Comments Add Comment

मधेसमा मार्क्सवाद प्रचार गर्दै नेकपा

'साम्प्रदायिक राजनीतिबाट माथि उठाउन मार्क्सवाद उत्तम विकल्प'

२२ साउन, वीरगञ्ज । नेकपाले मधेसमा मार्क्सवादको प्रचार अभियान शुरु गरेको छ । कार्लमार्क्स जन्म द्वीशतवार्षिकीको अवसर पारेर मधेसमा मार्क्सवादको बारेमा गहन छलफल गर्न लागेको हो ।

नेकपाका कार्यकर्ता मात्रै नभएर नयाँ पुस्तालाई मार्क्सवादका बारेमा जानकारी गराउन कार्यक्रम महत्त्वपूर्ण हुने दावी नेकपाको छ । त्यसका लागि नेकपाले भदौ १ र २ गते वीरगञ्जमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेकपाका शीर्ष नेताहरु, वाम घटकका नेता, वाम वुद्धिजीवी तथा चिन्तकहरुले मधेसमा मार्क्सवादसम्बन्धी गहन विचार, दृष्टिकोण तथा सोचहरु राख्ने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

प्रदश नम्बर २ का ८ वटै जिल्लाका १ हजार नेता कार्यकर्ता तथा अगुवाहरु सहभागी हुने कार्यक्रममा मार्क्सवादलाई विभिन्न कोण तथा दृष्टिकोणबाट बहसमा ल्याइने जानकारी कार्लमार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, प्रदेश २ ले जनाएको छ । कार्यक्रमका लागि नेकपाका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अन्य ६ वटा उपसमितिहरु गठन गरिएका छन् ।

पत्रकार सम्मेलनमा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मधेसमा मार्क्सवादको अझै बढी आवश्यकता रहेको बताए । ‘समाजवादका लागि सबैभन्दा भरपर्दो वैज्ञानिक विचार मार्क्सवाद हो भनेर विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । त्यसैले मुलुकमा मार्क्सवाद आवश्यक छ, मधेसमा अझै बढी आवश्यक छ,’ नेता भुसालले भने, ‘मधेसमा विद्यमान रोग, भोक, शोक, अज्ञानता, पछौटेपन, साम्प्रदायिक राजनीतिबाट माथि उठाउन मार्क्सवाद नै उत्तम विकल्प हो ।’

उनले मार्क्सवादले सामाजिक र आर्थिक प्रक्रियालाई मजबुत बनाउनुको साथै लोकतन्त्रलाई सुदृढ बनाउने दाबी गरे ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राम कार्कीले मधेसमा विद्यमान समस्याको गाँठो फुकाउन मार्क्सवाद बुझ्न जरुरी रहेको बताए । ‘मधेसले नै कुनै दललाई वर्षौं वर्ष सत्तामा पुर्‍याएको छ, ठूला-ठूला आन्दोलन गरेको छ तर मधेसमाथि उठ्न सकेको छैन,’ कार्कीले भने, ‘मधेसलाई बुझ्न यहाँको समस्याको गाँठो फुकाउनु पर्छ । मधेसको गाँठो फुकाएपछि मात्रै देश अघि बढ्छ ।’

उनले प्रणालीको विकास नभएसम्म उपेक्षित समुदायमाथि नउठ्ने बताउँदै मधेसले आफैं भित्रको विभेदलाई चिरेर आउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment