Comments Add Comment

अहिलेको तीज: संस्कृति कि विकृति ?

म सानो छँदा मेरी आमा तीज मान्न माइती गएको, तीजको दिन महिला दिदी बहिनीहरुले नाचगान गरेको र रातो सारीमा सिंगारिएको देखेको थिएँ । तीजको दिन हामी तनहुँको सदरमूकाम दमौलीमा तीजको गीत रनाचगान हेर्न गएको अहिले पनि ताजै छ । तीज आउनु भन्दा अघि केही दिन अघिदेखि मेरै घर छेउमा हरेक बेलुकी तीजको गीत गाउने र नाँच्ने अभ्यास गरेको पनि मलाई सम्झना छ ।

अहिले मेरी आमा यो संसारमा नभएको करिव पच्चीस बर्ष भएछ । तर, मेरी आमासंगै एउट्टै पिँढी, ढिकी र जाँतो शेयर गर्ने मेरी काकी, अरु धेरै आमाहरु अहिले पनि त्यही गाउँमा तीज मान्दै हुनुहुन्छ । र, अहिलेका नयाँपुस्ताका दिदी बहिनीहरु पनि त्यही गाउँमा तीज मान्दै हुनुहुन्छ । अहिले त्यही ठाउँमा मेरी काकीको लागि तीज मान्ने चलन र अहिलेका नयाँ पिँढीका दिदी बहिनीहरुका लागि तीज मान्ने चलनमा धेरै फरक छ ।

अहिले समयले धेरै नेटो काट्यो । सहर बजारमा हामी सामाजिक संजालको युगमा छौ । जतातेतै तडक भडक र देखासिकीको प्रभाव छ । धन हुनेले देखाउने धेरै अवसर पाएका छन् भने धन नहुनेले पनि धेरै हेर्ने अवसरपाएका छन् । नयाँ पुस्ता र हुने खाने देखाउन अग्रसर छन् भने पुरानो पुस्ता हेर्नमा नै मख्ख छन् । अनि हुने र नहुने बीचको खाडल अझै धेरै बढेको छ ।

तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान चाढ यो । यो बिषयमा कसैको दुई मत छैन र हुनु पनि हुँदैन । तर, त्यसो भन्दैमा तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो चाढ बनाउनु पर्छ भन्ने पनि हैन ।

तीज आउनु भन्दा करिव एक महिनादेखि अहिलेसम्म सामाजिक संजाल र शहर बजार हेर्ने हो भने मुख्यतया तीजको तडक भडक बाहेक अरु बिषय छायाँमा परेका छन् । सबै तिर रातो सारी, गरगहना, नाच गान, भोजभतेरले शहर बजारका हरेक जसो घर, टोल, बस्ती र बजार तातेका छन् ।

हिन्दु नेपाली संस्कृतिमा तीजको ठूलो महत्व छ । त्यसो त तीज मात्रै किन हरेक चाढ पर्व धर्म र संस्कृतिका हिसावले उत्तिकै महत्वपूर्ण हुन्छन सबैको लागि । तर, अहिले नेपाली हिन्दुहरुका लागि सबै भन्दा ठूलो चाढमानिने दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूर्ण देखिएको छ । यो बिषय केहीका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको बिषय बनेको महसुस भएको छ ।

तीजसँग सम्बन्धित केही कुराहरु मेरो मनमा धेरै दिन देखि खेल्दै आएका छन् । त्यही बिषय मैले अहिले यहाँ मेरो व्यक्तिगत बिचारको रुपमा प्रस्तुत गर्दैछु ।

धर्म: तीजको महत्व धार्मिक दृष्टिकोणले ठूलो छ । आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर नेपाली महिलाहरु पतिको सुस्वास्थ्य, दिर्घायू र आफ्नो मनोकामना पुरा गर्न तीजको ब्रत बस्ने प्रचलन छ । धर्मको हिसावलेभन्ने हो भने तीज सिर्फ एक दिन हो । तर, अहिले यो पर्व एकदिनको मात्र रहेन । सामाजिक रुपमा हुने खाने नेपाली महिलाहरुले भेटघाट गर्न, नांचगान गर्न र मनोरंजन गर्नका लागि एक महिना भन्दा लामो पर्व भएको छयो पर्व ।

तीजको दिन दिनभर भोकै बस्नुपर्ने भएको हुनाले अघिल्लो दिन राती दर खाने चलन भएको हुनुपर्छ । तर, अहिले तीज भन्दा एक महिना अघि देखि नै दर खाने र खुवाउने प्रचलन छ । हरेक घरघरमा, कार्यालयहरुमा, संघ-संस्थाहरुमा, टोल टोलमा दर खाने र खुवाउने जता तेतै देखिन्छ । त्यसैले अहिलेको यो तीज मान्ने चलन के हाम्रो धर्मको मर्मसंग मेल खान्छ ? यो विषय सोचनीय छ ।

संस्कृतिः सामान्य अर्थमा कुनै राम्रो प्रचलन धेरै समयदेखि मान्दै आएको र समाजले चलायो भने संस्कृती हुन्छ । संस्कृती सुधारिएको र राम्रो प्रचलन हो । कुनै प्रचलनले समाजलाई नराम्रो वानकारात्मक प्रभाव पार्यो भने त्यो बिकृती हुन्छ ।

तीज हिन्दु धर्मसंग मात्रै जोडिएको छैन, यो नेपाली समाजको संस्कृती पनि हो । तीजको अवसरमा नांचगान गर्ने, दिदी बहिनी माइती घर जाने, भेटघाट गर्ने, राम्रो लुगा लगाउने आदि प्रचलनसंस्कृतीसंग सम्बन्धित छन् । तर, अहिले यो प्रचलन हुने खाने महिलाले तडक भडक गर्ने र सामाजिक संजालमा देखाउने पर्वको रुपमा चिनिन थालेको छ । यसको सामाजिक प्रभाव निकै गहिरोहुन सक्छ ।

देखासिकी र तडकभडक: पल्लो घरमा सबै मिलेर तीजको दर खाए, हाम्रो घरमा पनि त्यस्तै गर्नु पर्छ । काकाको बुहारीले नयाँ डिजाइनको तिलहरी लगाइन, मैले पनि त्यस्तै वा त्यो भन्दा राम्रोलगाउनु पर्छ । अर्को अफिसमा सबैले दिउसै तीजको भोज खाए, हामीले पनि हाम्रो अफिसमा भोजको आयोजना गर्नुपर्छ । यी देखासिकीका केही प्रतिनिधिमुलक उदाहरणहरु हुन् ।

समग्ररुपमा नेपाली समाज र अहिलेको पुस्ता देखासिकी र तडक भडक तर्फ उन्मुख छ । यो कुराको प्रभाव अरु चाढपर्वभन्दा तीजमा धेरै देखिन्छ । हुने खानेले पोहोरको लुगा र गहना भन्दा योबर्षको फरक लगाउनु पर्ने के बाध्यता छ ? धेरै अरुको नक्कल गर्नुपर्ने कसैलाई आवस्यकता किन हुन्छ ? आवस्यकभन्दा धेरै भोज भतेर किन गर्नुपर्ने हुन्छ ? यी बिषयमा हामीले ध्यान दिनुजरुरी छ ।

आर्थिक भार: हरेक पर्व र संस्कृतीसंग पैसा वा आर्थिक प्रभाव जोडिएको हुन्छ । तीज पनि आर्थिक कुराबाट अलग हुन सक्दैन । नेपाली सहर बजारमा फेसन, गरगहना र भोज भतेरको सन्दर्भ हेर्नेहो भने अहिले तीज सबै भन्दा महँगो पर्व भएको भान हुन्छ । महिलाहरुले मात्रै मान्ने पर्व भए पनि यो पर्व महँगो छ ।

हुनेखानेले समाजमा देखाउने प्रचलनले खर्च गर्न नसक्ने नेपालीहरुमा पर्ने प्रभावको बारेमा नेपाली समाजशास्त्री र अर्थशास्त्रीहरुले अध्ययन र अनुसन्धान गर्ने बिषय हो । आशा छ, यो बिषय पनिकुनै न कुनै दिन नेपाली समाजमा उठ्नेछ र हाम्रो समाज सकारात्मक दिशातिर उन्मुख हुने छ ।

सामाजिक सञ्जालको प्रभाव: नेपाली समाजमा तीज चाहिनेभन्दा बढी तडक भडक हुनुमा सामाजिक सञ्जालको धेरै ठूलो भूमिका छ । अहिले सामाजिक सञ्जालमा देखाउनका लागि नयाँ नयाँ लुगार गरगहना लगाउने, भोज भतेर गर्ने, नांचगान गर्ने जमात बढ्दो छ । सामाजिक सञ्जाल विशेष गरी शहरी क्षेत्रमा हुने खानेको लागि देखाउने माध्यम बनेको छ हो ।

अहिले पनि मेरो गाउँमा मेरो काकी, धेरै आमाहरु, भाउजु र दिदी बहिनीहरुलाई सामाजिक सञ्जालको ‘स’ पनि थाहा छैन । उनीहरुलाई पहिलेको तीज र अहिलेको तीज मान्ने कुरामा तात्विकअन्तर छैन । फरक छ त यो नेपाली समाजमा तीज र हाम्रो पारिवारिक र सामाजिक मूल्य वा मान्यतालाई हेर्ने, देख्ने र भोग्ने प्रवृतिमा ।

सरसर्ती हेर्दा नेपाली महिलाहरुले तीज मानेर नेपाली धर्म र संस्कृति जोगाएको, महिला सशक्तीकरणको अभियानले नेपाली महिलाहरु खुला रुपमा बाहिर आएको र अहिले नेपाली महिलाहरुको आर्थिक हैसियत बढेको तर्कपनि गर्न सकिन्छ । तर, यसो हो भने धर्मको र संस्कृतिको नाममा एक दिन मात्रै तीजलाई धुमधामसंग माने हुन्न र ?

नेपाली महिलाहरु सशक्त, सचेत र सबल भएका हुन् भने खै त उनीहरुले गाउँ घरमा बुहारीको नाउँमा, बोक्सीको नाउँमा, दलितको नाउँमा, एकल महिलाको नाउँमा वा अन्य कुनै नाउँमा पिल्सिएका, शोषित पीडितमहिलाहरुका लागि काम गरेका ? यदि हुने खाने महिलाहरुले शहर बजारमा दर खानको लागि, भोज भतेरको लागि र महंगा लुगाफाटा र गरगहनाको लागि खर्च गर्ने रकम यदि बिकट वा कुनै गाउँमा बस्ने महिलाहरुकोहितमा खर्च गर्ने हो भने हजारौं महिला दिदी बहिनीहरुको कल्याण हुन्छ । उनीहरु पनि सचेत, सबल र आत्मानिर्भर हुन सक्छन् ।

त्यसो त, तीजको अवसरमा अहिले पनि केही नेपाली महिला र संघ संस्थाहरुले केही सामाजिक कार्य नगर्ने हैनन् । तर, यो निकै नगन्य छ ।

जबसम्म नेपालका हरेक सुगम वा दुर्गम कुना कन्दरामा बस्ने नेपाली दिदी बहिनीहरुले एक छाक मीठो खाएर र एक सरो राम्रो लगाएर तीज मान्न सक्ने हैसियत बन्दैन तबसम्म हाम्रो समाजमानेपाली महिलालाई सबल, सक्षम र सशक्त बनाउन धेरै काम गर्नुपर्छ भन्ने बुझ्नुपर्छ ।

सामाजिक र पारिवारिक सद्भाव कायम गर्न, आफ्नो माइती, साथीसंगीसँगको सम्बन्ध दिगो र सुमधुर राख्न, मनोरञ्जन गर्न, सुख दुख साट्न, धार्मिक र सांकृतिक दृष्टिकोण आदिका हिसावले तीज पर्वको नेपालीसमाजमा ठूलो भूमिका छ । तर, तीज यी कुरामा मात्रै सीमित नहुँदा कतै यो विकृतीका रुपमा तीजले सामाजिक र पारिवारिक विभाजन र बिसंगती त ल्याउने हैन ? यो कुरामा हामी सबै सजक र सचेत हुनु जरुरी छ ।

नेपाली महिलाहरुको तीज सभ्य, सुसंस्कृत र उल्लासमय बनोस । मेरो सबैमा तीजको शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment