+
+

‘महिलामा ६ गुणा बढी यौन उत्तेजना हुन्छ, तर बलात्कार गर्दैनन्’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते ९:३०

पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची हुन्छ भनिन्छ । तर, महिलाहरु पुरुष जस्तो उग्र हुँदैनन् । अनियन्त्रित हुँदैनन् । आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकार बनाउँदैनन् । के तपाईंले अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार गर्‍यो भन्ने सुन्नुभएको छ ?

यौन एक जैविक आवश्यक्ता हो । दोहोर्‍याइरहनु नपर्ला, यो प्राकृतिक र अपरिहार्य पनि हो । तर, पुरुषहरु यौनमा किन यत्ति गतिछाडा हुन्छन् ? के यौनप्यास उनीहरुलाई मात्र हुन्छ ? उनीहरुले मात्र मेटाउनु पर्छ ?

महिलाहरु आफ्नो यौन-उत्तेजना आफै व्यवस्थापन गर्छन् । उनीहरु यौन प्यास मेटाउनका लागि बच्चा वा किशोरको बाटो ढुकेर बस्दैनन् । सार्वजनिक स्थानमा राम्रो केटा देख्नसाथ लहसिदै हिँड्दैनन् पनि । सुनेकी छु, महिलाहरुले आफ्नो यौन-उत्तेजनालाई आफ्नै अंग हेरेर शान्त तुल्याउँछ रे ।

महिलाहरु यति संयमित हुन्छन् । त्यही समाजमा पुरुष किन त्यती उत्तेजित ? किन हिंस्रक ? किन निर्दयी ? किन बेसरम ?

पुरुष कति डरलाग्दो ?

एक बच्ची थिइन्, जसलाई मैलें रक्षा नेपालको जिम्मा लगाएँ । ति बच्चीको योनीद्वारदेखि मलद्वारसम्म च्यातिएको छ, बलात्कारले । उनी पुरुषलाई देख्नै सक्दैनन् । केटामान्छे देख्नसाथ डराउँछिन् । उनको आँखाबाट हरेक केटा मान्छे अपराधी हो ।

सबै केटा मान्छे नराम्रो हुँदैनन् । मलाई बलात्कार विरुद्धको अभियानमा सहयोग गर्ने केटा मान्छेहरु नै छन् । उनीहरुले आवश्यक खर्च जोहो गरिदिन्छन् । भर्खरै माइतीघर मण्डलामा पेटीकोट लगाएर विरोध प्रदर्शन गर्दा पनि केटाहरुले साथ दिएका थिए । एकजना दाईले भन्दै हुनुहुन्थ्यो, ‘त्यहाँ के कति खर्च लाग्यो, म दिन्छु है ।’

बलात्कारी पुरुषलाई फाँसी दिनुपर्छ भनेर हृदयबाटै समर्थन गर्ने उहाँहरु जस्तो थुप्रै पुरुष अहिले हाम्रो साथमा छन् ।

तर, त्यही भिडमा यति डरलाग्दो पुरुष छन्, जो आफ्नो यौनप्यास मेटाउनका लागि एउटा नावालक बच्चीलाई समेत घिनलाग्दो आँखाले हेर्छ ।

हाम्रो सामाजिक संरचनाले पुरुषलाई स्वामी बनाएको छ । सबै कुराको सर्वेसर्वा पुरुष हुन् । महिला भात-भान्सा सम्हाल्छिन्, लताकपडा धुन्छिन्, घर सफा गर्छिन्, नानीलाई स्यहारसुसार गर्छिन्, सासु-ससुराको औषधीपानी गर्छिन् । घरको सबै भार बोकाएर पनि श्रीमान्हरु भन्छन्, ‘मेरी पत्नी गृहणी हुन्, काम गर्दिनन् ।’

पुरुष एक अहंकार, दम्भको पुञ्ज हो । उनलाई मैले कमाएर सबैलाई पालेको छु भन्ने भ्रम छ । मैले पुरुषको विरोध गरेकी होइन । तर, पुरुषबादी मनोविज्ञानले गर्दा आज बलात्कार जस्ता जघन्य कृत्यलाई पनि उनीहरुले सामान्य रुपमा लिएका छन् । किनभने उनीहरुलाई आफु बलवान् लाग्छ ।

कस्ता पुरुष बलात्कारी ?

मैले धेरै ठाउँमा बलात्कारको घटनालाई नजिकबाट नियाल्न पाएकी छु । अक्सर बलात्कार गर्नेहरु बुढा वा वयस्क हुने गर्छन् । धेरैजसो त बुढाहरु बलात्कार गरेको घटना पाइन्छ ।

किशोर उमेरदेखि ३० बर्ष भन्दा कम उमेरका पुरुषहरुले बलात्कार गरेको घटना तुलनात्मक रुपमा कम सुन्न पाइन्छ । तपाईंले सार्वजनिक स्थानमा हेर्नुभयो भने, युवतीहरुलाई नजानिदो ढंगले छुन खोज्ने, लहसिन खोज्ने, धकेल्ने पुरुषहरु अलि प्रौड उमेरका हुन्छन् ।

हुन त अहिले किशोरहरुले पनि सामूहिक रुपमा बलात्कार गरेको घटनाहरु देख्न, सुन्न पाइन्छ । खासमा बलात्कार गर्नेहरु त्यही हुन्, जो बर्षौंदेखि यौनकुण्ठा पालेर बसेका छन् । एकातिर उम्लिरहेको यौन र अर्कोतिर पुरुषवादी सोंचले उनीहरुलाई यस्तो कृत्य गर्न उक्साउँछ । महिलालाई सजिलै अठ्याउन सकिने, आफ्नो नियन्त्रण लिन सकिने सोंच उनीहरुमा हुन्छ । कतिले कमजोर महिलालाई इमोशनल व्ल्याकमेलिङ समेत गरिरहेका हुन्छन् ।

शहरिया, धनाड्य वा सक्षम महिलाहरु वा उनीहरुका बच्चा, किशोरीहरु बलात्कार भएको त्यती पाइदैन । दुर्गमका, गरिब, असाहय, अशक्त, दलित महिलाहरुमाथि बढी बलात्कार हुन्छ । भारतिय सीमा जोडिएका क्षेत्रमा अझ यस्तो कृत्य बढी हुने गरेको छ । बलात्कार गरेर भारततिर भाग्न वा लुक्ने प्रवृत्ति छ ।

बलात्कारीले होइन बलात्कृतले अनुहार लुकाउनु पर्ने ?

बलात्कृत भएका बालिका, किशोरी वा महिलाहरुलाई उद्वार गरेर हामी काठमाडौं ल्याउने गथ्यौर्ं । उनीहरुको पुनस्र्थापनाका लागि विभिन्न ठाउँमा जिम्मा लगाउने गथ्र्यौं । अब भने मेरो योजना फेरिएको छ । उनीहरु आफु बलात्कृत पनि हुनुछ, आफै विस्थापित पनि ।

उनीहरु अब त्यही समाजमा बस्नुपर्छ । त्यही समाजले उनीहरुलाई सम्मानपूर्वक बाँच्ने अवस्था बनाइदिनुपर्छ । किनभने हरेकको आमा, दिदीवहिनी, छोरी कुनैपनि बेला, बलात्कृत हुन सक्छन् । त्यही कुरा सोचेर उनीहरुले बलात्कृत महिलालाई संरक्षण र सम्मान दिनुपर्छ । विस्थापित गर्ने होइन ।

तर, यो कुरा भन्न जति सजिलो छ, व्यवहारिक रुपमा पुरा गर्न उत्तिनै जटिल छ । जब कुनै महिला वलात्कृत हुन्छन्, उनीहरु मानसिक रुपले एकदमै विक्षिप्त हुन्छन् । उनीहरुमाथि सबैले नराम्रो नजर दौडाउँछन् । त्यही कारण वलात्कृत महिलाहरु आफ्नो समाजबाट टाढा बस्नुपर्ने वाध्यतामा छन् । उनीहरु कुनै आश्रयस्थलमा गएर दिन कटाउन बाध्य छन् ।

जबकी बलात्कारीहरु त्यही समाजमा सानसँग हिँडिरहेका हुन्छन् । उनीहरु आफुलाई पुरुषार्थी ठान्छन् । यस्ता बलात्कारीहरुलाई समाजका गन्यमान्य मान्छे, स्थानिय नेता, प्रहरी प्रशासन आदिले संरक्षण दिने गर्छन् । नेताहरुले आफ्नो भोट वैंकको रुपमा प्रयोग गर्नका लागि यस्ता बलात्कारीहरुलाई उम्काउने दाउपेच रच्ने गर्छन् । मैले आफ्नो जिल्ला बारमा यस्ता घटना प्रशस्तै झेलेकी छु । अन्य ठाउँमा पनि बलात्कारीलाई नेताहरुले संरक्षण गरिरहेका छन् ।

मनको घाउँ कसरी निको हुने ?

जब कोही बच्ची, किशोरी वा महिला बलात्कृत हुन्छन्, त्यही दिनदेखि उनीहरुको जीवनमा ग्रहण लाग्छ । बलात्कृत भएकालाई समाजले सहजै स्विकार्दैन । उनीमाथि कुदृष्टि राख्न थालिन्छ । अझ दुखलाग्दो त के छ भने, उनीहरुको विवाह हुने संभावना निकै कम हुन्छ । एक पटक बलात्कृत भइसकेपछि उनीहरुले दाम्पत्य सुख गुमाउनुपर्ने अवस्था छ ।

बलात्कारको पीडा झेलिरहेकाहरु मानसिक रुपले एकदमै विक्षिप्त हुने गर्छन् । योनीद्वारको उपचार होला । शारीरिक चोट निको होला । तर, उनीहरुको मनको घाउँ कसरी निको हुन्छ ?

हामी समाजले उनीहरुको मनको घाउ निको हुन दिइरहेका हुँदैनौं । समाजकै डर र लाजले उनीहरु नयाँ जीवन सुरु गर्न सकिरहेका हुँदैनन् । बलात्कृत भइसकेकाहरु जीवनभर खुला जेलमा आफुलाई खुम्च्याएर बस्न बाध्य हुन्छन् ।

उजुरी गर्नै गाह्रो

मेरो तराईंको गाउँबाट सदारमुकाम अलि टाढा छ । यदि गाउँमा केही बलात्कृत भए भने कहाँ न्याय खोज्ने, कहाँ उपचार गर्ने, कसरी गर्ने भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन ।

बलात्कृत भइसकेपछि प्रसासनमा उजुरी गर्नुपर्छ । उजुरी गर्नका लागि मेडिकल रिपोर्ट चाहिन्छ । यसका लागि सदारमुकाम जाने, मेडिकल रिपोर्ट लिने, ति सबै कागजात मिलाएर प्रहरीमा उजुरी गर्ने काम पीडितका लागि वास्तवमै झन्झटिलो हुन्छ ।

कतिसँग त सदारमुकाम आउने, मेडिकल परीक्षण गर्ने खर्च पनि हुँदैन ।

अर्को दुखलाग्दो कुरा के छ भने, पहुँच वा पैसाको भरमा कतिपय पीडकले मेडिकल रिपोर्ट नै उल्टो बनाइदिने गरेका छन् । यस्तो विकृती हाम्रो समाजमा व्याप्त छ ।

पीडितको आँशु बेचेर डलरमा रजाई गर्ने प्रवृत्ति

अझ दुखलाग्दो कुरा, पीडितको आँशु बेचेर डलरको खेती गर्ने प्रवृत्ति छ । मैले सुरुमा रक्षा नेपाललाई पीडितहरु बुझाउने गरेकी थिएँ । त्यहाँ पुर्‍याएपछि बलात्कारीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई शारीरिक तथा मानसिक उपचार हुने अपेक्षा थियो । तर, मेरो अपेक्षा व्यर्थ रहेछ । भ्रम रहेछ ।

बलात्कृत वा महिला हिंसामा परेकाहरुलाई संरक्षण गर्ने संस्थाहरु डलरको लागि यी सब नौटंकी गर्ने रहेछन् । उनीहरु बलात्कार न्युनिकरणका लागि वास्तवमै लागिपरेका होइनन्, बरु त्यसलाई भजाएर आफ्नो जीवन सुकिलो मुकिलो बनाउन लागिपरहेका छन् ।

सडकमा महिलाहरु उतारेर विरोध प्रदर्शन गरेको पाँच हजार दिइने रहेछ । त्यसरी विरोध प्रदर्शन गरेपछि त्यसको भिडियो बनाइने रहेछ । भिडियो विदेशी दातृ निकायमा पेश गरिने रहेछ ।

आश्रयस्थलको धन्दाः घटनालाई ग्ल्यामराइज्ड गरेर अर्थोपार्जन

आइएनजिओवाला संस्थाहरु त्यस्तै घटना मात्र हेर्छन्, जसले उनीहरुको मिडियामा चर्चा हुन्छ । विदेशी डलर भित्रिन्छ । कुनैपनि घटनालाई बढी ग्ल्यामराइज्ड गरेर उनीहरु त्यसबाट नाम र दाम कमाउने खेल खेल्ने रहेछन् ।

यसका लागि उनीहरुसँग आफ्नै सर्कलका पत्रकार हुन्छन् । ति पत्रकारहरु अघोषित रुपमा तिनै संस्थाका प्रचारक जस्तै हुन् । साथै नेता एवं राजनीतिक दलसँग पनि उनीहरुको राम्रो सम्बन्ध हुन्छ । सबै मिलेमतो गरेर यस्ता घटनाबाट डलरको खेतीपाती गरिन्छ । त्यही कारणले पनि अहिलेसम्म बलात्कारको घटना न्युनीकरण नभएको हो । यदि भित्रै हृदयबाट लाग्ने हो, डटेर लाग्ने हो, लोभ-लालस नगरी लाग्ने हो भने केही परिवर्तन त आवश्यै हुन्छ ।

मृत्युदण्डले बलात्कार नियन्त्रण हुन्छ ?

मलाई धेरैले सोध्ने प्रश्न हो, के मृत्युदण्ड दिदैमा बलात्कार नहुने हो । यसको मतलब यो होइन कि, हरेक बलात्कारीलाई मृत्युदण्ड दिदै नष्ट गरेपछि यस्तो घटना हुँदैन । किनभने मृत्युदण्ड त त्यसबेला दिइन्छ, जब घटना घटिसकेको हुन्छ । कुनै अवोध महिला बलात्कारको सिकार भइसकेको हुन्छ । हाम्रो अभियान भनेको बलात्कार नै हुन नदिनु हो ।

यसका लागि बलात्कारीलाई मानसिक रुपले थर्कमान बनाउनु आवश्यक छ । मानसिक रुपले उनीहरु थर्कमान भएपछि यस्तो कृत्य गर्ने हिम्मत जुटाउँदैनन् । बलात्कार गरेपछि आफ्नो जीवन नै नष्ट गर्नुपर्छ भन्ने भएपछि उनीहरुले बलात्कार गर्नु भनेको आत्माहत्या गर्नु बराबर हो । यसले पक्कैपनि बलात्कारको घटनालाई निरुत्साहित गर्नेछ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?