Comments Add Comment

फेरियो भरतपुर र नारायणगढ, यसरी हुँदैछ व्यवस्थित

२५ साउन, चितवन । एक समय मानिसहरुलाई लाग्थ्यो, नारायणगढ बजार झर्न नपरे पनि हुन्थ्यो । साँघुरो सडक, गुडेका रिक्सा र ट्याम्पो, म्याजिकको दादागिरी ।

सडक पेटीमा विस्कुन सुकाए झै सामान राखेर ब्यापार गर्नेहरु । कपाल काट्ने त्यही, जुत्ता पालिस लगाउने पनि त्यही, दुर्गन्ध उतिकै । सर्वसाधारण नागरिकलाई नत फुटपाथमा हिँड्न सहज थियो, नत सडकमा यात्रा गर्न नै ।
तर, अहिले भरतपुर र नारायणगढ क्षेत्रको स्वरुप फेरिएको छ । नारायणगढ बजार क्षेत्र भरतपुर महानगरपालिका वडा नं ३ मा पर्दछ भने, भरतपुरको मुख्य क्षेत्र वडा नं १० मा पर्दछ ।

भरतपुर महानगरपालिकाले गत साउन १० गतेबाट मूख्य राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पोलाई रोक लगाएको छ । यसले बजार क्षेत्र धेरै खुल्ला देखिएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौत्तमका अनुसार भरतपुर क्षेत्रमा ३ हजार ९ सय अटो रिक्सा र ट्याम्पो छन् । अहिले भित्री सडकमा मात्रै गुड्छन् ।

यस्तै महानगरले १५ जेठदेखि बजार क्षेत्रमा फुटपाथ व्यपार गर्न रोक लगाएको छ । मुख्य बजार क्षेत्रमा ५०० मिटर दायाँबायाँ ठेला तथा फुटपाथ पसल राख्न पाइँदैन । यसले सार्वसाधारणलाई सडक पेटीमा हिँड्न निकै सहज बनेको छ ।

बालकुमारी कन्या माविको आडमा रहेको सरकारी जग्गामा १७० फुटपाथ व्यवसायीलाई व्यवस्थापन गरेको छ । ६ कठ्ठामा फैलिएको जग्गामा सटर निर्माण गरिएको हो ।

यसअघि पटकपटक फुटपाथ हटाउने भनिएपछि महानगर असफल बनेको थियो । निर्वाचित जनप्रतिनिधिले विगत एक बर्षको अवधिका गरेको देखिने काम भनेकै फुटपाथ हटाउने र तीन प्रांग्रे सवारीलाई राजमार्गमा गुड्न रोक लगाउने हो ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङ स्थल निर्माण गरेको छ ।

ट्राफिकले सवारी आवागनमलाई सहज बनाउन र ट्राफिक प्रहरीको पनि सहजताका लागि अहिले विभिन्न स्थानमा महानगरको सहकार्यमा आकर्षक ट्राफिक पोष्ट निर्माण गरिएको छ ।

बसपार्क चोक, हाकिमचोक, चौंविकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, शहिदचोक, पुल्चोकमा गरी १२ वटा आइल्याण्ड निर्माण गरिएको छ । यसले बजारलाई थप व्यवस्थित बनाएको छ । बजार क्षेत्रमा बर्षोदेखि नबलेका सडक वत्तीहरुलाई बाल्ने काम गरिएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जनप्रतिनिधि आएपछि शहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियान सुरु गरिएको बताएकी छन् । पार्किङसँगै ढल व्यवस्थित गर्ने, सडक फराकिलो पार्ने, रातको समयमा सबै ठाउँमा सडक बत्ती राख्ने र रुख विरुवा लगाएर हरियाली बनाउने उनले बताइन् ।लामो र छोटो दुरीका सवारीलाई बजार क्षेत्रमा मानिस चढाउने र झार्ने निश्चित ठाउँ तोकिएको छ ।

रायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेक अन्यत्र पार्किङ गर्न निषेध गरिएको छ । बजार क्षेत्रमा अटो रिक्सा र ट्याम्पो हटाएपछि ट्राफिक व्यवस्थापनमा निकै नै सहजता आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए ।

फुटपाथमा पैदल यात्रुको अधिकार बल्ल स्थापित भएको ट्राफिक प्रमुख गौतमको भनाइ छ ।

लायन्स चोकको फलफूल तथा तरकारी बजारलाई क्षेत्रपुरमा स्थानान्तरण गर्ने काम भइरहेको छ । बजार क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाएसँगै ठूलो संख्यामा चारपांग्रे भित्रिन नदिन सरोकारवाला संस्थामा पत्राचार गरेको छ ।

महानगरले बैंक, वित्तीय संस्था, ठूला कम्प्लेक्सलाई पत्राचार गरेर आ-आफ्नो पार्किङको व्यवस्थापन गर्न आग्रह गरेको छ । वडामा व्यवस्थित हाट बजार निर्माण भइरहेका छन् ।

भरतपुर महानगरपालिका क्षेत्रमा ८ वटा स्थानमा हाट बजार लाग्छ । हाट बजारलाई ब्यबस्थित बनाउन र नयाँ थप खोल्न महानगरपालिकाले कुनै सहयोग नगरेको गुनासो हाटबजार विकास व्यवसाय समिति चितवनका अध्यक्ष लालबहादुर रायले गरे ।

कोही खुसी, कोही दुःखी ! 

बजार क्षेत्र सुन्दर र व्यवस्थित बनेकोमा फुटपाथ र सडकमा यात्राहरुले खुसी र उत्साहित बनेका छन् । तर, बजार क्षेत्रमा बसेर व्यापार गर्ने भने त्यति खुसी देखिएनन् ।

बजार क्षेत्रमा भेटिएका केही प्रतिनिधिमूलक व्यापारीहरुले महानगरको यो निर्णयबाट दुःख पाएको र व्यापार घटेको प्रतिक्रिया दिए । होटल व्यवसायी आनन्दकुमार रञ्जितले तीनपांग्रे हट्दा व्यापारीले दुःख पाएको र ब्यापार घटेको गुनासो गरे ।

उनले तीनपांग्रेेलाई पहिल्यै महानगरले नियन्त्रण गर्न नसक्दा सवैलाई मार परेको बताए । ‘होटलमा सामान ल्याउनुर्‍यो भनेपनि आफैं गएर बोकेर ल्याउनुपर्छ, पहिला तीनपांग्रेले ल्याइदिन्थ्यो’ उनले भने, ‘शहर बजारमा भीडभाड नभए गाउँमा हुन्छ त ?’

शुभकामना इलेक्ट्रोनिक्स नारायणगढका सञ्चालक सूर्यभक्त अधिकारीले तीनपांग्रे हटेसँगै बजार क्षेत्र सुनसान भएको र ब्यापारमा असर परेको बताए । ‘पहिला फुटपाथ र तीनपांग्रे चल्दा चहलपहल थियो, अहिले सुनसानजस्तै छ’ उनले भने ।

विगत तीन बर्षदेखि अटोरिक्सा चलाउँदै आएका भरतपुर ४ त्रिचोकका हिमाल काफ्लेले राजमार्गमा गुडाउन नपाउँदा आम्दानी घटेको बताउँछन् दैनिक १०००/१५ सय आम्दानी हुने गरेकोमा अहिले ४/५ सय भएको काफ्लेले बताए । तीनपांग्रे हटाएकोमा सर्वसाधरण नागरिक त खुसी भएका छन्, बजार खुल्ला भएको छ नि भन्ने प्रश्नमा तीनपांग्रे चालक काफ्लेले भने, ‘आफ्नो सवारी साधन हुनेहरु खुसी भएका छन्, नहुनेहरु दुःखी भएका छन् ।’

सडक र फुटपाथमा हिड्नेहरुले भने फुटपाथ र तीनपांग्रे हटेकोमा खुसी लागेको बताएका छन् । भैसाखोरी नवलपरासीकी शर्मिला महतोले पहिलाको नारायणगढ बजार र अहिलेको बजारमा धेरैं फरक पाएको बताइन् । नवलपरासी प्रगतीनगरकै राजेश गौतमले महानगरको निर्णयको स्वागत गरे । तर, यसलाई निरन्तरता दिनु प्रमुख चुनौंती भएको गौतमको भनाइ छ ।

राजमार्ग क्षेत्रबाट तीनपांग्रे सवारी हटेपछि ट्याक्सी र म्याजिक भ्यानहरुले पैसा कमाउन थालेका छन् । ट्याक्सी चालक समर अली, म्याजिक चालक हरि दर्जी र समुन विकले पहिलाभन्दा आफूहरुको दैनिक आम्दानी अटो हटाउँदा बढेको बताए ।

‘पहिला त अटोले यात्रु खोसेर लैजान्थे अहिले आनन्द भएको छ’ ट्याक्सी चालक समर अलिले भने, ‘अति गरेपछि खती हुन्छ ।’  भरतपुर क्षेत्रमा अहिले करिव ४ सयको हाराहारीमा म्याजिकहरु सञ्चालनमा रहेका छन् भने ६ सयभाडा ट्याक्सी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment