घाँटी दुख्नु, थुक निल्न गाह्रो हुनु, टन्सिल बढ्नु । बालबालिकामा देखिने सामान्य समस्या हो । तर, यो सामान्य समस्या कहिले काहीँ असमान्य भइदिन्छ । जटिल भइदिन्छ ।
किनभने यस्तो समस्याले बालबालिकाको मुटुमा असर पार्छ ।
तपाईंले ठूलठूला होर्डिङ बोर्डमा पनि देख्नुभएकै होला, घाँटी दुखिरहेमा, टन्सिल भइरहेमा बालबालिकालाई मुटु रोग लाग्न सक्छ । यो कुन अवस्थामा हुन्छ भने, जब बच्चालाई बारम्बार घाँटी दुखिरहन्छ । टन्सिल दोहोरिरहन्छ । त्यसको तीन साताभित्रमा ज्वरो आउछ । हात खुट्टा सुन्निछ । जोर्नी दुख्छ ।
बच्चालाई बढी जोखिम
यो ज्वरोलाई चिकित्सकीय भाषामा बाथ ज्वरो अर्थात र्हुम्याटिक फिभर भनिन्छ । बाथ ज्वरो विशेषगरी बच्चाहरुमा देखा पर्ने गर्छ ।
पाँचदेखि देखि १५ वर्षको बच्चाहरुमाझ ‘आम’ रहेको यो रोग विशेषगरी सात- आठ वर्षको उमेरहरुमा बच्चाहरुमा धेरै देखिने गर्छ । बाथ ज्वरो पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । ५० वर्ष उमेर भन्दा माथि एकाध मानिसहरुमा मात्र यो रोग अपवादका रुपमा देखा पर्ने गर्छ ।
मुटुमा कस्तो असर ?

बाथ ज्वरो आएमा यसले मुटुका भल्भहरुलाई असर पार्ने गर्दछ । र, बाथ ज्वरोका कारण मुटुका भल्भहरुमा असर परेमा बाथ मुटु रोग लाग्छ ।
बाथ मुटु रोग विशेषगरी घाँटीको संक्रमणका कारण लाग्ने गर्छ । घाँटीमा ‘बेटा हेमोलाईटिक्रस स्ट्रेप्टोकोेकस ग्रुप ए’ भन्ने व्याक्ट्रेरियाको संक्रमण भएमा बाथ ज्वरो आउने गर्छ । बाथ ज्वरो उक्त व्याक्टेरियाकेा संक्रमणको प्रत्यक्ष कारण भने हैन ।
सामान्यतया, त्यस्ता व्याक्टेरियाले घाँटीमा संक्रमण गरेमा त्यस्ता संक्रमण केही साताभित्रमा – औषधी खाएर वा नखाएर) निको हुने गर्छ ।
तर त्यसको दुई देखि तीन हप्ता पछि रोग लाग्ने जोखिममा रहेका व्यक्तिमा भने उक्त संक्रमणका कारण रोग लाग्ने सम्भावना अधिक हुने गर्दछ । अर्थात घाँटीको संक्रमण हुँदैमा सबै बच्चाहरुलाई बाथ ज्वरोले सताउँछ भन्ने हुँदैन । जो बच्चा रोगको जोखिममा छ, र जसको शरीर रोग प्रति संवेदनशील छ, त्यस्ता बालबालिकाहरुमा मात्र बाथ ज्वरो देखा पर्ने गर्छ ।
बाथ ज्वरो आएमा के हुन्छ ?
मुटुको भल्भ विगि्रएर स्वाँ स्वाँ आउने
– मुटुको रक्त धमनी दुख्ने
– मुटु सुन्निने
-छाला रातो हुने
-गाठागुठी देखिने
-मस्तिष्कमा समेत असर गर्ने
बाथ ज्वरोले मुटुको भल्भ बिगार्न सक्छ
बाथ ज्वरोका कारण देखिएका अन्य लक्षण त सजिलै निको हुन्छ । तर बाथ ज्वरोका कारण भने मुटुको भल्भ विग्रने सम्भावना भने अधिक हुने गर्छ । यस्ता लक्षण शतप्रतिशत रहन्छ भन्ने त हुँदैन । तर यदी कुनै बच्चामा यस्तो समस्या देखिएमा भने त्यसले मुटुको भल्भलाई पूरै विगार्ने गर्दछ ।
बाथ ज्वरोका कारण मुटुमा असर गर्नु भनेकै बाथ मुटु रोग लाग्नु हो ।
बाथ ज्वरोका कारण मुटुको भल्भ विगिएमा एउटा विन्दुमा पुगेर मुटुको भल्भ नै बदल्नु पर्ने अवस्था समेत सिर्जना हुने गर्छ । र, समयमै भल्भ नबदलेकोे खण्डमा पछि गएर मानिसको मृत्यु समेत हुनसक्छ ।
त्यसैले पनि बाथ ज्वरो लाग्नबाट बच्नको लागि घाँटीको संक्रमण भएमा त्यसको उपचार अनिवार्य छ । त्यसको लागि बच्चाहरुलाई रुघा लागेमा केही दिन घरमै आराम गर्न लगाउनु पर्छ । त्यस्तै, बालबालिकालाई घाँटीमा संक्रमण भएमा तुरुन्तै बाल रोग विशेषज्ञका लगेर पनि उपचार गराउन सकिन्छ । निश्चित समयसम्म एन्टीबायोटिक औषधी सेवनद्धारा पनि यो रोग निको पार्न सकिन्छ ।
के कारणले हुन्छ, बाथ मुटु रोग ?
घाँटीमा ‘बेटा हेमोलाईटिक्रस स्ट्रेप्टोकोेकस ग्रुप ए’ को व्याक्ट्रेरियाको संक्रमण भएमा संक्रमित केही बच्चाहरुमा बाथ ज्वरो विकास हुने गर्दछ । र, बाथ ज्वरो आएका मध्य पनि केहीको मात्र मुटुको भल्भ विग्रने गर्दछ ।
बाथ मुटु रोग लागेमा यस्ता लक्षण देखा पर्ने गर्छ ।
बाथ मुटु रोगका लक्षण
-मुटुको भल्भ विगि्रएमा स्वाँ स्वाँ आउने,
-सुत्दा वा व्यायाम गर्दा सास फुल्ने
-ज्वरो आउने
-जोर्नीमा असर भएमा जोर्नी दुख्ने, सुन्निने, तथा सुन्निएर हिड्नै नसक्ने अवस्थामा पुग्छ
-अनुहार तथा खुट्टा सुन्निने
-छालामा गाठागुठी आउने
-थकान तथा कमजोरी महसुस हुने
-छाती दुख्ने
-मुटुको धडकन तेज हुने वा अनियमित हुने
अब कसरी बच्ने त ?
यस्ता रोगबाट बच्ने एक मात्र उपाय भनेको घाँटीको संक्रमण हुनबाट बचाउनु हो । घाँटीको संक्रमण भएमा तुरुन्तै बालरोग विशेषज्ञसित परामर्श लिनु पर्दछ । र, समयै उपचार गर्नु पर्छ । त्यस्तै, प्रत्येक तीन तीन हप्तामा बेञ्जाथाइन पेनेसेलिन नामक इन्जेक्सनको प्रयोगद्धारा पनि यो रोग लाग्नबाट बचाउन सकिन्छ ।
नेपालमा बाथ मुटु रोगको अवस्था ?
नेपालमा हाल बाथ मुटु रोगबाट कति विरामी प्रभावित छन् भन्ने यकिन तथ्यांक त छैन । यद्यपी, नेपालमा हाल ७५ हजार बाथ मुटु रोगी भएको अनुमान गरिएको छ । त्यस्तै, तीन सय बालबालिकालाई बाथ मुटु रोग लाग्ने गरेकोमा त्यसमध्य वाषिर्क दश प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको तथ्यांक अनुसार अस्पतालमा विगत दश महिनामा – श्रावण देखि वैशाषसम्म) पाँच सय ५५ जनाको बाथ मुटुको रोगको निशुल्क शल्यकि्रया गरिएकोमा त्यसमध्य दुई सय ३० जना पुरुष तथा तीन सय २५ जना महिला रहेका छन्
(डा. मनबहादुर केसी शहिद गंगालाल हृदय रोग केन्द्रका मुटुरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरका लागि ऋचा अर्यालले बाथ-मुटु रोगबारे कुराकानी गरेकी थिइन् ।)
प्रतिक्रिया 4