+
+

भयावह बन्दैछ अनलाइन बाल यौन दुर्व्यवहार: प्रहरीमा किन उजुरी पर्दैन ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ असार ११ गते १३:३२

११ असार, काठमाडौं । एक वर्षअघि झापाको सुरुङ्गास्थित एक सामुदायिक विद्यालयको कक्षा १० मा पढ्ने किशोरीको फेसबुकमार्फत भद्रपुरका युवकसँग चिनजान भयो । विस्तारै उनीहरुबीच नियमित कुराकानी हुन थाल्यो ।

एउटै उमेर समूहका उनीहरुबीचको सम्बन्ध एक महिना नबित्दै प्रेममा परिणत भयो । सामिप्यता बढ्दै गएपछि युवकले किशोरीलाई उनको फेसबुक एकाउन्टको पासवर्ड मागे ।

सुरुमा किशोरीले दिइनन् । पछि पासवर्डकै कारण उनीहरुको सम्बन्धमा फाटो आउने स्थिति सिर्जना हुन लागेपछि आफ्नो पासवर्ड दिन बाध्य भइन् । केही समय उनीहरुको सम्बन्ध राम्रै थियो ।

किशोरीलाई भेट्न युवक भद्रपुरबाट सुरुङ्गा पनि आए । तर, उनीहरुबीच दोस्रो भेट हुन पाउँदैन । घर परिवार र नजिकिँदै गरेको एसईई परीक्षाको कारण देखाउँदै किशोरी युवकसँग टाढिइन् । युवकलाई भने प्रेमिको जवाफ चित्त बुझेन ।

उनले अनेक शंका र उपशंका गर्न थाले । विस्तारै उनको मनमा अपराधिक मनोवृत्तिले डेरा जमाउँछ ।

अनि सुरु भयो, किशोरीको फेसबुक एकाउन्ट दुरुपयोग । ‘मैले आईडी दिएको वेला उसले आफ्नो नम्बर पनि त्यहाँ एड गरेको रहेछ’, किशोरीले भनिन्, ‘त्यसपछि आईडीमा एड गरेकै नम्बरको मद्दतले उसले मेरो पासवर्ड उल्टै परिवर्तत गरिदियो ।’

सुरुमा त फेसबुक किन खुलेन पत्तो पाइनन् । तर, जब आफ्नो एकाउन्टबाट अश्लिल तस्वीरहरु पोष्ट भएको खबर पाइन्, उनी छाँगाबाट खसे झै भइन् ।

परिवारका सदस्यहरुले पनि थाहा पाए । ‘सुरुमा त हामीलाई केही पनि भनिनन् । तर, ढिलो गर्दा समस्या झन् बढ्ने हुँदा प्रहरीमा जाने तयारी हुँदै गर्दा हामीलाई उनले एकपटक साथीलाई पासवर्ड दिएको बताइन्’, किशोरीका दाजु भन्छन् ।

अभिभावक भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालयसम्म गए । तर, अनुसन्धानका क्रममा युवकको परिवारसँग पनि कुराकानी भएपछि दुबैको कमजोरी भन्दै सहमतिमा विवाद मिलाइएको छ ।

×××

कलंकीको एक निजी विद्यालयको कक्षा ९ मा पढ्छिन्, सुस्मिता (नाम परिवर्तन) ।

कक्षा ७ मा पढ्दैदेखि एक सहपाठीसँग निकटता थियो । उनीहरु एकअर्कालाई मन पराउँथे । बालिका सामान्य परिवारकी थिइन् भने बालक राम्रै घरानाका थिए ।

सुस्मिता अभिभावकको मोबाइल भेट्ने वित्तिकै फेसबुक खोलेर प्रेमीसँग कुरा गर्थिन् । यो थाहा पाएपछि परिवारका सदस्यहरुले उनलाई मोबाइल चलाउन दिएनन् ।

विद्यालय पनि परिवर्तन गरियो । त्यही झोंकमा किशोरले सुस्मितासँग खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर अभिभावकलाई समेत ट्याग गरिदिए ।

बालकको हर्कतविरुद्ध उनीहरु साइबर क्राइम अन्तरगत उजुरी हाल्न भन्दै महानगरीय अपराध महाशाखासम्म त आए । तर, त्यसबीच पीडितको अभिभावकसँग कुराकानी भएपछि उनीहरुले प्रहरीको सहायता लिनु उचित ठानेनन् । र, फर्किए ।

नेपाली समाजमा अभिभावकको बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किएको छ

किन प्रहरीसम्म पुग्दैनन् अभिभावक ?

