२१ भदौ, काठमाडौं । काठमाडौंको स्वयम्भूमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव भेटिएको छ ।
मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको शव भेटिएको हो ।
विगत तीन दिनदेखि स्वयम्भू हाइटमा सडक छेऊ पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि बिहीबार बिहान प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर हेरेको थियो ।
‘क्यूआरटी टोलीले टर्च बालेर हेर्दा एक जना सुतिरहेको जस्तो देखियो’, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले अनलाइनखबरसँग भने, ‘त्यसपछि साेधीखाेजी र खोजतलास गर्दा युवक मृत भेटिएका हुन् ।’
अनुसन्धानमा संलग्न अधिकारी श्रेष्ठको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको बताउँछन् । जहाँ उनले बान्ता पनि गरेका छन् ।
उनको शरीरमा चोटपटक देखिएको छैन भने कारको चाबी र घडी अगाडिको सिटमा राखेको भेटिएको छ ।
शेयर कारोबारमा ओरालो लागेपछि…
मृतक श्रेष्ठ शेयर कारोबारी भएको खुलेको महाशाखाका एक अधिकारी बताउँछन् ।
उनले सानै उमेरमा उल्लेख्य आम्दानी गरेका थिए । तर, पछिल्लो समय उनको कारोबार आरालो लाग्ने क्रममा थियो ।
‘धेरै मान्छेसँग उनको ऋण रहेको पनि देखिएको छ’, ती अधिकारीले भने, ‘१८ गतेसम्म उनको मोबाइल एक्टिभ देखिएको छ । त्यसपछि स्वीच अफ देखिन्छ ।’
प्रारम्भिक रिपोर्टले उनको हत्या भएको संकेत नगरे पनि वास्तविकता भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि नै खुल्नेछ ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्, ‘शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगिसकेका छौं । रिपोर्ट आएपछि मात्रै के हो भन्न सकिएला ।’
प्रतिक्रिया 4