+
+

बालबालिकामा स्मार्टफोनको कुलतले निम्त्याउँछ यस्तो खतरा 

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १४ गते ११:००

तपाईंले देख्नु वा भोग्नु भएकै होला, अहिले अक्सर बालबालिकाको हातमा स्मार्टफोन वा ट्याबलेट हुन्छ । एकछिन फुर्सद हुनासाथ उनीहरू स्मार्टफोन/ट्याबलेटमा लिप्त भएको देखिन्छ ।

प्रविधिबारे जिज्ञासु हुनु र त्यसको प्रयोग गर्नु नराम्रो होइन । तर, बालबालिकाले स्मार्टफोन/ट्याबलेटमा कसरी समय व्यतीत गरिरहेका छन् ? किन उनीहरू त्यसमा यति विघ्न लिप्त भइरहेका छन् ?

यो सामान्य मान्न सकिने कुरा होइन । अक्सर बालबालिका यी उपकरणमा गेम खेलेर वा भिडियो हेरेर बिताउँछन् । एकै स्थानमा लामो समय बसेर यस्ता उपकरण प्रयोग गर्दा त्यसले प्रत्यक्ष रूपमै शारीरिक हानि गर्छ ।

एक त, त्यस्ता उपकरणबाट आउने किरणले आँखाको दृष्टि कमजोर बनाउँछ । साथै उनीहरूलाई शारीरिक रूपमा निष्क्रियपनि । जब कि यो उमेरमा बालबालिकाहरूले धेरै भन्दा धेरै शारीरिक गतिविधिमा सहभागी हुनुपर्ने हुन्छ । खेल्नु, उफ्रिनु, दौडनुपर्ने हुन्छ । स्मार्टफोन एवं ट्याबलेटले उनीहरूलाई एउटै कोठामा घण्टौंसम्म बन्दी बनाइरहेका छन् ।

बुबाआमाको कमजोरी

बालबालिका यसरी स्मार्टफोनमा लिप्त हुनुको दोष उनीहरूलाई मात्र थोपर्न मिल्दैन । खासमा आमाबुबाले नै उनीहरूलाई यस्तो उपकरणमा भुलाउने गर्छन् । आफ्ना छोराछोरीलाई भुलाउन, खुसी बनाउन स्मार्टफोन, ट्याबलेट दिने बानीले कसरी घातक रूप लिन्छ भन्ने कुरा सायदैले बुझेका छन् ।

स्मार्टफोन बालबालिकालाई खुसी पार्न दिइन थालिएको छ । बालबालिकालाई गाडीमा चुपलागेर बस्न, रोएको बेलामा फकाउन स्मार्टफोन दिइन्छ ।

यसकारण घातक

मनोविज्ञ एवं प्यारेन्टिङ गुरुहरूले आइप्याड, आइफोन, एन्ड्रोइड र अन्य ग्याजेटको असरको बारेमा कुरा गरिरहेका हुन्छन् ।

टचस्क्रिन सहितका ग्याजेट ३ वर्षभन्दा कमका बालबालिकालाई दिन नहुने उनीहरू बताउँछन् । उनीहरूका अनुसार स्क्रिनमा धेरै हेर्नाले बालबालिकाहरूको विकास हुँदै गरेको मस्तिस्कमा असर गर्छ ।

नयाँ खालका उपकरण बालबालिकाहरूमा लोकपि्रय हुँदा त्यसले नकरात्मक असर गर्छ भनेर सबैले भन्दै आएको कुरा हो । जब भिडियो गेम पहिलोपटक आयो यसले बालबालिकाहरूलाई हिंस्रक बनाउँछ कि भनेर सबै चिन्तित भएका थिए ।

त्यसैगरी कुनै समयमा टिभीले बालबालिकाहरूको आँखा खराब बनाउँछ भनेर धेरैले भन्ने गरेका थिए । त्यस्तै टचस्क्रिनभएका डिभाइसको बारेमा अहिले उत्पन्न भएको चिन्ता त्यस्तै पो हो कि ?

ट्याब्लेट र स्मार्टफोन अझै पनि नयाँ छन् । यिनको असर र बेफाइदाको बारेमा पर्याप्त अध्ययन भएका छैनन् । कतिपय विज्ञले भने स्मार्टफोन तथा ट्याब्लेटको प्रयोगलाई टेलिभिजनसँग तुलना गर्दै आएका छन् ।

स्मार्टफोनको प्रयोगले बालबालिकामा कस्तो किसिमको असर गर्छ ?

१. साना बालबालिकाहरूको मस्तिस्कको विकास तीव्र रूपमा हुनुपर्ने हुन्छ । साना बालबालिकाहरूले स्क्रिन हेरेर भन्दा पनि मानिसहरूसँग अन्तक्रिर्या गरेर धेरै कुरा सिक्छन् । मानिसहरूसँग प्रत्यक्ष आँखा नजुधाई स्मार्टफोन मात्रै हेरेर बसिरहेमा उनीहरूको मस्तिस्कको विकासमा असर गर्न सक्छ ।

२. स्मार्टफोनले बालबालिकाहरूलाई आफ्नो आमाबुबा, दाइहरू र अन्य बालबालिकाहरूसँग घुलमिल हुनबाट बञ्चित गराउँछ । यसले बालबालिकाहरूको दृष्टिकोण, सहानुभूति, आफैंलाई बुझ्ने तरिका र आफन्तहरूसँग घुलमिल हुनेजस्ता कुरामा असर गर्छ ।

३. उचित शारीरिक विकासका लागि बालबालिकाहरू धेरै सक्रिय हुनुपर्छ । उनीहरू सक्रिय भएर हिँडडुल गर्नुपर्छ । चौबिसै घन्टा निष्क्रिय भएर सोफा वा ओछ्यानमा बसेर मोबाईल वा ट्याब चलाउँदा शारीरिक विकासमा असर पर्छ ।

४. बालबालिकाहरूले स्क्रिनमा हेर्ने मात्रै भन्दा पनि प्रत्यक्ष छोएर वा प्रत्यक्ष देखेर धेरै कुरा सिक्न सक्छन् त्यसैले बालबालिकाहरूको ज्ञानको विकासको लागि स्मार्टफोन त्यति प्रभावकारी हुँदैन ।

५. विद्युतीय पुस्तक (इ-बुक)को माध्यमले पढ्ने बालबालिकाहरूले भन्दा साँच्चिकै पुस्तकबाट पढ्दा राम्रो ज्ञान पाएको देखिन्छ ।

६. डाक्टरहरूका अनुसार धेरै स्मार्टफोन वा ट्याब्लेटको स्कि्रनमा भुल्नाले बालबालिकाहरूको आयु, ध्यान केन्दि्रत गर्न सक्ने क्षमता र खानाको नियन्त्रणमा पनि असर पर्छ ।

७. ट्याब्लेट र स्मार्टफोनमा भुल्दा बालबालिकाहरूको अरू क्रियाकलापमा लाग्ने समय खर्च हुन्छ । बालबालिकाहरूलाई बाहिर खेल्न, पढ्न र कल्पनाको लागि समय चाहिन्छ ।

८. सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार स्मार्टफोन वा ट्याब्लेटले बालबालिकाहरूलाई प्रत्यक्ष अन्तक्रिर्याबाट बञ्चित गराउँछ ।  जसले बालबालिकाहरूले सिक्ने सामाजिक सीपमा असर गर्छ र अरूको भावना नबुझ्ने बनाउँछ ।

९. पढाइमा कमजोर तथा कम आम्दानी भएका आमाबुबाका बालबालिकाहरूमा स्मार्टफोन र ट्याब्लेटको असर धेरै देखिएको छ । पढाइमा अब्बल विद्यार्थीहरूले स्मार्टफोन प्रयोग गरे पनि आफ्नो पढाइको स्तरलाई कायमै राखेका छन् ।

१०. स्मार्टफोन वा ट्याब्लेट सिरानी नजिकै राखेर सुत्ने बालबालिकाहरू औसतमा अन्य बालबालिकाहरूभन्दा प्रति रात २०.६ मिनेट कम सुत्छन् । स्क्रिनले उत्सर्जन गर्ने नीलो प्रकाशको कारणले मेलाटोनिन नामक हार्मोन कम हुन्छ । स्क्रिनमा धेरै समय बिताउनाले निदाउन पनि गाह्रो हुन्छ ।

बालबालिकाहरूलाई स्मार्टफोन प्रयोग गर्न दिँदा फाइदा पनि हुन्छन्

केही शोधकर्ता र विज्ञले भने साना बालबालिकाहरूले टचस्क्रिनलाई प्रयोग  गर्न नहुने लोकपि्रय मान्यतामाथि प्रश्न गर्दै आएका छन्

उनीहरूका अनुसार बालबालिकाहरूलाई स्मार्टफोन वा ट्याब्लेटजस्ता ग्याजेट प्रयोग गर्न दिँदा बालबालिकाहरूले प्रविधिको लागि अनुकूलता विकास गर्छन् ।

यो आजको युगमा नभई नहुने कुरा हो र यसले भविष्यमा पनि धेरै सजिलो बनाउँछ । प्रविधि उनीहरूको विद्यालय सिकाइको एक हिस्सा हो ।

बालबालिकाले सानै उमेरमा संसारको विभिन्न कुराहरू थाहा पाउनु पनि धेरै राम्रो हो । स्मार्टफोन वा ट्याबको प्रयोगले बालबालिका प्रविधिको बारेमा जिज्ञासु हुन सक्छन् र यसको बारेमा धेरै ज्ञान हासिल गर्न पनि सक्छन् ।

बालबालिकाहरूलाई स्मार्टफोन दिँदा ध्यान दिनुपर्ने कुराहरू

स्मार्टफोनको धेरै प्रयोगले बालबालिकाहरूमा पर्ने असर कम गर्न र यसका फाइदाहरूलाई मात्रै उपयोग गर्नको लागि आफ्नो बालबालिकालाई स्मार्टफोन दिँदा निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

१. बालबालिकाले स्मार्टफोन चलाइरहेको अवस्थालाई पनि अन्तक्रियात्मक बनाउनुहोस् । स्क्रिनमा आइरहेका कुराहरूको बारेमा बालबालिकासँग छलफल गर्नुहोस् र बालबालिकाले स्त्रिmनबाट वास्तविक जीवनमा के सिकिरहेको छ त्यो थाहा पाउनुहोस् ।

२. डिभाइसमा छ भने बिल्ड-इन प्यारेन्टल कन्ट्रोल प्रयोग गर्नुहोस् । उनीहरूले अनलाइनमा के के गरिरहेका छन्, त्यसको बारेमा उनीहरूसँग सोधपुछ गर्नुहोस् ।

३. बालबालिकाहरू घरबाहिर भएको बेलामा स्मार्टफोन मा झुम्मिन नदिनुहोस् ।

४. स्मार्टफोनमा बालबालिकाको लागि लक्षित गरि बनाइएका ज्ञानवर्द्धक र उपयुक्त हुने खालका एप्स तथा गेम मात्रै चलाउन दिनुहोस् ।

५. सुतेर टिभी हेर्न भन्दा पनि तपाईको बालबालिकालाई ट्याब्लेटमा वा स्मार्टफोनमा अन्तक्रियात्मक र सिर्जनात्मक सामग्रीहरू प्रयोग गर्न लगाउनुहोस् ।

६ बालबालिकालाई राखेर दिनमा कति समय स्मार्टफोन वा ट्याब्लेट प्रयोग गर्ने एउटा नियम बनाउनुहोस् ।

७. टिनएजर्सहरू वा अलि ठूला बालबालिकाहरूलाई अनलाइनमा कस्तो व्यवहार गर्ने भनेर सिकाउनुहोस् ।

८. तपाईको बालबालिकाहरूलाई डिजिटल्ली इन्गेज हुन भन्दा पनि स्मार्टफोन र ट्याब्लेटको स्क्रिन बाहिर सामाजिक रूपमा अन्तर्क्रियागर्नमा बढी जोड दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?