सामाजिक सञ्जाललाई प्रयोग गरेर कलेजमा पढ्ने विद्यार्थी र युवा अवस्थाका व्यक्तिहरुमा देखिँदै आएको अनलाइन अपराधसम्बन्धी घटना अहिले विद्यालयका बालबालिकासम्मै पुगेको छ । र, यस्ता अपराधका घटना बढ्दो छ ।

तर, प्रहरी समक्ष भने त्यस्ता घटना विरलै मात्रै पुग्ने गरेका छन् ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल भन्छन्, ‘पहिलो कुरा त अनलाइनमार्फत बालबालिकामाथि भइरहेको दुर्व्यवहारको कुरालाई सामान्य रुपमा लिइने गरिएको छ । त्यसैले पनि यस्ता घटना बाहिर आउनै पाउँदैनन् ।’

‘अर्को कुरा बालबालिकामाथि हुने दुर्व्यवहारको घटना उजुरी गर्ने प्रक्रिया बालमैत्री छैनन् । राम्रो रेस्पोन्स नहुने समस्या छ’, उनले अनलाइनखबरसँग भने, ‘झन्झटिलो प्रक्रियाले अभिभावक पनि उजुरी गर्ने निकायसम्म पुग्न चाहँदैनन् ।’

त्यसका लागि जनचेतना फैलाइनु आवश्यक छ ।

‘एउटा दुर्व्यवहारलाई सहनु भनेको बदमासी गर्नेलाई थप १० वटा दुर्व्यवहार गर्न छुट दिनु हो भन्ने कुरा बुझ्नु जरुरी छ’, उनले भने, ‘त्यस्ता घटनाको छानबिनका लागि विशेष गोपनियता अपनाएर दोषीलाई कारबाही हुन्छ भन्ने विश्वास पीडितलाई दिनुपर्छ ।’

बालबालिकामाथि अनलाइनबाट हुने दुर्व्यवहारको क्षेत्रमा काम गरिरहेको संस्था भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा विभिन्न माध्यमबाट वर्षेनि १५ देखि २० वटा घटनाहरु आफूहरुसम्म आउने गरे पनि कानुनी निकाय समक्ष कमै मात्र पुग्ने स्वीकार गर्छन् ।

‘हामीले विभिन्न विद्यालयहरुमा अभिमुखीकरण कार्यक्रमहरु गर्ने गरेका छौं’, थापाले अनलाइनखबरसँग भने, ‘त्यस माध्यमबाट हामीकहाँ अनलाइन दुर्व्यवहारका घटना रिपोर्ट त हुन्छन् । तर, अधिकांश घटनाहरु सम्बन्धित बालबालिकाको समस्या सामाधान भएपछि त्यत्तिकै मिल्ने गरेको छ ।’

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल पनि धिताल र थापाको कुरामा सहमत छन् ।

भन्छन्, ‘आफ्नो छोराछोरीको कुरा एक्सपोज हुन्छ भनेर त्यस्ता घटनाहरु लुकाउन खोजेको देखिन्छ । उनीहरुलाई आफ्नो क्षति हुन्छ भन्ने डर पनि रहने गरेको छ ।’

उनको बुझाइमा अहिले अभिभावकको बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किएको छ ।

‘छोरीको हकमा भने एउटा अभिभावक केही हदसम्म प्रताडित हुन्छ । तर, छोरा के गर्दैछ भन्ने सोच्ने कष्ट गर्दैनन्’, पोखरेलले भने, ‘उनीहरुमाथि निगरानी गरिँदैन । अब पहिले जस्तो देखावटी निगरानीले मात्रै पनि भएन । सामाजिक सञ्जालमा के गर्दैछ भन्ने विषयको पनि खोजी गर्नु पनि जरुरी छ ।’

उनका अनुसार बालिबालिकासँग त्यस्ता विषयमा हरदिन छलफल गर्नु जरुरी छ । ‘ती विषयवस्तुहरुमाथि बालिबालिकासँग व्यापक छलफल गरिनु पर्छ’, उनी भन्छन् ।

बढ्दो छ साइबर अपराध

महानगरीय अपराध महाशाखाको साइबर सेलमा मात्रै १० महिनाको अवधिमा १ हजार १७६ वटा साइबर अपराधका घटना दर्ता भए । जसमा अधिकांश पीडित टिनएजर्स र युवा छन् ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार साइबर क्राइमको घटनामा विशेषतः सामाजिक सञ्जालहरुसँग सम्बन्धित उजुरीहरु बढी आउने गरेका छन् ।

महाशाखाले त्यही १० महिनाको अवधिमा ५४ जनाविरुद्ध मुद्दा समेत दायर गरेको थियो । ती मुद्दाहरुमा ३७ वटा सामाजिक सञ्जालसँग सम्बन्धित थिए भने दुई जनाविरुद्ध अन्य व्यक्तिको पासवर्ड ह्याक गरेको आरोप लागेको थियो ।

त्यस्तै, जथाभावी एसएमएस गरेर धम्की दिने ११ जना, चिठ्ठा पर्‍यो भनेर ठग्ने ३ जना र यूट्यूबमा व्यक्तिको चरित्र हत्या गर्ने एक जनाविरुद्ध मुद्दा चलेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment