Comments Add Comment

मुलुकी संहितामा भ्वाङ ! बच्चा जन्माएपछि बहुविवाह सदर ?

करिब चार वर्षअघिको प्रसंग हो । चिनजानकै एकजना दाइको काठमाडौंकी रैथाने युवतीसँग छुट्नै नसक्ने गरी गहिरो माया बस्यो । प्रेमको नशामा लठ्ठ परेका उनले जसरी भए पनि त्यही केटीसँग विवाह गर्ने जिद्दी गरे । दाइ विवाहित भएकाले यो पंक्तिकारले उनलाई सम्झाउने प्रयास गर्‍योे । तर, सकिएन । उनकी प्रेमिका पनि हर हालतमा सम्बन्ध स्थापित गर्ने पक्षमा थिइन् ।

उनीहरुलाई विद्यमान मुलुकी ऐनले विवाह गर्न बन्देज लगाएको थियो । साविक मुलुकी ऐनको बिहाबारीको महलको १० नम्बरमा साथमा श्रीमती छँदै अर्को विवाह गर्‍यो भने दुबैजना जेल जानुपर्छ । एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुनेछ ।

स्वास्नीमानिसले जानीजानी त्यस्तो विवाह गरेमा वा स्वास्नी भै बसेमा निजलाई पनि सोही बमोजिम सजाय हुनेछ भन्ने व्यवस्था छ कुनै हलामता मिल्दैन भन्ने पंक्तिकारको सुझाव थियो । त्यसैले कुनै हालतमा बहुविवाह गर्न मिल्दैन भन्ने तर्क मैले पेश गरें।

म कानूनको विद्यार्थी । त्यसैले उनले बहुविवाह गर्न कानूनले प्रतिबन्ध लगाएकाले नै कानुनी छिद्र खोज्न मलाई बोलाएका रहेछन् । कानूनमा प्रष्ट लेखिएको कुरामा कसरी छिद्र खोज्नु भन्ने जवाफ दिएँ मैले ।

उनले तिम्रो त वकिलहरुसँग राम्रो चिनजान छ यसो सल्लाह गरन कोही न कोही त खुरापाती वकिल भेटिएला नि भनेर सुझाए । उनले धेरै करकर गरेपछि आफ्नो सर्कलका वकिलसँग केही उपाय लाग्छ कि भनेर त्यस्तो उपायको खोजी गर्ने कोसिस गरिदिउँला भनिदिएँ ।

धेरै वकिलसँग परामर्श गरेपछि नभन्दै एउटा साँच्चिकै खुरापाती वकिल फेला पारियो । उनले बहुविवाहलाई यसरी कानुनी मान्यता प्रदान गर्न सकिन्छ भन्ने खुराफाती ‘आइडिया’ फुराए ।

कानुनी छिद्र फेला नपारे पनि ‘न्यायका नौ सिङ हुन्छन्’ भनेजस्तै एउटा सिङले बाटो फेला पर्‍यो । ती वकिलले फेला पारेको कानूनी भ्वाङ यस्तो थियो-
केटाले दोस्रो विवाह गर्‍यो भने बहुविवाहमा सीधै जेलको चिसो छिँडीमा जाने हो । त्यसका लागि काठमाडौं जिल्ला अदालतले गरेको एउटा फैसला छ, त्यो गतिलो नजिर बन्न सक्छ । के गर्ने त भन्दा केटीको तर्फबाट नाता कायम मुद्दा दर्ता गर्न लगाउने । सँगै बसेको पति/पत्नीको विवाहेत्तरको सम्बन्ध रहेको प्रमाण पेश गर्ने । अनि अदालतले नाता कायम गरिदिन्छ । अदालतमा यसअघि पनि एउटा यस्तै ‘केस’ भएको रहेछ ।

वकिलले सुझाएको खुराफाती आइडिया ‘दृष्टिविहीनका लागि आँखा’ भनेजस्तै भैदियो ती विवाहित दाइका लागि । उनले उत्साहित हुँदै उनकी प्रेमिकालाई यो सुझाव दिए ।

भित्री सल्लाह अनुसार नाता कायमको फिराद लिएर प्रेमिका काठमाडौं जिल्ला अदालतमा गइन् । नभन्दै अदालतले प्राप्त प्रमाणका आधारमा नाता कायम हुने ठहर्छ भन्ने त्यस्तै किसिमको फैसला गरिदियो । त्यसपछि उनको कान्छी भित्र्याउने सपना साकार भयो ।

अदालतले नै नाता जुराइदिएपछि उनीहरुलाई बहुविवाहको मुद्दाले छुने कुरै भएन । मुद्दा लागिहाले पनि अदालतले नै नाता कायम गराएर श्रीमती बनाइदियो, मैले अदालतको फैसलाको सम्मान गरेको हुँ भनेर जवाफ दिएपछि बहुविवाहको मुद्दाबाट सजिलै जोगिने अवस्था भयो ।

यो त पुरानो मुलुकी ऐनको र त्यो समयको प्रशंग हो । त्योबेला बहुविवाह गर्न नपाउने प्रष्ट कानुनी व्यवस्था हुँदाहुँदै छिद्र खोजेर बहुविवाह गर्नका लागि न्यायको एक सिङले यसरी काम गरेको थियो ।

नयाँ मुलुकी संहितामा झन् ठूलो भ्वाङ !

हालै प्रचलनमा आएको नयाँ मुलुकी संहितामा त बहुविवाह गर्नका लागि न्यायको सिङ र छिद्र खोज्नै पर्दैन, झनै ठूलो भ्वाङ भेटिन्छ । मुलुकी देवानी संहिता, पारिवारिक कानूनको विवाहसम्बन्धी व्यवस्थामा यस्तो ‘ब्ल्याक होल’ देखिन्छ ।

जस्तै- संहिताको दफा ७४ पुरुष र महिलाको शारीरिक सम्पर्कबाट बच्चा जन्मेपछि स्वतस् विवाह भएको मानिने व्यवस्था छ । बहुविवाह गर्ने इच्छा हुनेले मन परेकी केटीसँग शारीरिक सम्बन्ध राखेर बच्चा जन्मायो भने अब कानूनले नै विवाह गराइदिन्छ ।

अहिलेको नयाँ कानूनले अविवाहित कुमारी आमा बन्छु भन्ने महिलाहरूको चाहना र आवाजलाई पनि मान्यता दिएको छैन

त्यही व्यवस्थाको दफा ७० मा विवाह भैसकेको पुरुष वा महिलालाई विवाह गर्न, गराउन हुँदैन त भनेको छ । तर, ७४ ले शारीरिक सम्पर्कबाट शिशु जन्माएपछि सौता हाल्न छुट दिएको छ । किनकि, उक्त दफामा ‘कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाको स्वतः विवाह भएको मानिने छ’ भन्ने व्यवस्था गरिएको छ ।

के त्यसो भए बच्चा जन्माएपछि जति जनासँग पनि विवाह गर्न पाइन्छ त ? यो नयाँ मुलुकी संसिहताभित्र देखिएको कानूनी भ्वाङ हो । यस्तो विरोधाभाषलाई बेलैमा सच्याइएन भने महिला हिंसा बढ्ने खतरा नयाँ संहिताले देखाएको छ ।

पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह र हाडनाता करणीमा सजाय हुने नाताको व्यक्तिबीच भएको विवाहलाई मात्र देवानी संहिताले बदर हुने विवाह भनेको छ । अविवाहित पुरुष र महिलाबीच हुने शारीरिक सम्पर्कबाट जन्मेको शिशु भन्ने कुरा उल्लेख नभएकाले यो व्यवस्था विवाहित पुरुषको हकमा पनि लागू हुन सक्छ । यसको अर्थ, बच्चा जन्मिएपछि दोस्रो विवाह स्वयं कानूनले गराइदिएको छ । अविवाहित पुरुष भए त ठिकै हो, तर, विवाहित पुरुष रहेछ भने त्यस्तो पुरुषलाई पनि कानूनले नै बहुविवाह गराइदिने गरी नयाँ मुलुकी संहिताले ‘लुप होल’ छाडिदिएको छ ।

अपराध संहिताको विवाहसम्बन्धी कसुरको दफा १७५ ले बहुविवाह गर्न बन्देज लगाएको छ । र, त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । त्यतिमात्र होइन, त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासमेत गरेको छ ।
कुनै विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा अर्कोे विवाह गरेमा र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाको विवाह भएमा स्वतः बदर हुन्छ भन्ने दफा १७५ बाट अर्थ लगाउन सकिन्छ ।

तर, अर्कोतिर देवानी संहितामा चाहिँ बच्चा जन्माएपछि स्वतः विवाह भएको मानिने भनिएको छ । देवानी संहितालाई मान्ने हो भने बच्चा जन्मिइसकेको अवस्थामा अपराध संहिताको व्यवस्थाबमोजिम बहुविवाहको कसुरमा सजाय भोग्नुपर्ने अवस्था आउँदैन र मुद्दा पनि चल्न सक्ने अवस्था छैन । किनभने बच्चा जन्मिइसकेपछि स्वतः विवाद भएको मानिने छ ।

नयाँ कानूनमा भएको यस्तो विरोधाभाषपूर्ण र अस्पष्ट प्रावधानले अर्काे विवाह गर्नलाई अब खुरापाती वकिल र न्यायको सिङ खोज्नुपर्ने अवस्था छैन, कानूनको छिद्र हेरे पुग्छ । त्यो पनि धेरै सजिलो बाटोबाट ।

मन परेकी केटीसँग दोस्रो विवाह गर्ने इच्छा जाग्यो भने पहिले बच्चा जन्माउ अनि श्रीमती बनाऊ भनेको हो ? बच्चा जन्माउना साथ श्रीमान श्रीमती ठहर्ने हो भने घरमा भएकी श्रीमतीको हकमा के हुने ? उनको भविष्यको विषयमा नयाँ कानून मौन छ ।

बच्चा भएपछि बच्चाकी आमालाई कानूनले पत्नी बनाइदिएको छ र यो प्रावधानलाई धेरै पुरुषहरूले दुरुपयोग गर्न सक्ने खतरा छ । हुन त केही केही पुरुषहरु यसमा फस्न पनि सक्छन् । कुनै अफिसको हाकिमले प्रमोशनको गरिदिने लोभमा अथवा कुनै फाइदा गराइदिने प्रलोभनमा कुनै महिलासँग शारीरक सम्बन्ध राख्छ र उक्त महिलाबाट बच्चा जन्मिछ भने त्यो एक किसिमको प्रलोभनमा पारेर गरिएको बलात्कार नै हो । तर, राजीखुशीमा हुने त्यस्तो सम्बन्धलाई कानूनले बलात्कार हो भन्ने मान्यता दिएको छैन । मात्रै के भनेको छ भने शारीरिक सम्बन्धबाट बच्चा जन्मिएको छ भने स्वतः विवाह भएको मानिने छ ।

कानून, मान्यता र प्रचलनले विवाह एवं शारीरिक सम्पर्कलाई एउटै मान्दैन । शारीरिक सम्बन्ध र विवाह फरक कुरा हुन् । तर, अहिलेको नयाँ कानूनले अविवाहित कुमारी आमा बन्छु भन्ने महिलाहरूको चाहना र आवाजलाई पनि मान्यता दिएको छैन ।

बलात्कारबाट बच्चा जन्मिएको हकमा मात्रै यो प्रावधान राखेको भए उपयुक्त हुन्थ्यो । तर, राज्यले नै विवाह गराइदिने अनौठो प्रवधान संहितामा राखिएको छ । राज्य नै लमी, पुरोहित भएर बहुविवाह गराउने यस्तो अनुचित प्रावधान संशोधन गरेर मुलुकी संहिताबाट हटाउनु नै वेश हुने देखिन्छ ।

सकारात्मक पाटो

हुन त यसको अर्को पाटो पनि छ । पुरुषहरुले अवैधरुपमा दोस्री महिलासँग सम्बन्ध राख्ने, बच्चा जन्माउने अनि उनलाई श्रीमती र छोराछोरीको मान्यता नदिने अवस्था पनि समाजमा रहँदै आएको छ । बाबुले अस्वीकार गरेकै कारणले त्यस्ता सन्तानहरुको नागरिकता बन्न सकेको छैन, उनीहरुले अंश पाउन सकेका छैनन् ।

तर, अब त्यसरी सन्तान जन्माएको अवस्थामा स्वतः विवाह भएको मानिने प्रावधानले अवैध श्रीमती एवं तिनबाट जन्मेका सन्तानले अंश र बंशको अधिकार पाउने ढोका खोलिदिएको छ । यो, चाहिँ एउटा सकारात्मक पाटो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment