+
+

यस्ता लक्षण देखिए हुनसक्छ थाइराइड: डा. प्रियादर्शनी

सन्दर्भः विश्व थाइराइड दिवस

डा. प्रियादर्शनी योञ्जन डा. प्रियादर्शनी योञ्जन
२०७५ जेठ ११ गते १२:४१

विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ ।

थाइराइड ग्रन्थि पुतली आकारमा सास नलीको माथिल्लो भाग तथा रुद्रघण्टीको दुवैतर्फ दुई भागमा हुन्छ । थाइराक्सिन नामक हर्मोनको उत्पादन गर्ने यस ग्रन्थिले मुटु, मस्तिष्क, मिर्गौला लगायतका शरीरका विभिन्न भागलाई नियन्त्रण गर्छ ।  जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ,  तब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन ।

यसबाट शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । यो रोग मेटाबोलिज्मको कमीका कारण हुने  भएकाले यसलाई अटो इम्युन डिजिज पनि भनिन्छ । जब शरीरको रोग निरोधक शक्तिले आˆनै शरीरको स्वस्थ कोष वा  ग्रन्थिहरूलाई भत्काउन सुरु गर्छ, तब शरीरमा अटो इम्युन डिजिज हुने गर्छ ।

त्यसबाहेक शल्यक्रिया, विभिन्न औषधीहरूको सेवन तथा रेडियसन थेरापीका कारण हर्मोनको गडबडी भई यो रोग लाग्नसक्छ ।

यो रोग आफैमा निको नहुने रोग हो । त्यसैले थाइराइडको समस्यालाई पूर्ण रूपले निको पार्न नसकिए पनि विभिन्न उपचार पद्धतिद्वारा यसलाई नियन्त्रण भने अवश्य गर्न सकिन्छ ।

सामान्यतया थाइराइड रोग दुई किसिमको हुन्छ ।

हाइपरथाइराइडिज्म र हाइपोथाइराइडिज्म

शरीरमा थाइराइड ग्रन्थिले आवश्यकताभन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यस्तैगरी शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । त्यसैले यसको लक्षण पनि विभिन्न किसिमको हुुन्छ ।

शरीरमा हाइपरथाइराइडिज्मको समस्या भएमा यस्ता लक्षण देखा पर्छन्ः

-शरीर कमजोर हुने तथा थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने

– छाला फुस्रो हुने

-जीउ सुन्निने

-तीव्र गतिमा तौल बढ्ने

-गर्मी तथा चिसो छिट्टै महसुस हुने

-कब्जियत हुने

– निद्रा नलाग्ने

शरीरमा हाइपोथाइराइडिज्मको समस्या भएमा निम्न लक्षण देखा पर्छन्ः

-शरीर दुब्लाउँदै जाने

-जीउ तातिने

-दिसा लागिरहने,

-धेरै पसिना बग्ने

यस्ता लक्षण व्यक्तिअनुसार फरक हुने भएकाले आफूलाई थाइराइड भएको शंंका लागेमा रगत जाँच गरेर यो रोग पत्ता लगाउन सकिन्छ । त्यसबाहेक, यस्ता लक्षण देखिएमा पनि थाइराइड रोग लागेको थाहा पाउन सकिन्छ ।

तीव्र गतिमा तौल बढ्नु

थाइराक्सिनले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने काम) लाई नियन्त्रण गर्ने हुँदा थाइराइडका कारण शरीरको मेटाबोलिज्म प्रभावित हुन्छ । मेटाबोलिज्मको प्रभावकै कारण हामीले खाएको सम्पूर्ण खाना शक्तिमा बदलिँदैन र त्यो शरीरमा अतिरिक्त फ्याटको रूपमा जम्मा हुने गर्छ,  जसका कारण शरीरको तौल अचानक तथा तीव्र गतिमा बढ्छ ।

थकान महसुस हुनु

शरीर कमजोर हुनु तथा शरीरमा थकान महसुस हुनु थाइराइडको प्रमुख लक्षण हो । मेटाबोलिज्मको कारण जब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन, तब शरीरमा ऊर्जाको कमी हुन थाल्छ । जसका कारण शरीरमा कमजोरी महसुस हुने तथा शरीर थाक्ने गर्छ । शरीरमा रगतको कमी भएमा वा एनिमिया भएमा पनि महिलाहरूलाई थकान महसुस हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

अनियमित महिनावारी

थाइराइडको समस्या भएमा महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ । अनियमित महिनावारीका कारण महिनावारी हुने समय लम्बिन्छ ।

डिप्रेसन

थाइराइडको समस्याकै कारण कतिपय महिलाहरूलाई डिप्रेसनसमेत हुने गर्छ । विशेषगरी थाइराइड ग्रन्थिले कम मात्रामा थाइराक्सिन उत्पादन गरेमा डिप्रेसनको हर्मोन सक्रिय हुन्छ जसका कारण थाइराइडका बिरामीलाई सुत्न समेत समस्या हुनसक्छ ।

स्मरणशक्ति कमजोर हुने

थाइराइड रोग लागेमा स्मरणशक्ति प्रभावित हुन्छ । सोच्ने तथा सम्झने क्षमतामा असर पर्छ ।  स्मरणशक्ति कमजोर हुनुका साथै व्यक्ति चिड्चिडे स्वभावको हुनसक्छ ।

जाडो वा गर्मी सहन नसक्ने

थाइराइडको समस्या भएमा त्यसले शरीरलाई समेत प्रभावित पार्दछ । विशेषगरी, थाइराईड हर्मोन बढी भएमा व्यक्तिलाई धेरै पसिना आउने तथा गर्मी लाग्ने गर्दछ । जब कि हाईपोथाइराइडिज्म भएमा शरीर चिसो हुने तथा शरीरले अलिकति पनि चिसो सहन नसक्ने हुन्छ ।

पेट सम्बन्धी समस्या

थाइराइड रोग लागेमा व्यक्तिलाई पेटसम्बन्धी समस्या धेरै हुने गर्छ । शरीरमा हाइपोथाइराइडिज्म वा हर्मोनको कमी भएमा कब्जियतको समस्या हुन्छ भने हाइपरथाइराइडिज्मको समस्या भएमा दिसा लाग्ने गर्दछ । थाइराइडको समस्याका कारण  खाना पचाउन समस्या हुने तथा खाना सजिलैसित नपच्ने समस्या समेत देखा पर्छ ।

मुटु सम्बन्धी समस्या

मुटुको चाल सामान्यभन्दा धेरै छ भने यो पनि थाइराइड रोगको लक्षण हुनसक्छ । थाइराइड ग्रन्थिले धेरै हर्मोनको उत्पादन गरेमा मुटुको चाल धेरै हुन्छ जसका कारण मुटुमा विभिन्न समस्या उत्पन्न हुने तथा छाती दुख्ने गर्छ ।

निःसन्तानपन

थाइराइड हर्मोनको गडबडी भएमा महिलाहरूमा निःसन्तानपनको समस्या हुनुका साथै गर्भ तुहिने समस्या बारम्बार हुने गर्दछ । थाइराइड ग्रन्थिले उत्पादन गर्ने टीएचएस हर्मोनको गडबडीका कारण यस्तो हुन्छ ।

(यो लेख इन्डोक्राइनोलोजिस्ट डा. प्रियादर्शनी योञ्जनसितको कुराकानीमा आधारित छ । उनी हाल काठमाडौ डाइविटिज तथा थाइराइड सेन्टर प्रा.लि, अल्का अस्पतालमा कार्यरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?