
२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो ।
आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेको छ । अध्यक्ष पूण्य ढकाल र महासचिव सुवोधकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वेच्छिक अवकाश प्रक्रिया अघि बढिरहेको बेला वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउनुपर्ने उल्लेख छ ।
त्यस्तै हचुवाको भरमा कर्मचारी समायोजन बन्द गर्न र ट्रेड युनियनहरुप्रतिको पुर्वाग्रही अभिव्यक्ति तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । युनियनले बढ्दो मूल्यवृद्धि, राजश्व वृद्धिसमेतलाई अध्ययन गरी तलबमान पुनरावलोकन हुनुपर्ने बताएको छ ।
सरकारले आफ्ना मागप्रति उदासिनता देखाएमा बाध्यतावश आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । आधिकारिक ट्रेड युनियनले आन्दोलनका लागि तयार रहन सबै तह र तप्काका कर्मचारीहरुलाई अनुरोधसमेत गरेको छ ।
माग पूरा नभए जेठ १९ गते हुने युनियनको राष्ट्रिय भेलाबाट आन्दोलनको घोषणा गरिने ढकाल र देवकोटाले जनाएका छन् ।
प्रतिक्रिया 4