Comments Add Comment

रुपन्देहीका ३ मिनरल वाटर उद्योगमा शीलबन्दी

१९ भदौ, बुटवल । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गरिरहेका रुपन्देहीका तीनवटा मिनरल वाटर उद्योग ‘शील’ गरिएको छ ।

यसअघि भएको अनुगमनमा ६ महिनाभित्र मापदण्ड पूरा गरेर मात्र पानी उत्पादन तथा बिक्री वितरण गर्ने शर्तमा सञ्चालन भएका उद्योगहरुले मापदण्डलाई बेवास्ता गरेको पाइएपछि मंगलबार शील गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्च नेपालका प्रतिनिधिले मंगलबार मिनरल वाटर उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा भैरहवाको रिद्धिसिद्धि वाटर इण्डस्ट्रिज ,रोहिणी गाउँपालिका २ को हिमालयन रोज ड्रिङ्किङ वाटर र सोही गाउँपालिका ३ को आरएनजे वाटर इण्डस्ट्रिजले मापदण्ड पूरा नगरेको पाइएको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार बोतल पानी उत्पादन गर्ने उद्योगहरुले पानी उत्पादन स्वचालित मेसिनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ । यी उद्योगहरुले स्वचालित मेसिनविनै मजदुरमार्फत पानी उत्पादन र बिक्री वितरण गरेको भेटिएकाले उत्पादन गर्न नपाउने गरी शील गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक श्रवण ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए ।

उद्योगमा बोतल वासिङ, फिलिङ र क्यापिङ कार्य स्वचालित मेसिनमार्फत गर्दा मात्रै स्वच्छ पानी उत्पादन हुने अन्यथा मान्छेले हातले गर्दा पानी स्वच्छ नहुने ढुंगानाले बताए । शील गरिएका उद्योगहरुले स्वचालित मेसिन जडान गरेर पानी उत्पादन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा नमूना परीक्षण गरेर मापदण्ड पूरा गरेपछि मात्र उत्पादन गर्न दिइने ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment