Comments Add Comment

सेक्स एण्ड द सिटीः एक टिभी शो जुन विश्वभरका महिलाहरुको आवाज बन्यो

नाटक वा सिनेमालाई समाजको ऐना मानिन्छ । यिनीहरुको कहानी समाजबाट नै निस्कन्छ र समाजकै वरिपरि घुम्छ । तर, कहिले काँही सिनेमाले समाजमा धेरै ठूलो परिवर्तन ल्याउँछ र मौन रहेका मानिसहरुलाई आवाज दिने काम पनि गर्छ ।

यसको शानदार उदाहरण हो अमेरिकी टिभी सिरियल ‘सेक्स एण्ड द सिटी ।’

यसैपनि विश्वको अधिकांश समाज पुरुषप्रधान नै छ अझै एसियाली समाजमा त झनै महिलाहरुलाई धेरै कुरामा प्रतिबन्ध लगाइन्छ । यहाँसम्म कि उनीहरुले खुलेर आफ्नो मनको कुरा भन्न पनि सक्दैनन् ।

आफ्नो शरीरको बारेमा कुराकानी गर्न पनि उनीहरुलाई लाज र अड लाग्छ । मानिसको अस्तित्वसँग जोडिएको महत्वपूर्ण कुरा यौनको बारेमा कुरा गर्न हाम्रो समाजले रोक लगाएको छ ।

महिलाहरुले यौनसम्बन्ध र यौनको कुरा गरे भने उनीहरुलाई निर्लज्ज वा बेसरम भनिन्छ । तर, ‘सेक्स एण्ड द सिटी’ले यस्ता महिलाहरुलाई आवाज दियो । उनीहरुको चाहना, आवश्यकताहरुलाई समाजको अगाडि राख्ने छुट दियो ।

‘सेक्स एण्ड द सिटी’ १९९८ देखि २००४ सम्म अमेरिकामा देखाइने मध्ये सबैभन्दा लोकपि्रय टिभी सिरियल थियो ।

अमेरिकामा सफल भएपछि यसको दोस्रो भाग सन् १९९९ मा एचबिओ च्यानलबाट अष्ट्रेलिया, जापान, आयरल्याण्ड, बि्रटेन, फ्रान्स, जर्मनी र अन्य कैयौं देशहरुमा एकैसाथ त्यँहीको स्थानीय भाषामा डब गरेर प्रशारण गरियो ।

चार संगिनीको कहानी

‘सेक्स एण्ड द सिटी’को कहानी चार सहेलीहरुको हो, जो आफ्नै सर्तमा जिन्दगी जिउँछन् ।

आफूलाई अरुभन्दा कम मान्दैनन र आफ्ना आकांक्षाहरुलाई खुलेर व्यक्त गर्छन् । उनीहरु आफ्नो मनमा भएको कुराहरु संकोच नमानिकन भन्छन् । यी चारै सहेलीहरु यौनसम्बन्धको बारेमा पनि खुलेर कुराकानी गर्छन् ।

जापानको भ्वाइस ओभर आर्टिस्ट युको नागासिमालाई जब यो शोकी एक पात्र क्यारीको आवाज जापानी भाषामा डब गर्न भनियो तब उनी हच्किइन् ।

वास्तवमा जापानी महिलाहरु सेक्सको बारेमा खुलेर कुराकानी गर्दैनन् । तर, क्यारी एक निडर भूमिका हो र उनी यौनजीवनको बारेमा खुलेर कुरा गर्छिन् । यस्तोमा क्यारीको संवादहरु डब गर्न उनलाई सजिलो थिएन । नागासिमाले द वालस्टि्रट जर्नललाई दिएको अन्तवार्तामा सुरुमा क्यारीको संवाद बोल्न धेरै लाज लागेको कुरा स्विकार गरेकी थिइन् ।

पछि सिरियलमा महिलाहरुको मुद्दाहरुलाई सहजताको साथमा अन्तराष्ट्रिय स्तरमा उठाइएको बुझेपछि उनी तयार भइन् । ‘सेक्स एण्ड द सिटी’मा आवाज दिएपछि नागासिमाले क्यारीको भूमिकाको लागि शोको अन्य दुई फिल्ममा पनि आवाज दिइन् ।

सेक्स शब्दको प्रचार

‘सेक्स एण्ड द सिटी’को नाम जापान मात्रै होइन दुनियाँको अन्य देशहरुमा पनि धेरै मनपराइयो । यसको चार महिला कलाकारहरु समान्था, क्यारी, चार्लोटी र मिरान्डाको बारेमा धेरै देशका मानिसहरुले थाहा पाउन थाले ।

यो वर्ष ‘सेक्स एण्ड द सिटी’को २० वर्ष पुरा भएको उत्सव मनाइएको छ । टिभीको दुनिँयाको यो मात्रै यस्तो एकमात्र सिरियल हो जसले विश्वभरमा आफ्नो राज गरेको थियो ।

यतिमात्रै होइन यो सिरियलले कैयौं ब्राण्डहरुलाई अन्तराष्ट्रिय पहिचान दिलाएको थियोा । जस्तै मनोलो ब्लेनिक सुज र मेन्गोलिया बेकरीको कप केक ।

द जापान टाइम्सको रिपोर्टअनुसार ‘सेक्स एण्ड द सिटी’ले महिलाहरुको स्वतन्त्रताको चाहनालाई पेश गरेको थियो । जसले जापानी समाजमा महिलाहरुको सोच बदल्न महत्वपूर्ण भूमिका निभायो ।

जापानी महिलाहरु कुरा गर्दा सेक्स शब्द उच्चारण गर्न लाज मान्थे । सन् १९९९ मा जापानमा शो प्रशारण भएपछि जापानी महिलाहरुको लागि यो शब्द उच्चारण गर्न संकोच भएन ।

यौन सम्बन्धि ज्ञान

‘सेक्स एण्ड द सिटी’ले एसियाली बजारमा पनि आफ्नो असर देखायो । न्युयोर्क स्थित मेग्रोलियन बेकरीको कप केकको माग दक्षिण कोरिया र जापानमा बढ्यो ।

हेर्दाहेर्दै यो कपकेक यहाँको खानाको हिस्सा बन्न थाल्यो । सन् २००० मा जब यो सिरियलमा आधारित दुई फिल्म रिलिज भयो त्यसले जापानमा धेरै चर्चा पायो ।

जापानमा यो सिरियल सेन्सर बिना देखाइयो भने अन्य केहि देश जस्तै सिंगापुरमा पहिलो प्रयासमै शोको प्रशारण अनुमति दिइएन । तर, पछि सन् २००४ मा यसको माग बढ्दै गएपछि केहि सिनहरु सेन्सर गरेर केहि सर्तको साथमा देखाउने इजाजत दिइयो । हटाएको सिनमा धेरैजसो सेक्स सम्बन्धि सिनहरु थिए ।

सिंगापुर जस्तै अन्य धेरै एसियाली देशहरुमा लामो समयसम्म यस शोमा प्रतिवन्ध लगाइयो ।

प्रेम सम्बन्ध र यौनबारे खुलेर कुराकानी

फिल्म ‘सेक्स एण्ड द सिटी २’ का निर्माता केहि सिनहरु अवुधाबीमा सुट गर्न चाहन्थे । सुट गरिने सिनमा फिल्मको एक पात्र समान्थाले बीच बजारमा एक मानिसमाथि कन्डम फ्याक्नुपर्ने थियो ।

फिल्मको स्कि्रप्ट पढेपछि अवुधाबीका अधिकारीहरुले सुटिङको अनुमति दिएनन् । पछि यो सिनलाई मोरक्कोमा सुट गरियो ।

यतिमात्रै होइन अवुधाबमिा यो फिल्म देखाइएन । संयुक्त अरब इमिरेट्सका अधिकारीहरुका अनुसार फिल्मका वितरकहरले उनीहरुसँग सम्पर्क नै गरेनन् ।

निर्माताहरुको भने दुबई सेन्सर बोर्डले फिल्ममा धेरै काँटछाँट गर्ने डर थियो जुन उनीहरुलाई मन्जुर थिएन ।

हालसालै मात्रै चीनले आफ्नो दर्शकहरुको लागि ‘सेक्स एण्ड द सिटी’ जस्तै ‘ओड टु जोय’ नामक शो बनाएको छ ।

यो शो पाँच शहरी महिलाहरुमा आधारित छ, जो प्रेम सम्बन्ध र सेक्समा खुलेर कुरा गर्छन् । शोको एक पात्रले त आफ्नो ब्वाइफ्रेन्डलाई उनी भर्जिन छैनन् भनेर हैरान गर्छिन् ।

‘सेक्स एण्ड द सिटी’ आएको २० वर्षमा यसले विश्वभरका महिलाहरुलाई आफ्नो बारेमा सोच्ने आँट दियो । यसले महिलाहरुको आवश्यकता र यौन सम्बन्धको चाहनालाई विश्वसँग परिचित गरायो र एक्काइसौं शताब्दीको महिलाहरुको आवाज बन्न सफल भयो । -बिबिसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment