Comments Add Comment

कथा जेसुकै होस्, एउटा लोकगीत त चाहियो-चाहियो !

फिल्म चलाउने 'लोकगीत अस्त्र' भुत्ते बन्दै

एक्सन नायकको उपमा पाएका निखिल उप्रेतीलाई चलचित्र ‘पिजडा ब्याक अगेन’को ‘यता पनि छैन, उता पनि छैन’ बोलको गीतमा नाच्न खुबै गाह्रो भयो । निखिलले यो लोकलयको गीतमा सकिनसकी कम्मर कर्माए ।

फिल्मको व्यापारमा सहयोग मिल्ने ठानेर एक्सन चलचित्रमा पनि लोकगीत घुसाइएको थियो । तर, निखिलले नाच्न जानेनन् नै राजनराज सिवाकोटीले संगीत भरेको गीत पनि फ्लप भयो ।

नाच्न भनेपछि ज्वरो आउने अर्का नायक दयाहाङ राइलाई निर्देशक मिलन चाम्सले ‘चेप्टे चेप्टे पुरुङ्गो’ बोलको लोकलयको गीतमा नचाए । ‘ह्याप्पी डेज’को यो गीतमा दयाले बलपूर्वक नाँचे । तर, चलचित्रलाई यसले कुनै फाइदा पुगेन । गीत औसत चल्यो, चलचित्र चलेन ।

पछिल्लो समय हरेक नेपाली चलचित्रका लागि एउटा लोकगीत अपरिहार्य जस्तै बनिरहेको छ । जस्तोसुकै ब्यानर होस्, कथाले मागोस् या नमागोस्, एउटा लोकलयको गीत चाहियो चाहियो ।

केही निर्मातालाई छाड्ने हो भने, अहिले धेरैको दिमागमा एउटा लोकगीत राखिदियो भने चलचित्र यसै चलिहाल्छ भन्ने भ्रम छ । यो शैलीले हिजोआज फरक गीतसंगीत बनाउँदै आएका संगीतकारलाई पनि लोकगीत बनाउनैपर्ने दबाब थोपरिएको छ । आफ्नो शैलीको नभए पनि लोकगीत नबनाइकन सुखै नपाउने अवस्थामा संगीतकार पुगेका छन् ।

ब्यानर चल्यो कि लोकगीत ?
हुनत, नेपालमा लोकशैलीका गीत चलचित्रमा राख्ने प्रचलन नयाँ होइन । तर, अहिले सबैजना लोकगीतकै पछि कुदेकाले संगीतकारले गुणस्तर कायम राख्न सकिरहेका छैनन् । फलस्वरुप पछिल्लो समयमा आएका थुप्रै लोकगीत असफल भएका छन् ।

संगीतकार राजनराज सिवाकोटीले चलचित्र ‘वडा नम्बर ६’का लागि बनाएको ‘सुर्के थैली खै’ बोलको गीतले तहल्का पिटेपछि यो ट्रृेन्ड सुरु भएको हो । यो गीतपछि राजनराजको डिमान्ड ह्वात्तै बढेको थियो ।

उनी भन्छन्-‘मैले आफै त यो कुरा भन्न मिल्दैन । तर, धेरैले सुर्के थैलीलाई नै सुरुवात मान्नुहुन्छ ।’ यो गीत चलेपछि राजनले चलचित्र ‘छक्का पन्जा’का लागि ‘पूर्व पश्चिम रेल’ पनि बनाए । यो गीत पनि चलेपछि राजनराज दर्शकले लोकगीतको स्वादलाई मन पराएकोमा प्रष्ट भएका थिए ।
तर, यसो भन्दैमा उनका सबै गीत चलेका भने छैनन् । उनले, तयार पारेका दर्जनौ गीतमा केही गीत चलेका हुन् । पछिल्ला केही महिनायता त राजनराजको लोकगीतको स्टक सकियो भन्नेहरु पनि भेटिन थालेका छन् । कारण, उनले तयार पारेका गीतहरु अहिले थोरै चलेका छन्, धेरै आएर गएको पत्तो छैन ।

चलचित्रमा लोकगीत चल्नुको पछाडि ब्यानर र कलाकारहरुको पनि भूमिका देखिन्छ । ‘सत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतलाई टंक बुढाथोकीले तयार पारेका हुन् । तर, यो गीतमा मदनकृष्ण श्रेष्ठदेखि पल शाहसम्म ननाचेको भए, मह सञ्चारको ब्यानरमा यो चलचित्र नबनेको भए के साँच्चिकै यो गीत यति नै हिट हुन्थ्यो होला ? ‘सुर्के थैली’, पूर्व पश्चिम रेल’ जस्ता गीत दीपकराज गिरी र दीपाश्री निरौलाको हातमा नपरेको परे के साच्चै यस्तै लोकपि्रयता कमाउथ्यो होला त ? यसै भन्न सकिन्न ।

नयाँ स्वाद खोजिएन: अर्जुन पोखरेल
प्रेमगीतको मामलामा अहिले संगीतकार अर्जुन पोखरेल अग्रस्थानमा आउँछन् । ‘स्टूपिड मन’देखि ‘प्रेमगीत’ हुँदै ‘म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा अर्जुन प्रेम भावका गीतमा अब्बल सावित भएका छन् ।

तर, अर्जुन आफैले पनि लोकगीत तयार नपारेका भने होइनन् । अर्जुन भन्छन्-‘मेरो संगीतको ब्याग्राउन्ड लोकगीतबाट नै सुरु भएको हो । तर, म जे चल्छ त्यसकै पछि दौडनुपर्छ भन्ने मान्यता राख्दिनँ । नयाँ शैलीको खोजी गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

तर, अर्जुनले भनेजस्तै कहाँ हुन्छ र ? अहिले उनकोमा चलचित्रको संगीत गर्न आइपुग्ने अधिकांश निर्माता चलचित्रमा एउटा न एउटा लोकगीत खोज्छन् । अर्जुन भन्छन्-‘चलचित्रको कथावस्तुले मागेपनि, नमागेपनि लोकगीतलाई कुनै न कुनै तरिकाले चलचित्रमा राख्ने चलन छ । तर, अहिले बनेका ९० प्रतिशत लोकगीतको मेकिङ उस्तै लाग्छ ।’

हुन पनि हो, चलचित्रको कथावस्तु जस्तोसुकै होस्, एउटा लोकगीत राखेर चलचित्र बनाउँदा इनिसियल व्यापार गर्छ भन्ने सोच निर्मातामा हाबी भएको छ ।

यो ट्रेन्ड सधै टिक्दैन: राजनराज सिवाकोटी

नेपाली चलचित्रमा लोकगीतको ट्रेन्ड नै विकास गरेका संगीतकार राजनराज सिवाकोटी, यो शैली दिगो नरहने स्विकार गर्छन् । उनले भने-‘जब हरेक मानिसले एउटै कुराको खोजी गर्छ, त्यस्तो अवस्थामा संख्यात्मक रुपमा धेरै हुन थाल्छ । त्यसपछि मानिस यो सुनौं कि त्यो सुनौं भन्ने दोधारमा पर्छ ।’

राजनराज आफूले ब्यानर हेरेर पक्षपात नगरेको बताउँछन् । उनले भने-‘एउटा सर्जकले कहिले पनि ब्यानर हेरेर पक्षपात गर्नुहँुदैन । म हरेक निर्माताका लागि राम्रो नै गीत बनोस् भन्ने चाहन्छु ।’

उनले कहिलेकाही गीत अनुसार भिडियो नराम्रो बन्ने गरेको बताए । तर, हरेक निर्माताले नराम्रो भिडियो बनाउँछु भनेर कहिले नसोच्ने उनको भनाई छ ।

राजनराजलाई धेरै चलचित्रबाट अफर आउँदा, कतै उनको सिर्जनशिलता कमी आएको त छैन भनेर प्रश्न सोध्दा उनले भने-‘नेपाली चलचित्रमा लोकगीतको क्रेज बढ्छ भन्ने मलाई २०६२-०६३ को आन्दोलनको समयमा नै थाहा भएको थियो । सो समयमा मैले बनाएको ‘बार्ता गराइदेउ’ भन्ने लोकगीतले हंगामा मच्चाएपछि मैले चलचित्रमा यसको क्रेज बढ्ने बुझेको थिएँ । यसैले मैले थुप्रै रचना त्यो समयमा सिर्जना गरेका थिएँ । अहिले बजारमा आएका गीतहरु मैले त्यही बेला तयार पारेका हुन् ।’

चलचित्रको प्रमोशनका लागि एउटा सफल गीतको सामथ्र्य निकै शक्तिशाली हुन्छ । ‘कुटुमा कुटु’ गीत नभएको भए संभवत ‘२ रुपैयाँ’ले राम्रो व्यापार नगर्न पनि सक्थ्यो । तर, यसो भन्दैमा सबै निर्माता यस्तै भाग्यमानी हुन्छन् भन्ने छैन । लोकगीतकै भरमा चलचित्र बनाउने र चलाउन खोज्ने धेरै निर्माता चिप्लिएका छन् ।

अनमोल पनि लोकगीतमा नाचे
सधै लभ गीतको पछाडि कुद्ने नायक अनमोल केसीलाई समेत दर्शकले यसपटक चलचित्र ‘क्याप्टेन’मा लोकगीतमा नाचेको देख्नेछन् । यो चलचित्रका लागि ३ वटा गीत तयार पारेका संगीतकार अर्जुन पोखरेल भन्छन्-‘लोकप्रियताका लागि मात्रै क्याप्टेनमा लोकगीत तयार पारिएको होइन । गाउँदेखि शहर हुँदै विदेशसम्म पुगेको एक व्यक्तिको कथा भएकाले उसको जीवनमा आइपर्ने हरेक पाटो चलचित्रमा छ । यसैले, यसमा लोकगीत, पश्चिमेली शैलीको गीत र प्रेम भावको गीत समावेश गरिएको छ ।’

क्रेज नघटोस्
गीत जस्तोसुकै प्रकारको होस्, कथाको माग अनुसार पर्दामा देखियो भने सुन्दर लाग्छ । होइन भने ‘उध्रेको चोली’पछि नेपालमा बढेको आइटम गीतको क्रेज अहिले सुनसान भएजस्तै लोकगीतको क्रेज पनि सुनसान हुन समय लाग्दैन ।

कथा अनुसार लोक वा कुनै प्रकारको गीत राख्दा उत्तम हुन्छ । लोकगीतलाई चलचित्र चलाउने माध्यम बनाएर अरु पाटोमा चिप्लिएकाहरु धेरै छन् ।

नौलो भूमिका पाएनौ भन्ने कलाकार आफैंले बनाएको फिल्ममा चिप्लिदै

कलाकारलाई प्रश्नः कपाल पाल्दैमा, जिम जाँदैमा क्यारेक्टरमा पसिन्छ र ?

हिरोलाई ५० लाख, अनि कथालाई ?

अनमोलदेखि साम्राज्ञीसम्मः कसको स्टार पावर कति ?

पेलाईमा निर्माता, ‘मुर्गा’ संस्कृति कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment