस्पतालले प्रदान गर्ने कतिपय सेवाहरु निजी अस्पतालका भन्दा महंगो देखिएको छ । यो अन्यायको विरुद्धमा हामीले आन्दोलनमा जान बाध्य भयौं ।’

अर्का युवा अभियन्ता मदन गुप्ताले पैसा भएकाहरु जहाँ गएर पनि उपचार लिन सक्ने बताउँदै गरीबहरुको उपचार निशुल्क हुनुपर्नेमा शुल्क वृद्धि गरेर अस्पतालले लापरबाही गरिरहेको बताए ।

सामाजिक अभियन्ता प्रकाश थारुले सरकारले सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने भनिरहेको अवस्थामा सरकारी अस्पतालमै मनलाग्दी शुल्कवृद्धि हुनु जायज नभएको बताए । प्रदेश सरकारका मन्त्री, अस्पताल विकास समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख, मेडिकल सुपरीटेन्डेन्टलाई समेत बारम्बार ध्यानाकर्षण गराउदा समेत शुल्क वृद्धि फिर्ता नगरिएकोले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको प्रदर्शनकारीहरुले बताएका छन् ।

प्रर्दशनकारीले गरीबको ढाड सेक्न पाइदैन, सरकारी अस्पताललाई व्यापारिक केन्द्र बनाउन पाइदैन, अनियमितता र वेथिती बन्द गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने अस्पतालको आय स्रोत बढाउन आवश्यक शुल्क वृद्धि गरिएको बताएका छन् ।

‘अस्पतालका सेवा विस्तार गरिरहेका छौं, सरकारले पठाएको रकमले अस्पताल सञ्चालन खर्च पनि धान्दैन, जनशक्ति अभाव छ । सबै कुराका लागि रकम नै चाहिन्छ’ उनले भने ‘त्यसमाथि लामो समयदेखि शुल्क दर एउटै थियो । त्यसैले शुल्क वृद्धि गर्ने निर्णयमा पुगेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment