Comments Add Comment

‘म मूर्ख हुँ, टप भएका मान्छे साहित्यमा लाग्दैनन्’

नेपाली समाजमा स्कुल-कलेजमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीले डाक्टर इन्जिनियर पढ्नुपर्ने मान्यता छ । कथंकदाचित कसैले यस्ता प्राविधिक विषय लिएनन् भने लोकसेवा आयोगमार्फत परराष्ट्र मन्त्रालयमा जागीर खाने लक्ष्य बनाउँछन् । राम्रो पढ्न सक्ने मानिस बैंक वित्तीय संस्थामा जाने अथवा विदेशमा गएर कुनै प्राविधिक विषयमा काम गरेर राम्रो आम्दानी गर्नुपर्छ भन्ने मान्यता पनि नेपाली समाजमा बढ्दै गएको छ ।

तर, महेश पौड्याल त्यस्ता थोरै अपवादमध्ये एक हुन्, जसले सधैं उच्च अंक प्राप्त गरे पनि साहित्यमा आए । अंग्रेजी साहित्य स्नातकोत्तर तहका गोल्ड मेडलिस्ट महेश पौड्याल एमफिलको परीक्षामा पनि प्रथम भए । त्यति मात्र होइन, उनी त्रिभुवन विश्विविद्यालयको उपप्राध्यपक पदमा पनि सबैभन्दा उच्च अंक ल्याएर पास भए । पौड्यालले २७ वर्षको उमेरमै स्नातकोत्तर तहमा शिक्षकका रूपमा प्रवेश पाएका हुन् । विद्यालय तहदेखि नै प्रथम भएका पौड्याल आफ्नो अंग्रेजी राम्रो बनाउन भारतको मणिपुरमा स्नातक तह अध्ययन गर्न गएका थिए । त्यहाँ पनि उनले मणिपुर राज्य टप गरिदिए ।

अहिले महेश पौड्याल नेपाली साहित्यका सबैजसो विधामा कलम चलाउँछन् । उनी कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुवादजस्ता सबै क्षेत्रमा आफूलाई परीक्षण गरिरहेका छन् । भर्खरै ३९ वर्ष टेकेका  महेश पौड्यालका १२ वटा सिर्जनात्मक कृति प्रकाशित भइसकेका छन् भने समालोचना र अनुवाद कृति जोड्दा थप एक दर्जन कृति उनको नाममा जोडिन्छ ।

यो साता नेपाली साहित्यमा तीव्र धावकका रूपमा नाम कमाएका महेश पौड्यालसँग अनलाइनखबरका लागि अश्विनी कोइरालाले गरेको कुराकानी :

तपाईं सधैं प्रथम आउनुको कारण जन्मजात प्रतिभा भएर हो कि यसको कुनै पृष्ठभूमि छ ?

सबै मानिसमा भिन्न खालको जन्मजात प्रतिभा हुन्छ । तर, सबैले मेरो प्रतिभा के हो भनेर थाहा पनि पाउँदैनन् र त्यसमा निखार ल्याउने काम पनि गर्दैनन् । मेरो हकमा के भइदियो भने बुबा इलाममा अंग्रेजी भाषाको शिक्षक हुनहुन्थ्यो र सानैदेखि उहाँले मलाई अध्ययन गर्ने लत लगाइदिनुभयो । मैले आफूमा निखार ल्याउन कहिल्यै अल्छी गरिनँ ।

सधैं प्रथम हुनुको फाइदा के हुँदा रहेछन्, बेफाइदा के हुँदा रहेछन् ?

विद्यालय र कलेजमा आएका जुनसुकै अवसर पनि पहिलो हुने व्यक्तिले प्राप्त गर्छ । शिक्षकहरूले विश्वास गर्नुहुन्छ र उसले थप कुरा सिक्न पाउँछ । माइक समाएर स्टेजमा पठाइदिने, कुनै फरक खालको काम मा पनि जिम्मेवारी दिने, सानोतिनो गल्तीलाई आँखा चिम्लिदिने काम हुन्छ । जब कि त्यही गल्ती अरूले गर्दा त्यसको सजाय निकै फरक हुन्छ ।

अनि बेफाइदा नि ?

धेरै कम सोधिने प्रश्न हो तर मलाई लाग्छ, यो गम्भीर प्रश्न हो । खासमा प्रथम भन्नुहोस् वा अलि लेखपढ गर्न जान्ने मानिसलाई सधैं मानिसले गम्भीर रूपमा लिन्छन् । मेरो पनि बालापन आयो तर कहिल्यै बाललीला गर्न पाइएन । तँ त लेखपढ गर्न जान्ने मान्छे…भनेपछि कुनै गल्ती पनि गर्न नपाइने । सधैं परिपक्व व्यवहार गर्नुपर्ने बाध्यता । मेरो पनि जवानी आयो, तर जवानीमा गरिने भूलहरू प्नि गर्न पाइएन । किनभने प्रथम हुनुको भारले सधैँ किचिरहन्थ्यो । अहिले सम्झँदा पो मैले धेरै कुरा मिस गरेजस्तो लाग्छ । म काठमाडौंमा मास्टर डिग्री पढ्न आएको १५ वर्ष भएछ । यो डेढ दशकमा पाँचवटा पार्टीमा पनि गइएन र ती पार्टीमा कसैले यसो रमाइलो गरौं न भनेर रक्सी पनि खुवाएनन् । किनभने कसैले त्यो रूपमा हेरिदिएनन् । मैले पिउन पाइन भन्ने अर्थमा यो भनेको होइन, केवल दृष्टिकोण बताएको हुँ । महेश त केही खाँदैन, केही गर्दैन, के बोलाउनु भन्छन् । अरे यार, म पनि मानिस हुँ, मभित्र पनि युवा मन छ । खै बुझेको ?

यस्तो मानिस पैसा कमाउने क्षेत्रमा जानुपर्नेमा साहित्य जस्तो अनुत्पादक क्षेत्रमा लाग्नुभएको छ, कस्तो लाग्छ ?

किनभने म मूर्ख हुँ । मैले विद्यालय र क्याम्मपस लेभलमा टप आउने विद्यार्थीको यसो सूची हेरेको थिएँ, केही अपवाद बाहेक कसैले पनि साहित्यलाई मूल व्यवसाय बनाएका रहेनछन् । बनाएकाहरू पनि अरूतिर सफल भएर बाँकी समय साहित्य वा कलाका अन्य पक्षलाई दिनुहुन्छ । नेपालको परिवेशमा र साहित्यको अवस्था हेर्दा उहाँहरू सही हुनुहुन्छ ।  किनभने बुद्धिमान् मानिस साहित्यमा लागिरहँदैन । यसो भन्नुको अर्थ मैले साहित्यलाई गलत भनेको होइन । नेपालमा साहित्यको अवस्था कस्तो छ भन्ने बुझाउन मात्र खोजेको हुँ । पूर्व प्रधानमन्त्रीजस्ता व्यक्तिले पनि मसँग आफ्ना गीत कविता अंग्रेजीमा अनुवाद गराएर पारिश्रमिक दिनुपर्छ भन्ने हेक्का राख्दैनन् भने अरूले के गर्दा हुन् । र, यसको अन्तर्य कस्तो छ, यति भनेपछि थप बुझाइरहनु नपर्ला ।

तपाईं कवि, आख्यानकार, समालोचक, प्राध्यापक, अनुवादकमध्ये बढी के हो ?

मेरो रहर सोध्ने हो भने म आख्यानकार हुँ । सिर्जनातर्फ मेरा १२ वटा कृति प्रकाशित भएकामा एउटा समालोचनाको छ र एउटा नाटकको । बाँकी सबै आख्यानका हुन्ः बालकथा, बालउपन्यास, किशोर उपन्यास र प्रौढ कथा सङ्ग्रह । अरू विधाचाहिँ आकस्मिकताले ल्याएका हुन् । प्राध्यापन जागिर हो भने अनुवादचाहिँ, दुई भाषा नेपाली र अङ्ग्रेजीबीच काम गर्ने भएकै कारण मेरो समयले ममाथि थमाइदिएको एउटा जिम्मेवारी हो । साथै जागिरले मात्रै घर नचल्ने अवस्थामा नुनतेलको टेवा पनि हो ।

तपाईं सर्जक बढी कि समालोचक ?

म सर्जकै बढी । मैले आफूलाई चिनाउँदा समालोचक हुँ भनेर कहिल्यै चिनाइनँ । तर, मलाई बजारले सधैँ समालोचक भन्छ । समालोचनाको एउटै मात्र पुस्तक छ मेरो, जब कि सिर्जनाका एक दर्जन । मेरा फुटकर रूपमा प्रकाशित सामग्री पनि सिर्जना नै बढी छन् । यद्यपि म सभासमारोहमा बोल्दा समालोचकको जिम्मेवारीमा बढी गएँ । पुस्तकहरूमाथि समीक्षा धेरै लेखेँ । देशमा सर्जक धेरै र समालोचक सङ्ख्यात्मक हिसाबले निकै कम रहेकाले होला, मलाई मेरो समयले बढी समालोचक भनेर चिनाउन चाहृयो । यो एउटा संकेत पनि होः समालोचनामा केही नयाँ हुनु जरुरी छ, कोही नयाँ मान्छे आउनु जरुरी छ । त्यो कुरा मैले बुझेको छु ।

कतिपयले के भन्छन् भने तपाईंले एक-दुई बिधामा मात्र हात हालेको भए सिर्जनाको गुणस्तर नै फरक हुन्थ्यो, सबैतिर हातहाल्दा स्तर घट्ने सम्भावना छ । के भन्नुहुन्छ ?

सत्य हो । तर, जवानीमा सबै प्रेमी र सबै कम्युनिष्ट बन्छन् भनेजस्तो, धेरैजसो लेखक पनि छरपस्ट हुँदा रहेछन् । अपवाद जरुर छन्, तर कम छन् । म गम्भीर बनेको छु हिजोआज । आख्यान मेरो रहर र प्रेम हो । छोड्दिन होला । समालोचनाचाहिँ समयले नै छोड्न नदिने लक्षण छ । अरू विधा बिस्तारै टाढिँदै जानेछन् । म अबको समयमा आफूभित्रको सर्जकलाई आख्यान लेखनमा केन्दि्रत गर्नेछु ।

तर मानिसहरू भन्छन्, तपाईं सर्जक र समालोचकभन्दा राम्रो अनुवादक हुनुहुन्छ । यसमा कति प्रतिशत सत्यता छ ?

यो सत्य होइन । अनुवादले मेरो भाषिक ज्ञानको मात्रै मापन हुन्छ, सिर्जन क्षमताको हुँदैन । म देशभरि हिँडिरहन्छु, र कहिलेकाहीँ विदेशमा पनि । मान्छेहरूलाई म अनुवाद हुँ भन्ने कुरा त थाहा  छ, तर उनीहरू मलाई मेरो सिर्जनाकै कुरा सुनाउँछन् र माया गर्छन् । मैले अनुवाद गरेका सानाठूला किताबको सङ्ख्या पचास नाघ्यो होला, तर पाठकलाई धराबासीको राधा र प्रतिनिधि नेपाली कविताको अनुवाद थाहा छ, बाँकी खासै थाहा छैन । मलाई सुनाउँदैनन् । त्यसैले, तपाईंले सुनेको कुरा आंशिक मात्रै सत्य हो, पूर्ण सत्य होइन ।

म यो स्वीकार गर्छु, कि म अलि अराजक अनुवादक हुँ, परम्परागत होइन । मैले करिब ५ वर्ष पोखरा विश्वाविद्यालयका स्तानकोत्तर तहका विद्यार्थीलाई अनुवाद सिद्धान्त पनि पढाएँ । आफैँ आनुवाद पनि गर्छु । नेपाल प्रज्ञाप्रतिष्ठानको अनुवाद विभागको पत्रिका ‘रूपान्तरण’को कार्यकारी सम्पादक भएर पनि काम गरेँ । यी सबै जिम्मेवारीले मलाई अनुवादको सजिलोअप्ठ्यारोको बोध गराएको छ । नेपाली साहित्यबाट ठूलो सङ्ख्यामा कृतिहरू अनुदित छन्, तर खासै चलेनन् । मैले यसको यथार्थको सुराकी गर्ने कोसिस गरेँ । मैले थाहा पाएँ, हामी प्राविधिक अनुवाद गरिरहेका छौँ । हामीलाई अनुदित भाषाको शुद्धता र शब्दशः अनुवादको सटिकतामा बढी ध्यान छ । मैले यो कुरा तोडेको छु । कसैले मूल पाठ र मेरो अनुवादलाई रुजु गरेर हेर्‍यो कसैले भने म फेल हुन्छु । प्राविधिक र कार्यालयीय अनुवादमा, त्यसैले, म कहिल्यै लागिन ।

साहित्यमा शब्दभन्दा भाव महत्त्वपूर्ण हुन्छ । म भावका पछाडि लागेँ, जसले गर्दा मूल स्रोतका कतिपय शब्द नै हराउँछन् मेरो अनुवादमा र हुँदै नभएका पनि आउँछन् । अर्को संस्कृतिमा जाँदा बेमेल हुने बिम्ब नै हराइदिन्छन्, र त्यही भाव बोक्ने तर नयाँ बिम्ब आइदिन्छन् । स्रोत सामग्रीको भाषा जस्तो पो होस्, अनुदित भएर आउँदा म मेरै भाषामा ढाल्छु । यस कारण मेरो अनुवाद अलि अराजक छ । म सम्झौता गर्दिनँ ।

आज पनि अंग्रेजी भाषामा लेखिएका कुरा पढ्न नजान्ने नेपालीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा अंग्रेजी भाषामा लेखिएका  सामग्रीहरूको अनुवादको बजार ठूलो छ भन्ने लाग्दैन ।

सत्य हो । तर, अनुवादकले यो आवश्यकता निजी हिसाबले बोध गरेर चल्दैन । यसका लागि सामूहिक प्रयास जरुरी छ । अनुवाद त म गरौँला, अथवा अन्य कुनै अनुवादकले गर्लान् । तर यो अनुवादलाई कसैले प्रायोजन गरिदिनुपर्छ । पारिश्रमिकको व्यवस्था कसैले गरिदिनुपर्छ । अनुवादकको समयको सम्मान कसले गरिदिने, अनुदित कृतिको प्रकाशन र बजार व्यवस्थापन कसले गरिदिने हो जस्ता कुरा तय भए भने, सुरक्षित भएर अनुवादमा लाग्न सकिन्छ ।

अंग्रेजी भाषाबाहेक हिन्दी, चिनियाँ, जापानी, कोरियन र अन्य धेरै साहित्यको नेपाली अनुवादको अवस्था कस्तो छ ? ती भाषाका साहित्य अनुवाद हुनु आवश्यक देख्नुहुन्छ कि देख्नुहुन्न?

हिन्दीबाट केही भएको छ । केही त म आफैँले पनि गरेको छु । डा. रामदयाल राकेश, कञ्चना झा, मुकेश झा र डिल्लीराम सङ्ग्रौलाहरू लागिराख्नुभएको छ । रुसीबाट नेपाली अनुवाद गर्नेमा डा. जङ्घम चौहानको नाम अग्रणी छ । चिनियाँबाट अनुवादको हकमा शान्तदास मानन्धरले लु सुनका थुप्रै कथा र निबन्ध अनुवाद गनुभएको छ भने.जापानीबाट केही हाइकुबाहेक खासै अनुवाद भएको मेरो जानकारीमा छैन ।

जति छ, त्यसमा शङ्कर लामिछाने, अभि सुवेदी र प्रकाश पौडेल माइलाको योगदान अग्रणी छ ।  कोरियनबाट भने पछिल्लो चरणमा अनुवाद गर्ने काम सुरु भएको छ, र यसमा मोहन कार्कीको योगदान विशिष्ट छ । उनले कोरियाली कविहरू यु ज्योङ् यी लगायतका स्रष्टाका कृति नेपालीमा अनुवाद गरी प्रकाशितसमेत गरिसक्नुभएको छ । कोरिया-नेपाल कल्चर सेन्टर पनि यो काम गरि नै रहेको छ ।  नेपाली स्रष्टा रामबाबु सुवेदी, कृष्ण प्रसाईं, भीष्म उप्रेती आदि श्रष्टाका कृति कोरियनमा गइसकेका छन् ।

हिन्दी र चिनियाभाषाबाट ठूलो सङ्ख्यामा अनुवाद कार्य हुनु जरुरी देख्छु म, किनकि भारत र चीन हाम्रो छिमेकी पनि हुन् र विशाल बजार पनि हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठान तथा भारतको साहित्य एकेडेमीबीच केही सम्झौता भएका छन् । आशा छ केही ठोस काम हुने नै छ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नै चीनसँग अनुवादका लागि एउटा विशेष सम्झौता गरी काम पनि सुरु गरिसकेको छ । देवकोटा-लु सुन एकेडेमी पनि यसै दिशामा काम गरिरहेको छ । यस एकेडेमीका सुनिल पौडेलले भर्खरै लु सुनका कविता नेपालीमा अनुवाद गरिसकेका छन् । प्रज्ञाप्रतिष्ठानले पाकिस्तानी र बङ्लादेशी साहित्यसँग पनि अनुवादका लागि कार्य गरिरहेको छ । बङ्लादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जीवनी त मूल अङ्ग्रेजीबाट मैले र अर्जुनबहादुर थापाले अनुवाद गरिवरि बजामा पनि आइसक्यो । म आफैँलाई ५८ वटा पाकिस्तानी कविता नेपालीमा अनुवाद गरेको सम्झना छ । दुईचार महिनामै बजारमा आउला कि ।

तपाईंले अनुवाद गर्नुभएको कृष्ण धरावासीको ‘राधा’ले विश्वबजारमा राम्रो गर्ने संकेत देखाएको छ । यो सफलतालाई कसरी लिनुहुन्छ ?

एउटा अनुवादकका लागि यो सुुखद सन्देश हो । यो कृतिको अनुवाद आएपछि मलाई नेपालबाहिर, विशेष गरी अमेरिका बस्ने लेखकहरूबाट अनुवादको प्रस्ताव आएको छ । लेखकहरू गीता खत्री, निलम कार्की निहारिका, हरिहर भट्टराई, कल्याण गौतम र दुबसु क्षत्रीहरूसँग मौखिक सम्झौता पनि गरिसकेको छु । मलाई अबका दिनमा कामको खाँचो हुने देख्दिन । योचाहिँ राधाकै देन हो ।

र अर्को कुरा, ‘राधा’ विश्वमै चासोको विषय त त्यसको कथावस्तुका कारणले भएको हो । सबैले हाइहाइ गरेको पात्र कृष्णलाई यसमा परिम्परित देवत्वकृत पात्रताबाट च्यूत गरिएको छ, जो आफैँमा एउटा चाखलाग्दो जोखिम हो । दोस्रो, विश्व साहित्य र दर्शनमा कृष्ण एक मात्र यस्तो पात्र हुन्, जसको बाल संस्करण बालकहरूलाई मन पर्छ, किशोर संस्करण किशोरहरूलाई मन पर्छ, चोर संस्करण चोरलाई मन पर्छ, प्रेमी संस्करण गोपिनीजस्ता बालालाई मन पर्छ, साथी संस्करण सुदामा र अर्जुनतुल्य साथीलाई मन पर्छ, योद्धा संस्करण लडाकुलाई मन पर्छ, कूटनीतिकज्ञ संस्करण कूटनीतिज्ञलाई मन पर्छ, छोरा संस्करण यशोदाजस्ता आमालाई मन पर्छ, योगेश्वर संस्करण योगीलाई मन पर्छ, नर्तक संस्करण कलाकारलाई मन पर्छ र दार्शनिक संस्करण दर्शनका जानकारलाई मन पर्छ । यस्तो अर्को कुनै पात्र छैन । यस्ता सर्वमान्य पात्रको पात्रतालाई नै विनिर्माण गर्नु कम जोखिमपूर्ण कुराचाहिँ होइन । त्यस जोखिमका लागि पनि धरावासीलाई पढिँदै छ ।

धेरैलाई नेपाली भाषाको अनुवाद भन्नेबित्तिकै अंग्रेजीको कल्पना आउँछ । जब कि हाम्रा दुई छिमेकी चीन र भारतमै झण्डै तीन अर्ब मानिस बस्छन् । यसतर्फ हाम्रो ध्यान किन नगएको होला ?

यसका केही कारण छन् । भारतसँग खै के समस्या छ, नेपाली पुस्तकको खुला बिक्री वितरण भारतमा गर्ने अनुमति छैन । यो दुई देशको सम्बन्धमा गम्भीर र निन्दनीय भूल हो । जहाँसम्म चिनियाँ भाषाको प्रश्न छ, त्यो सास्ंकृतिक रूपमा नेपालीभन्दा धेरै नै भिन्न छ । र अनुवाद गर्ने हदसम्मको भाषाको ज्ञान भएका मान्छे पनि छैनन् । तर पछिल्लो समय विश्वमै चिनियाँ भाषामा चासो बढेको र प्रयोगकर्ताको सङ्ख्या पनि बढेकाले आशावादी हुने ठाउँ छन् ।

यसका पछाडि अर्को पनि कुरा छ । अङ्ग्रेजी विश्वभाषा भएकाले अङ्ग्रेजीमा गयो भने अरू धेरै भाषामा रूपान्तरण गर्न सजिलो छ । र नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्ने मान्छे सजिलै पाइन्छ । डायमण्ड समशेरको ‘सेतो बाघ’ पहिले अङ्ग्रेजीमा गयो । त्यसबाट एक दर्जनभन्दा बढी विश्वभाषामा गयो । कृष्ण प्रसाईंको घामको वर्षा सुरुमै अङ्ग्रेजीमा गयो । त्यसबाट कोरियन, सिंहाला, थाइ, बङ्गाली, हिन्दी, असमी, बर्मेली, जर्मन आदि भाषामा गयो । तर, विजय मल्लकको ‘अुनराधा’, देवकोटाको चम्पा र कमल रिजालको सुकर्मजस्ता पुस्तकको हिन्दी अनुवाद पहिले भयो । तर तिनले न त भारतमा चर्चा कमाए, न  हिन्दी स्रोतबाट अन्य भाषामा गए । यो पनि सोचनीय विषय हो ।

केही महिनाअघि मैले कृष्ण धरावासीको अन्तरवार्ता गरेको थिएँ । त्यो अन्तरवार्तामा उहाँले महेश पौडेलजस्ता अनुवादक नेपालमै छैनन् भन्नुभएको थियो । यस्तो सुन्दा कस्तो लाग्छ ?

सुन्दा खुसी लाग्छ । तर महेश पौड्यालभन्दा उम्दा अनुवादक छन् देशमा । प्राध्यापकहरू तारानाथ शर्मा, अभि सुवेदी, आनन्द श्रेष्ठ, पदम देवकोटा, गोविन्दराज भट्टराई, अम्माराज जोशी तथा साहित्यकार मञ्जुश्री थापाहरूको दाँजोमा पुग्न मलाई धेरै दशकको साधना, अध्ययन र परिश्रम चाहिन्छ । मेरै समकालीनमा पनि बलराम अधिकारी, मुकुल ढकाल र केशव सिग्देलजस्ता अनुवादकहरू हुनुहुन्छ, जसबाट मैले सिक्नुनर्पे धेरै कुरा छन् । धरावासी दाइ त लीलावादी, लीला गर्नुहुन्छ नि । (लामो हाँसो)

त्रिभुवन विश्वविद्यालयले अनुवाद फेकल्टी खोलेको भए एक्लै दौडेर प्रथम हुनुपर्ने अवस्थाको अन्त्य हुने थियो । त्यसतर्फ तपाईंहरूले पहल नगर्नुको कारण के होला ?

अनुवादको छुट्टै विभाग त गाह्रै होला, तर अङ्ग्रेजी शिक्षाअन्तर्गतको स्नातकोत्तर कार्यक्रममा अनुवाद पढाइन्छ । मानविकीतर्फ पनि अङ्ग्रेजीको एमफिलमा अनुवाद पढाइन्छ । तर यो चीज भनेको पढेर अथवा पढाएर हुने कुरा होइन रहेछ । यो स्वभाव रहेछ । नेपाली भाषामा स्नातकोत्तर गर्ने सबै कवि, समालोचक, साहित्यकार हुन्छन् र ? जोसँग स्वभाव छ, त्यो हुन्छ । अनुवाद त्यस्तै रहेछ । यत्तिका वर्षदेखि अनुवादको शिक्षण भइरहेको छ, तर खोइ त अनुवादकको तद्रूप सङ्ख्या ? जाँगर, आत्मविश्वास, स्वभाव र पीडा उठाउने तत्परता चाहिने रहेछ, जो थोरैमा मात्रै हुन्छ । ढङ्ग खासै नभए पनि मसँग प्रतिबद्धता भने छ ।

तपाईं अंग्रेजीको गोल्ड मेडलिस्ट, विश्वका सबैजसो कृति पढ्नुभएको छ । ती कृति पढिरहँदा तपाईंलाई नेपाली साहित्यका कतिवटा कृति त्यो स्तरका छन् भन्ने लाग्छ ?

नेपालको देवकोटाकालीन साहित्यको जुन उचाइ थियो, त्यस्तो उचाइ न अगाडि थियो, न पछाडि अहिलेसम्म देखियो । पछिल्लो त होहल्ला बढी छ । अघिल्लो शास्त्रीय बढी थियो । देवकोटाका महाकाव्यहरू, समका नाटक, बीपीका उपन्यास र कथा, मदनमणिका केही कृति, गोठालेका कथा, शङ्कर लामिछानेका निबन्ध, भूपीका केही कविता त्यस स्तरका छन् । भिक्षुका कथा त विश्वमै पनि दुर्लभ रचना हुन् । तिनको तुलना रविन्द्रनाथ ठाकुरका कथासँग गर्न सकिन्छ । बीचमा चाहिँ फाट्टफुट्टमात्रै देखेँ मैले त्यस स्तरका कृति । अलि पछिको कालखण्डमा आउनेमा धरावासीको शरणार्थी,अमर न्यौपानेको पानीको घाम, नयनराज पाण्डेको उलार, बुद्धिसागरको कणर्ाली ब्लुज, नीलम कार्कीको अर्की आइमाई, हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ आदि कृतिको अनुवाद आए हुन्थ्यो भन्ने मलाई लाग्छ । केहीको त तयारी हुँदै गरेको पनि सुनेको छु । खुसी लाग्छ ।

धेरैजसो लेखकको हकमा सुरुवातमा दमदार आए पनि सङ्ख्या बढ्दै जाँदा स्तर खस्कँदै गएको पनि देखियो । अचेल साहित्य छिटोछिटो आउने, र समयको एउटा तीव्र झट्कालाई सम्बोधन गर्ने बढी भइरहेको छ । त्यसैले साहित्यले सम्यक दृष्टि र सार्भिकता गुमाइरहेको देखिन्छ । यसै दोषले हो, हाम्रो साहित्यलाई विश्वसाहित्यको स्तरमा उठ्न दिइरहेको छैन ।

तपाईंले अनुवादका लागि समय र पैसाकेा व्यवस्थापन गर्ने हो भने कुन-कुन लेखकका कुन-कुन कृति छान्नुहुन्छ?

सूची लामो हुनेछ । म उत्कृष्ट नेपाली कथा पहिले गर्थेँ । बीसवटा त गरिसकेको छु । तर, २०० वटा गर्नु जरुरी छ । विश्वसाहित्यमा नेपालको पहिलो ठूलो हकदावी कथाको हुनेछ । त्यसपछि म, मैले स्वतन्त्र रूपमा छानेका करिब ५०० कविता गर्थेँ, जसले नेपाल लेखेको छ, नेपाल चिनाउँछ । उपन्यासमा त म माधवीबाट सुरु गर्थेँ । सुम्निमा र शिरिषको फूल फेरि, मेरै पाराले गर्थें । शरणार्थीगर्थेँ । चपाइएका अनुहार र घामका पाइला पनि गर्थेँ । गोठाले र भवानी भिक्षुका सबै कथा गर्थेँ ।  समावेशिता, राजनैतिक प्रतिनिधित्व, चिनजान आदि कुरालाई खारेज गर्थेँ र गुणस्तरमा मात्रै जान्थेँ । नेपाली लोक कथाको अनुवादमा मज्जाले लाग्थेँ । लाग्छ, आजीवन यही काम गर्थेँ होला ।

तपाईं जस्तो प्रतिभावान् व्यक्ति, लेखपढ र सिर्जनात्मक काममा लाग्न छाडेर दैनिक पुस्तकको विमोचन र समीक्षामा जानुहुन्छ । यसो गर्दा तपाईंले जतिदिन सक्नुहुन्थ्यो, त्यति समाजलाई दिन सक्नुहुन्न भन्ने गरिन्छ । प्रचारको रहरले यसो गर्नुभएको हो ?

होइन । प्रचार त मेरो यसै पनि भइरहेको छ । विमोचनमा जानु त सर्वथा घाटाको सौदा हो । किताब किन्, पढ्, समय खर्चेर जा, आˆनै पेट्रोल खर्च गर, बोल्, गाली खा, मलामी गुमा, र एक टुक्रो बिस्कुट टोकेर फर्की । चियामा चिनी हालेकै हुन्छ, म खान्न । पारिश्रमिक र जस दिने चलन खासै छैन । तर म किन जान्छु ? दुई कारण । जुनसुकै किताबको विमोचन होस्, मैले एउटा न एउटा नयाँ कुरो भनेकै हुन्छु । त्यो नयाँ कुरा विस्तारै प्रचारमा जान्छ, जसले मलाई नवीकृत गर्दै लान सहयोग गर्छ । दोस्रो, म सभासमारोहमा गइन भने, मैले पनि त कुनै दिन सभासमारोहको आयोजना गर्नुपर्ला, अथवा कृतिकै विमोचन गनर्ुुपर्ला । त्यस दिन को आइदेला मेरो कार्यक्रममा ? फेरि सभासमारोहरूमा जाँदा साथीभाइ भेटिन्छन् । केही नयाँ कामका कुरा पनि हुन्छन् । दिनहुँ भट्टीमा गएर गफ दिनुभन्दा विमोचनमा गएर ज्ञानगुनको कुरा गर्नु बेस होइन र ?

सातामा कतिवटा पुस्तकको विमोचनमा गएर समीक्षात्मक टिप्पणी गर्नुहुन्छ ?

तपाईँहरू सञ्चारकर्मी । यो उत्तर तपाईँहरूले मलाई उलपब्ध गराइदिए कसो होला ? म जो बोल्छु, सार्वजनिक मञ्चमा बोल्छु, घरको कोठामा बोल्दिन । एउटा राम्रो र जिम्मेवार तथा साहित्य र साहित्यकारलाई यो हदसम्म माया गर्ने र खोजीखोजी प्रोत्साहन गर्ने नेपालको नम्बर वन अनलाइन सञ्चारमाध्यमले त रेकर्ड राखेकै होला । अर्को कुरा, यो प्रश्न नै पूर्वाग्रही छ । सातामा मरेर एउटा वा दुइटा पुस्तकको विमोचन हुने राजधानीमा यो प्रश्न गरिएको छ । यसको उत्तरमा सङ्ख्याको अपेक्षा गरिएको भन्दा पनि खिसिट्युरी गरेको बुझिन्छ । खासमा जोखिम मोलेर विमोचनमा टिप्पणी गर्ने निर्भीक र तटस्थ समीक्षकको सङ्ख्या घट्दै गएको सन्दर्भमा थोरै बचेका जो छन्, तिनलाई सञ्चारमाध्यमले सम्म पनि प्रोत्साहित नगरेको देख्दा दुःख लाग्छ । म खोजेर जान्न बोल्न । पहिलो अनुरोधमै पनि म तयार हुन्न । तर जब करकापमा पर्छु- कतै काट्नै नमिल्ने अग्रजको, कतै गुणग्राही साथीभाइको, कतै प्रोत्साहित गर्नै पर्ने लेखकको अथवा कतै मलाई गुन लगाएका मित्रहरूको – अनि म जान्छु । र यस्तै प्रश्नको सामना गरिरहन अभीषप्त हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment