Comments Add Comment

मेस्सीका फ्यान निराश हुने बेला भएको छैन, किनभने….

आजको खेल नाइजेरियाले जितेमा अर्जेन्टिनालाई फाइदा !

८ असार, काठमाडौं । विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो ।

बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका छन् । किनभने विश्वकप विजेताको दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता मेस्सीका फ्यानहरुमा देखिएको छ ।

बिहीबार क्रोएसियासँगको हारपछि अब नकआउट चरणमा जाने अर्जेन्टिनाको सम्भावना कमजोर बनेको छ । अघिल्लो चरण्ण जान उसले आफ्नो खेलमा सुधार गरेर मात्र पुग्दैन अरुको खेलमा पनि भर पर्नुपर्छ । यद्यपि, असम्भव नै भइसकेको छैन । त्यसैले अहिले नै मेस्सीका फ्यानहरुले निराश भइहाल्नुपर्ने अवस्था छैन ।

अहिलेसम्म दुई खेलमा ६ अंक लिएको क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ । अर्जेन्टिना र आइसल्याण्डको एक/एक अंक छ । समूह डीको पु्छारमा रहेको नाइजेरियाको भने शून्य अंक छ ।

नाइजेरियाले जित्दा अर्जेन्टिनालाई फाइदा !

अर्जेन्टिनाको विश्वकप यात्रा कस्तो हुने भन्ने शुक्रबार (आज) राति पौने ९ बजे हुने आइसल्याण्ड र नाइजेरियाको खेलमा पनि धेरै भर पर्नेछ । यसपछि अर्जेन्टिनाले समूह चरणको आफ्नो अन्तिम खेल नाइजेरियासँगै असार १२ गते राति पौने १२ बजे खेल्नेछ ।

अर्जेन्टिनी फुटबल समर्थकले अहिले सोचिरहेको कुरा हो, आजको खेल आइसल्याण्डले नजितोस्, कि नाइजेरियाले जितोस् कि त बराबरी खेलिदिउन् । त्यसपछि क्रोएसियाले आइसल्याण्डलाई हराइदेओस् । यस्तो हुँदा अर्जेन्टिनाले नाइजेरियालाई हराएमा अघिल्लो चरणमा पुग्न सक्छ ।

आजको खेलमा हालसम्म शून्य अंकमा खुम्चिएको नाइजेरियाले जितेमा अर्जेन्टिनाको आश अलि बलियो बन्ने छ । तर, अर्जेन्टिनासँग बराबरी खेलेर एक अंक जोडेको आइसल्याण्डले खेल जितेमा भने अर्जेन्टिनाको सम्भावना अझै कमजोर हुनेछ ।

किनभने, आज नाइजेरियाले हार्‍यो भने आइसल्याण्डले ३ अंक थप्ने छ र उसको अंक चार पुग्नेछ । आइसल्याण्डले आज ४ अंक जोड्यो भने अर्जेन्टिनाले असार १२ गते नाइजेरियालाई हराए पनि नकआउट चरणमा छनोट हुन नाइजेरियालाई धेरै गोल अन्तरले हराउनुपर्नेछ । किनकि, नाइजेरिया र आइसल्याण्डको ४/४ अंक भएमा जसको गोल संख्या बढी हुन्छ, उही छानिनेछ । यस्तो अवस्थामा पनि समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई हराएमा मात्र अर्जेन्टिनाको अन्तिम १६ को बाटो खुल्नेछ ।

आजको खेलमा नाइजेरिया र आइसल्याण्ड बराबरीमा रोकिए भने नाइजेरियाको १ र आइसल्याण्डको २ अंब हुनेछ । यो स्थितिमा असार १२ गते अर्जेन्टिनाले नाइजेरियालाई हरायो भने ऊ ४ अंक बनाएर अघिल्लो चरणमा उक्लिन सक्छ ।

तर, यहाँ सम्झनुपर्ने कुरा के छ भने आइसल्याण्ड र क्रोएसियाबीचको अन्तिम खेल बाँकी नै छ । यदि नाइजेरियासँग बराबरी खेलेर आइल्याण्डले क्रोएसियालाई हरायो भने मेस्सीमा फ्यानहरुसँग निराश हुनुको विकल्प छैन । तथापि आइल्याण्ड र क्रोएसियाले बराबरी अंक बाँडे भने अर्जेन्टिनालाई फाइदा पुग्छ ।

कमजोर छैनन् नाइजेरिया र आइसल्याण्ड

सोचेका सबै कुरा अर्जेन्टिनाकै पक्षमा भए पनि समूह चरणको अन्तिम खेलको प्रतिद्वन्द्वी नाइजेरिया पनि धेरै बलियो टिम हो । केही महिनाअघि नाइजेरियासँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४-२ को पराजय बेहोरेको थियो ।

अर्जेन्टिना रुसमा धेरै समस्या बोकेर आएको टिम हो भन्नेमा अब खेलले नै पुष्टि गरिसकेको छ । विश्वकप सुरु हुनुअघि अर्जेन्टिनी फुटबल एशोसियसनको जेरुसेलममा हुने भनिएको इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गर्ने निर्णयले राष्ट्रिय टिमको विश्वकप तयारीलाई समेत ओझेलमा पारेको थियो ।

त्यो राजनीतिसँग पनि जोडिएको सरकारकै भूमिकामा भएको विषय थियो । त्यसको असर अर्जेन्टिनाले हाइटी जस्तो कमजोर टिमसँग मैत्रीपूर्ण खेल खेल्यो र टिम राम्रो भएको विश्वास बनायो ।

आइसल्याण्डसँगको पहिलो खेलमा नै त्यो देखियो । १९ औं मिनेटमा सर्जियो अग्युरोले धेरै समयपछि राष्ट्रिय टिमको लागि गोल गर्दै अग्रता दिलाएका थिए तर, त्यसको चार मिनेटमा नै आइसल्याण्डले गोल फर्काएको थियो ।

जहाँ आश गरिएका मेस्सीले पेनाल्टी मिस गरे । पूरा देशको जिम्मेवारी एउटाको टाउकोमा थुपारेर विश्वकप जित्ने आश गरेको अर्जेन्टिनी टिममा मेस्सीले पेनाल्टीमा गोल नगर्नु पनि उनलाई परेको दबाब नै मुख्य कारण हो ।

क्रोएसियासँगको खेलमा त कमजोरीको लामो सूची नै छ । गोलकिपर, डिफेन्स, मिडफिल्ड सबैतिर नै बिगि्ररहेका बेला फरवार्ड ‘स्टार’ भएरै त कसरी खेल जितिएला र ?

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको फुटबल धेरै नै जटिल छ र यसलाई सुधार्न धेरै लगाव चाहिन्छ । यसको प्रमाण स्वरुप सन् २०१५ मा चिलीले अर्जेन्टिनालाई हराएर कोपा अमेरिका जितेको नतिजालाई लिन सकिन्छ ।

अर्जेन्टिनालाई साम्पोलीको मातहत सबै कुरा एकैचोटी ठीक गर्न समय नै भएन । सेभिल्लाका यी पूर्वप्रशिक्षक विश्वकपको छनोट चरणमा एडगार्डो बाउजालाई विस्थापित गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपना साकार बनाउने उद्देश्यले आएका थिए ।

अर्जेन्टिनालाई रुससम्म लैजान त उनी सफल भए तर उनीहरुले स्पष्ट खेल देखाउन सकेका छैनन् । यस्तोमा आउँदो खेलमा पनि निराशा देखाउने भन्दा भएको टिमबाट राम्रो कसरी गर्ने भन्नेमा विशेष ध्यान पुर्‍याउन जरुरी देखिन्छ । एउटै खेलाडीको निर्भरतालाई कम गरेर किपरदेखि मिडफिल्डसम्म सुधार गर्नुपर्छ ।

विश्वकपमा छनोट हुनको लागि पनि इक्वेडरसँग छनोटको फाइनल राउण्डमा अर्जेन्टिनालाई लियोनेल मेस्सीको हृयाटि्रक आवश्यक भयो । यसले अर्जेन्टिनाको खेल रणनीतिको बारेमा थोरै र उनीहरुको मेस्सी प्रतिको निर्भरतालाई धेरै जनाउँछ ।

त्यस्तै उक्त खेललाई साम्पोलीको नेतृत्वमा अर्जेन्टिनाले खेलेको एकमात्र उत्कृष्ट खेललाई जनाउँछ । त्यसअघि अर्जेन्टिनाले लगातार तीन खेल बराबरी खेलेको थियो र दुईपटकको विश्वविजेतालाई प्रतियोगिताबाटै बाहिर बनाउने हो कि भन्ने डर उत्पन्न भएको थियो ।

यहाँ बिर्सन नहुने कुरा अघिल्लो विश्वकपमा फाइनलसम्म पुगेको अर्जेन्टिनी टिममा पनि स्टार खेलाडीहरु हुँदा हुँदै उत्कृष्ट तालमेलको अभाव भने खड्किएको थियो । त्यसबेला अर्जेन्टिनाले मेस्सीमा मात्रै भर परेको टिम भनेर आलोचना खेपेको थियो तर अहिले पनि टिमको स्थिति सुधार हुनुभन्दा झन् खस्किएको छ ।

मेस्सीका फ्यानहरुले अन्तिम आशा गर्ने ठाउँ

यो सबै हुँदा हुँदा पनि अर्जेन्टिनी समर्थक निराश भएर सबै सकियो सोचेर बस्नु राम्रो होइन । विश्वकपमा ३२ देशका ७ सय ३६ खेलाडी छन् । रुसबाट घर फर्किने बेला विश्व विजेता बनेर उदाउने टिम एउटै नै हो । अनि चर्चामा आउने खेलाडी केहीको संख्यामा ।

अरुमा निर्भर पर्नुपरे पनि अन्तिम खेलमा नाइजेरियासँग केही हुन्छ कि भन्ने आश राखिरहनु नै मेस्सीका समर्थकको भलाइमा छ । त्यसमा केही भएन नै भने पनि अर्जेन्टिनी फुटबल चार वर्षपछिको विश्वकपमा राम्रो बन्ला भन्ने सोच्नु नै उत्तम हुन्छ । मेस्सीका समर्थकका लागि क्लब फुटबल छँदै छ ।

विश्वकप फुटबलमा नपुग्ने तर विश्वकपको ज्वरोले नराम्ररी समात्ने देशमा टिम छनोटको आधार के होलान् ? विगत, खेलाडी, क्लब फुटबल, खेलशैली, राजनीतिक मेल या जर्सीको रंग ? समर्थनको आधार जे सुकै भए पनि जित्नै पर्ने र नजित्दा सबै सकिने सोच भने हटाउनु नै असल हुन्छ ।

खेलको मर्म बुझेर हार जित दुवैको खेलपरक बुझाइ समर्थकहरुमा पनि खाँचो छ । दुई पटकको विश्व विजेता बनेको टिम हो अर्जेन्टिना । हुन त अहिले विश्वकपमा अर्जेन्टिनाको समर्थन गर्नेहरुले पहिले जितेकै आधारमा पनि समर्थन गरेका होइनन् नै ।

किनभने, सन् १९३० देखि २०१४ सम्म १६ पटक विश्वकप खेलेको अर्जेन्टिनाले विश्वकप जितेको वर्षौं बित्यो । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्यसकै आधारमा हरेक विश्वकपमा दाबेदार टिमको नाम पाइरहेको छ । त्यसका लागि योग्य खेलाडी र प्रशिक्षक पनि छन् । छैन त खेलका लागि चाहिने तालमेल ।

इतिहास हेर्ने हो भने पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिना पाँचपटक नै विश्वकपको फाइनलमा पनि पुगेको छ । चारपटक क्वार्टरफाइनलमा पराजित भएको छ ।

यो विश्वकपका लागि कठिन यात्रा गरेको अर्जेन्टिनाको सम्भावनालाई स्टार स्ट्राइकर लियोनल मेस्सीकै कारण पनि धेरैले नकारेका छैनन् । उनी टिमबिना केही गर्ने फुटबल जादुगर नै त होइनन् तर उनको खेलशैलीले कुन बेला टिमका लागि महत्वपूर्ण काम गरिदिन्छन् यसै भन्न सकिँदैन ।

निलो र सेतो जर्सी नफापेको मेस्सी क्रोएसियासँगको पीडादायक हारपछि मैदानमा एकछिन नअडी सिधै भित्र गएका थिए । यसले उनमा कति पीडा होला भन्ने अनुमान सहजै लगाउन सकिन्छ । आउँदो खेलमा अहिलेको हारलाई भने उनले बिर्सनै पर्छ ।

यसपटक विश्वकपमा नपुग्ला कि भन्ने ढुकढुकी भइरहेका बेला मेस्सीले नै विश्वकप यात्रा गराएका थिए । यसैले नकआउट चरणमा नपुग्लाकी भन्ने सोचिरहेका बेला उनैको खेलले नयाँ उचाइ नलेला भन्न पनि सकिँदैन । त्यसका लागि नाइजेरिया र आइसल्याण्डबीच हुने खेलको नतिजाकै पर्खाइमा छन् अर्जेन्टिनी फुटबल समर्थक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment