Comments Add Comment

२२ वर्षपछि क्यामेरामा कैद भयो ब्राजिलको जंगलमा बस्ने एक्लो व्यक्ति

मान्छे एक्लै बाँच्न सक्छन् ?


हामी भन्छौं, मान्छे एक्लो बाँच्न सक्दैन । एकअर्कासँग जोडिएर, सुखदुख साटेर, सरसहयोग लिएर सामाजिक जीवन बाँच्छन् । भौतिक रूपले मात्र होइन, भावनात्मक रूपले पनि मान्छेलाई एकअर्काको आड-भरोसा चाहिन्छ ।

तर, संसारमा यस्ता पनि व्यक्ति रहेछन्, जो एक्लो बाँचिरहेका छन् । घना जंगलमा उनी नितान्त एक्लो जीवन व्यतीत गरिरहेका छन् । यसै सन्दर्भमा बिबिसी हिन्दी अनलाइनले प्रस्तुत गरेको आलेखको यहाँ भावानुवाद गरिएको छ ।

एक भिडियो फुटेजमा ती व्यक्ति देखिएको छ । जसलाई ‘विश्वकै नितान्त एक्लो व्यक्ति’ भनिएको छ ।

५० वर्षको आसपास उमेरका यी व्यक्ति आफ्ना समूहका सवै सदस्य मरेपछि पछिल्लो २२ वर्षदेखि एक्लै छन् । ब्राजिलको अमेजन घाटी उनको आश्रयस्थल हो ।

ब्राजिलको सरकारी एजेन्सीले जारी गरेको भिडियो फुटेजमा यी व्यक्ति देखिएका छन् । उनले जंगलमा रुख काटिरहेको देखिन्छ । यो भिडियो विश्वभर शेयर गरिएको छ । तर, त्यसको वास्तविकता भने त्यति वाहिर आएको छैन ।

किन दृश्यांकन गरियो ?

ब्राजिलका सरकारी एजेन्सी फुनाई टिम यस व्यक्तिलाई सन् १९९६ देखि निगरानी गरिरहेका छन् । र, उत्तर-पश्चिम राज्य रोन्डोनियाका यस क्षेत्र, जहाँ उनी बस्छन्, त्यसलाई प्रतिबन्धित क्षेत्र बनाइएको छ । उनी जीवित छन् भन्नका खातिर यो भिडियो खिचिएको हो ।

यो क्षेत्र करिब चार हजार हेक्टरमा फैलिएको छ । यस क्षेत्रमा प्रवेश गर्न र कुनै पनि गतिविधि गर्न प्रतिबन्धित छ । ब्राजिलको संविधान अनुसार त्यहाँको मूलवासीलाई उक्त जमिनको अधिकार प्राप्त छ ।

यी व्यक्तिको बारेमा के थाहा छ ?

ती व्यक्तिमाथि केही खोज अनुसन्धान भएको छ । अमेरिकी पत्रकार मोंटे रीलले एक किताब ‘द लास्ट अफ द ट्राइबः द एपिक क्वेस्ट टु सेभ ए लोन मेन इन द अमेजन’को विषयमा लेखेका छन् । त्यसमा उपलब्ध जानकारी बाहेक अरू खास जानकारी उपलब्ध छैन ।

यी व्यक्तिलाई सम्पर्कविहिन श्रेणीमा राखिएको छ । अर्थात् बाहिरको कुनै पनि व्यक्तिसँग उनको सम्पर्क छैन र कुराकानी भएको छैन ।
भनिन्छ, यी व्यक्ति सन् १९९५ मा किसानको आक्रमणबाट बचेका ६ सदस्य समूहका एक मात्र जीवित व्यक्ति हुन् । यी जनजातिलाई कुनै नाम दिइएको छैन र उनीहरु कुन भाषा बोल्छन् भन्ने पनि थाहा छैन ।

वर्षौदेखि ब्राजिलको मिडियाले उनलाई ‘द होल इन्डियन’ भन्दै आएको छ । किनभने उनी आफ्नो पछाडि गहिरो खाडल खनेर छाडिदिन्छन् । सम्भवतः उनले जंगली जनवारलाई फसाउन वा लुक्नका लागि यस्तो खाडल खन्ने गरेका हुन् ।

विगतमा उनी झाप्रोमा बस्ने र हातले बनाएको औजार प्रयोग गर्थे ।

यो फुटेज किन दुर्लभ ?

अहिलेसम्म उक्त व्यक्तिको एउटै तस्विर बाहिरिएको छ । उनकै खोजमा लागिरहेका एक वृत्तचित्र निर्माताले उनको फोटो लिएका थिए, जुन क्षणिक रूपमा देखिएको बेला कैद गरिएको थियो ।

सामाजिक कार्यकर्ताहरु यसकारण खुसी छन् कि, भिडियो फुटेजमा उक्त व्यक्तिको स्वास्थ्य राम्रो देखिएको छ । मेवा वा मकै खाइरहेको, सिकार गरिरहेको उनी तन्दुरुस्त देखिएका छन् ।

ती एक्ला व्यक्ति अरूसँग सम्पर्कमा आउन चाहँदैनन् । अरूले भेट्न खोजेमा तीर चलाउन सक्छन् । यसबाट पनि स्पष्ट हुन्छ कि, उनी अर्का व्यक्तिसँग भेट्न चाहँदैनन् । उसलाई बाहिरी संसार एकदमै भयानक लाग्छ । भिडियो वाहिरिएपछि उनको अस्तित्वलाई लिएर चिन्ता व्यक्त गरिएको छ । उनलाई संरक्षण गर्नु नितान्त आवश्यक रहेको बताइन्छ ।

के उनी खतरामा छन् ?

व्यापारिक कारणले सन् १९७०-८० को दशकमा उक्त क्षेत्रमा सडक बनाएपछि यी जनजातिका अधिकांश व्यक्ति तहसनहस भए ।

किसान तथा अवैध रुखजंगल काट्न खोज्नेहरू अहिले पनि उनीहरुको जमिन हडप्न खोजिरहेका छन् । यी व्यक्तिहरुबाट उनले आफूलाई बचाउनुपर्ने चुनौती छ । सन् २००९ मा एक सशस्त्र समूहले यी आदिवासीलाई बर्बाद गर्न खोजेका थिए ।

सर्वाइवल इन्टरनेसनलका अनुसार ब्राजिलको अमेजन रेन फरेस्टमा संसारको कुनै कुनामा भन्दा बढी यस्ता आदिवासी बस्छन्, जो अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

यी जनजातिको प्रतिरक्षा प्रणाली एकदमै कमजोर हुन्छ । त्यसैले उनीहरु बाहिरी व्यक्तिसँगको सम्पर्कमा आए विभिन्न संक्रमणको जोखिममा पर्नसक्छन् । वाटसन भन्छन्, ‘एक हिसाबले हामीलाई उनीहरूको बारेमा धेरै चासो राख्नु वा सोधीखोजी गर्नु आवश्यक छैन । यद्यपि उनीहरू मानिसको विविधताको प्रतीक हुन्, जसलाई हामी गुमाइरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment