Comments Add Comment

विदेश नीतिमा असफल मोदीः भारतसँग टाढिँदैछन् सबै छिमेकी

सन् २०१४ मे २६ मा नरेन्द्र मोदीले भारतको प्रधानमन्त्री पदको सपथ लिँदा पूर्ववर्ती मनमोहन सिंहभन्दा फरक विदेश नीति लिने सन्देश दिन खोजेका थिए ।

उनले सार्क देशका सबै प्रधानमन्त्रीलाई शपथ ग्रहण समारोहमा निम्त्याए, जसले धेरै कूटनीतिज्ञलाई मोदीले विदेश नीतिमा भारतको हितलाई केन्द्रमा राखेको भान परेको थियो ।

भारतीय जनता पार्टीले नेहरुवादी नीतिहरुमा भारतीय हितलाई उपेक्षा गरिएको भन्दै आलोचना गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि रुस र अमेरिकाको नेतृत्वमा दुई ध्रुवमा बाँडिएको विश्वमा नेहरुले असंलग्नताको बाटो समातेका थिए । त्यसले भारतलाई केही फाइदा भएको छैन भनेर आलोचना गरिन्छ ।

मोदीले आफ्नो कार्यकालमा अमेरिकासँग सम्बन्ध अझै सुमधुर बनाउन प्रयास गरे भने भारतको पारम्परिक मित्र रुससँग पनि नजिकिने प्रयास गरे । हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई लिएर भारत सरकारले अमेरिका, जापान र अष्ट्रेलियासँग मिलेर चौपक्षीय सुरक्षा सम्वाद पनि अगाडि बढाएको छ ।

मोदीको विदेश भ्रमणका उपलब्धी के ?

भारतीय प्रधानमत्री मोदीले आफ्नो कार्यकालमा अत्यधिक विदेश भ्रमण गरे । यस्तो शैलीले बदलिँदो विश्वमा भारतको प्रभावशाली स्थान बनिरहेको जस्तो देखियो । यसै क्रममा भारत प|mान्सलाई पछाडि पार्दै विश्वको छैठौं ठूलो अर्थव्यवस्था बन्यो ।

केन्द्रको सरकारले सीमा पार म्यानमार र पाकिस्तान प्रशासित काश्मिरमा सैन्य कारवाहीको दाबी गर्‍यो । मोदीले उनी आतंकवाद र चरमपन्थीसँग दबेर बस्दैनन् भन्ने देखाउने कोसिस गरेका छन् । दोक्लम सीमामा चीनले निर्माण कार्य सुरु गरेपछि भारतले छिमेकी देश भुटानका लागि आफ्नो फौज पठाइदियो ।

तर, के विदेश नीतिको मोर्चामा सबैकुरा ठिकठाक छ ? होइन, यदि छिमेकी देश र दक्षिण एशियामा भारतको विदेश नीतिको आँकलन गर्ने हो भने धेरै झट्का लाग्छ ।

पाकिस्तानका लागि ठोस नीति छैन

पूर्व कूटनीतिज्ञ र जेडीयू नेता पवन वर्मा भन्छन्ः

पाकिस्तानसँग भारतका सबै सरकारको खराब सम्बन्ध रहँदै आएको छ । तर, यो सरकार केही कन्फ्युज्ड छ । पाकिस्तानसँग कुराकानी हुन्छ हुँदैन यसमा कुनै स्पष्टता छैन । जम्मु कश्मिरमा बीजेपीको गठबन्धन सरकार थियो तर, ठीकसँग चल्न सकेन ।

एकातिर सरकार कडा बनेको जस्तो देखिन्छ, अर्कोतिर पठानकोटमा पाकिस्तानको गुप्तचर एजेन्सी -आइएसआई) लाई बोलाउँछ । दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार विदेशमा भेट्छन् । सर्जिकल स्ट्राइक गरिँदा त्यसको यस्तो प्रचार गरियो कि मानौं पाकिस्तानमा भयंकर नोक्सान भएको छ ।

भारतीय विदेश नीतिका विशेषज्ञ ब्रहृम चेलानीले ‘द डिप्लोम्याट’लाई दिएको एक अन्तवार्तामा भनेका छन्ः

दोक्लम विवादमा चीनले चलाखीपूर्ण रुपमा रणनीतिक जीत हासिल गरेको छ । चीन विवादित इलाकामा निर्माण कार्य गरिरहेको छ । अब भुटानले आफ्नो सुरक्षालाई लिएर भारतमाथि भरोसा गर्नुभन्दा पहिले दुईपटक सोच्नेछ ।

दक्षिण एसिया र यसको नजिकका देशसँग भारत टाढा भएको छ । नेपाल, श्रीलंका, मालदिभ्स, अफगानिस्तान र ईरानमा भारतको स्थिती कमजोर भएको छ । यो भारतको अदूरदर्शीताका कारण भएको हो । सुरुमा मोदीले मजबुत सुरुवात गरेका थिए तर, उनी अगाडि बढ्दै जाँदा असफल भए ।

भूराजनैतिक दूरदर्शीताको अभाव

विदेश नीतिमा भारतको भूराजनीतिक दूरदर्शीताको अभावले उसको प्रभाव आफ्नै इलाकामा पनि राम्रो नरहेको धेरै आलोचकहरुको भनाइ छ ।

वरिष्ठ पत्रकार भारत भूषण भन्छन्ः

‘बीजेपीले कांग्रेसको जुन नीतिहरुको आलोचना गथ्र्यो, आँफै त्यसमा नराम्रोसँग रुमल्लिएको छ । मोदी सरकार अमेरिकाको लागि सबै कुरा दाउमा लगाइरहेको छ तर, अमेरिकाले इरानसँग तेल आयात गर्न दिइरहेको छैन । रुसबाट हातहतियार किन्न दिइरहेको छैन ।

न तपाईं एनएसजीका सदस्य बन्न पाउनुभएको छ न पाकिस्तानबाट कुनै आतंककारीलाई ल्याउन सक्नुभएको छ । माल्दिभ्समा पूर्णरुपमा चीन हावी भएको छ । तपाईंले एउटा हेलिकोप्टर समेत राख्न पाउनुभएको छैन । बंगलादेशमा विपक्षी पार्टीसँग तपाईंको कुनै सम्बन्ध छ्रैन । दोक्लाममा जे भयो, त्यसले भुटान पनि बिच्किएको छ ।

मानिसहरुले विदेश नीतिको मामिलामा मोदीले सुझबुझ देखाउँछन् भन्ने आशा गरेका थिए तर, यहाँ त कुनै दुरदर्शीता छैन ।

दोधारे नीति

कैयौं आलोचक दशकौंदेखि प्रतिबन्ध झेलिरहेको इरानको आफ्नै खालको प्रभाव रहेको मान्छन् । इरानको तुलनामा भारत ठूलो देश हो तर, उसको आफ्नै इलाकामा पनि प्रभाव छैन ।

माल्दिभ्समा अब्दुल्ला यामिनको सरकार आएपछि भारतको स्थिति धेरै कमजोर भएको छ । माल्दिभ्सलाई भारतले दुई हेलिकप्टर दिएको थियो, जसलाई उसले फिर्ता लैजान भनिरहेको छ ।

यसै वर्ष फेब्रुअरीमा राष्ट्रपति यामिनले माल्दिभ्समा संकटकाल लगाएर विपक्षी नेता र न्यायधीशहरुलाई गिरफ्तार गरेका थिए । भारतले संकटकालको विरोध गरेको थियो र त्यसबेलादेखि माल्दिभ्स चीन र पाकिस्तानको नजिक गएको छ ।

भारत माल्दिभ्सको बदलिँदो परिस्थितिलाई राजनीतिक दबावको माध्यमले सुधार्न असफल भएको छ । यहाँसम्म कि भारतीय कम्पनी जीएमआरसँग माल्दिभ्सले ५११ मिलियन डलर लागतमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको सम्झौता नै रद्द गरिदिएको छ ।
माल्दिभ्स मात्रै होइन, चीनको प्रभाव श्रीलंका र नेपालमा पनि बढिरहेको छ ।

टाढिदैँछन् छिमेकी

सन् २०१५ मा श्रीलंकामा चुनाव भएपछि मैत्रिपाला सिरिसेना राष्ट्रपति बने । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेको तुलनामा मैत्रिपालालाई भारतको नजिक मानिन्थ्यो ।

तर, सन् २०१७ मा श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनलाई सुम्पिदियो । हुन त धेरैजसो चिनियाँ प्रोजेक्ट महिन्दा राजापाक्षेको शासनकालमै सुरु भएका थिए । राजापाक्षेको पार्टी श्रीलंकामा अहिले पनि लोकप्रिय छ । हालै राजापाक्षेको पार्टीले स्थानीय चुनावमा जीत हासिल गरेको थियो ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी दुईपटक श्रीलंका गइसकेका छन् । जब हम्बनटोटा बन्दरगाह श्रीलंकाले चीनलाई सुम्पिदियो,े त्यतिखेर श्रीलंकामा चीनको प्रभावलाई रोक्न असफल भएको भनेर मोदी सरकारको आलोचना भयो ।

मोदीको चार वर्षको शासनकालमा नेपालसँग पनि सम्बन्ध बिगि्रयो । सन् २०१५ मा भारतले लगाएको अघोषित नाकावन्दीको कारण लामो समयसम्म नेपालमा अत्यावश्यक सामानहरुको अभाव भयो । यो नाकावन्दी नेपालको नयाँ संविधानमा मधेस केन्द्रीत दलहरुको आपत्तिको कारण लगाइएको थियो ।

यसक्रममा नेपालको राजनीतिमा भारतविरुद्ध एक किसिमको आक्रोश उत्पन्न भयो र चीनप्रति सहानुभूति पैदा भयो । नेपालको संविधानमा कुनै संशोधन नगरे पनि भारतले नाकाबन्दी फिर्ता लियो तर, त्यतिखेरसम्म परिस्थिति हातबाट निस्किसकेको थियो ।

