२७ भदौ, ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
माल्दिभ्सलाई पराजित गर्दै नेपाल पहिलो पटक २५ वर्षे साफ च्याम्पियनसिप फुटबलको इतिहासमा फाइनलमा पुग्ने लक्ष्यमा छ तर सेमिफाइनल पार गर्नु नेपालको लागि त्यति सजिलो भने छैन । माल्दिभ्ससँग विगतको नतिजालाई हेर्ने हो भने नेपाल निकै पछि छ । तर पछिल्लो समयको नतिजा हेर्ने हो भने नेपालले माल्दिभ्सलाई पराजित गर्दै आएको छ ।
माल्दिभ्सविरुद्ध नेपालको तयारी कस्तो छ ? के माल्दिभ्सलाई नेपालले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छ ? सेमिफाइनल खेलमा माल्दिभ्सविरुद्ध मैदानमा उत्रिदा नेपालको रणनीति के हुनेछ ? यही विषयमा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनसँग अनलाइनखबरकर्मी सरोज तामाङ गरेको छोटो कुराकानी :
माल्दिभ्सविरुद्ध नेपालको जितको आधार चाहिँ के के हुन् ?
माल्दिभ्ससँग जित्ने आधार भनेको समूह चरणको ३ वटा खेल खेल्यौं त्यो पनि राम्रो भयो । दिनानुदिन हामीले सुधार गरिरहेका छौं । सबै खेलाडीले शतप्रतिसत खेलिरहेका छन् । अर्कोतर्फ मसँग भएको बेन्च खेलाडीले सबैले राम्रो गरिरहेका छन् । भोलिको दिनमा पनि मैले दिएको निर्देशन र रणनीति त्यहि निरन्तरता हुन्छ ।
भोलिको सेमिफाइनल बंगबन्धु गोल्डकप र १२ औं साग गेम्सको भन्दा पनि भिन्नै छ । ता की यो साफ च्याम्पियनसिपमा हामी लगातार तेस्रो पटक माल्दिभ्सलाई हराएर फाइनलमा पुग्ने लक्ष्यमा रहेका छौं ।
जहाँसम्म लाग्छ उनीहरूको डिफेन्स लाईन तोड्नका लागि हाम्रा खेलाडी सफल हुनेछन् । भारतविरुद्धको पनि हेर्यौ, वान-टु खेलेर हुन्छ की कसरी हुन्छ हामी आक्रामक खेल्ने शैलीमा छौं ।
माल्दिभ्सविरुद्ध खेल्ने हाम्रो रणनीति चाहिँ के हुनेछ ?
रणनीति भनेको अव अवस्था अनुसार हुन्छ । आक्रामक पनि खेल्नुपर्ने हुन्छ । रक्षात्मक खेल्नु पनि गर्ने हुन्छ । अस्ति बंगलादेशसँग खेल्दा मेरो प्लान ए, बी र सी थियो । त्यो अनुसार पनि हामी जान सक्छौं ।
साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग विगतमा हामी हारेको मात्रै छौं, खेलाडीहरूमा चाहिँ दबाव कत्तिको छ ?
विगत ८-१० वर्षअगाडिको भन्दा पनि २ वर्षअगाडि हामीले कति जित्यौं त्यसमा भर पर्नुहोस् । पहिलेको नतिजाभन्दा पनि २ वर्षअघि देखि माल्दिभ्ससँग हाम्रो नतिजा कस्तो छ त्यसलाई ध्यान दिए राम्रो हुन्छ जस्तो लाग्छ ।
मेरो लगानी, मेरो टिम, मेरो खेलाडी सबैको ध्यान माल्दिभ्सलाई पराजित गर्नु छ । सारा नेपालीलाई खुशी दिलाउनु छ । नेपालले अहिलेसम्म राख्न नसकेको नतिजा दिलाउनु छ ।
भनेपछि माल्दिभ्ससँगको खेल हाम्रो लागि ऐतिहासिक हुनेछ ?
अवस्य पनि नेपालको लागि ऐतिहासिक हुनेछ । र, हामी त्यो इतिहास कायम गर्ने छौं ।
नेपालको लागि ऐतिहासिक खेलमा समर्थकलाई के भन्न चाहनुहुन्छ ?
समर्थक, परिवार र मिडिया भनेको नभई नहुने यन्त्र जस्तै हो । अहिले जति पनि हामीलाई साथ र सहयोग गर्नु भएको छ । ढाकामा जति पनि नेपाली उपस्थित भएर टिमको हौसला र साथ दिनुभएको छ सबैलाई धन्यवाद छ । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4