सन् २०१८ मा केपी ओली फेरि प्रधानमन्त्री बने । त्यतिखेर उनले चीनसँग विभिन्न सम्झौता गरे । नेपाल चीनको महत्वाकांक्षी योजना ‘वान बेल्ट वन रोड’ मा पनि सहभागी भयो । सार्क देशमा भूटानलाई छोडेर सबै देश चीनको यो परियोजनामा सहभागी भएका छन् । यो भारतको लागि ठूलो झट्का मानिन्छ ।

अफगानिस्तानमा पनि तालिबानले हारेको छैन । अन्तिममा तालिवान र पाकिस्तानको सम्झौताबाटै कुनै बाटो निस्कन्छ भनिन्छ । अफगानिस्तानको सत्तामा तालिबानको प्रभाव बढेमा बदलिँदो अवस्थामा उनीहरु भारतको सट्टा पाकिस्तानलाई नै महत्व दिनेछन् ।

पछाडि छुट्दैछन् मित्रहरु

इरानसँग भारतको राम्रो सम्बन्ध थियो । तर, भारत यहाँ पनि उसले इरानसँग तेल आयात गर्ने विषयमा अमेरिकालाई सम्झाउन असफल रहृयो । इरानमा भारतले चाबहार बन्दरगाह विकास गर्न चाहेको छ । तर, यसको लागि भारतलाई अमेरिकाको प्रभावबाट मुक्त हुन पर्नेछ ।

बंगलादेशमा यसै वर्ष दक्षिणी र उत्तरी बंगलादेशलाई जोड्ने पुल तयार हुँदैछ । यो पुल चीनले बनाइरहेको छ । ६ किलोमिटर लामो यो पुलले दुवै क्षेत्रलाई सडक र रेलको माध्यमले जोड्नेछ । बंगलादेश छुट्टै देश बनेपछि यो इन्जिनियरिङको सबैभन्दा चुनौतीपूर्ण परियोजना हो, जुन बनेर तयार हुँदैछ ।

यो पुल पद्या नदीको एक किनारदेखि अर्को किनारसम्म छ । फाइनान्सियल टाइम्सका अनुसार यो पुलको निर्माणमा चीनले ३.७ अर्ब डलर रकम लगाएको छ । चीनले यसमा पैसा मात्रै दिएको छैन, इन्जिनियरिङमा पनि मद्धत गरेको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले पनि बंगलादेशमा यो पुललाई लिएर एक रिपोर्ट प्रकाशित गर्दै दुई देशबीच बढ्दै गरेको मित्रताको रुपमा व्याख्या गरेको छ ।

भारतलाई त्यतिखेर अझै ठूलो झट्का लाग्यो, जब बंगलादेशले ढाका स्टक एक्सचेन्जको २५ प्रतिशत सेयर सांघाई र सेन्जेन स्टक एक्सचेन्जलाई ११ करोड ९० लाख डलरमा बेचिदियो । भारतको नेशनल स्टक एक्सचेन्जले किन्न खोज्दा दिएको थिएन ।

भारतीय अधिकारी चीनलाई रोक्न सकियोस् भनेर ढाका पनि गएका थिए तर, यसमा असफलता हात लाग्यो । ब्लुमबर्गको रिपोर्ट अनुसार चीन यसले इलाकामा राजनीतिक शक्तिको प्रयोग गरिरहेको तर्क भारतले दिएको थियो ।

यस्तो झट्का किन ?

आखिर भारतलाई यति झट्का किन लागिरहेको छ ? पवन बर्मा भन्छन्ः

वर्तमान सरकारको विदेश नीतिमा प्रष्ट रणनीतिको अभाव छ । हामी प्रतिक्रियामा सिमित छौं । पाकिस्तानसँग त झनै रणनीतिक सोचको विशेष खडेरी छ ।

चीनको जुन तरिकाले प्रभाव बढिरहेको छ त्यसले हाम्रो कूटनीतिक असफलतालाई दर्शाउँछ । चाणक्यको देशमा कूटनीति बिनाको रणनीति चलिरहेको छ ।

मालदिभ्समा यति धेरै कुराहरु अचानक त भएका होइनन् । हरेक चीजको पृष्ठभूमि पहिलेदेखि तयार हुन्छ । तर, भारत सरकार के गरिरहेको थियो ? त्यहाँ हाम्रो प्रभाव पुरै सकिएको छ ।

पवन बर्मा भन्छन्ः

सरकारमा कहीँ न कहीँ प्रणालीगत कमी छ । रणनीति बनाउँदा विदेश मन्त्रालयलाई उपेक्षा गरिएको छ ।

मलाई मात्रै होइन, सुष्मा स्वराजलाई पनि उनको मन्त्रालयको उपेक्षा भइरहेको कुराको महसुस भएको हुनुपर्छ । अहिलेको सरकारसँग विदेश नीतिमा रणनीति र दूरदर्शिताको अभाव छ ।

(बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment