Comments Add Comment

शिशु हत्या प्रकरणः सीसी टिभीमा देखिएका आरोपी अझै फरार

३ असोज, काठमाडौं । औराही–१, महोत्तरीका सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरणपछि हत्या भयो । १० भदौमा आमाको काखबाट लिएर खेलाउँदा देखाउँदै एक व्यक्तिले सोनालीलाई काखमा लिए । त्यसको केही घन्टापछि हत्या गरिएको अवस्थामा शिशुको शव भेटियो ।

बालिकालाई लिएर गएका व्यक्ति सीसीटीभी फुटेजमा कैद भएका छन् । प्रहरी मात्र होइन, पीडित परिवारकै सदस्यहरु समेत अभियुक्तको घरमा पुगेर सोधपुछ गरेर आइसके ।

तर, अझै अभियुक्त पक्राउ परेका छैनन् । ‘अपहरणकारीको पहिचान भइसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु दुःखद छ’, सोनालीका बुबा सन्तोषले अनलाइनखबरसँग भने ।

सीसी टिभीमा देखिएका व्यक्तिको पहिचान भइसक्दा पनि प्रहरीले आफूलाई भने पटक–पटक अरु कोमाथि शंका छ भनेर सोध्ने गरेको सन्तोष बताउँछन् ।

‘मैले पहिला उनलाई समात्नू, सबै खुल्छ भनेको छु’, काठमाडौंमा आएका सन्तोषले भने, ‘मेरी छोरी अब फर्किन आउँदिनन् तर, अपराधीलाई त्यसै छाड्यो भने अरु छोरीहरू पनि असुरक्षित हुन्छन् ।’

कसरी भएको थियो घटना ?

औरहीमा सन्तोषको सानो पसल छ । जनै पूर्णिमाको दिन हात्तिसर्वाका भरत शाह टोपी किन्ने बाहानामा आएका थिए ।

पसलमा सन्तोषकी पत्नी थिइन् । भरतले टोपीको मूल्य सोधे, बार्गेनिङ गरे । सन्तोष भएको भए कम मूल्यमा दिन्थ्यो भन्दै आफू चिनजानकै भएको भन्ने आभाष दिलायो । त्यसक्रममा उनले ९ महिनाकी सोनालीलाई काखमा लिए ।

केहीबेरपछि फेरि आए । सन्तोषकी श्रीमती पसलमा व्यस्त रहेको मौका छोपेर फेरि सोनालीलाई काखमा लिए । यसपटक भने भारत बच्चा खेलाउँदा खेलाउँदै लिएर गायब भए ।

‘सानी बालिका भएकाले सबैले काखमा लिन्थे’, एक स्थानीय भन्छन्, ‘त्यस दिन पनि कसैले लिएको होला भनेर खोजिएन तर, आमाले खोज्दा वरपर बच्चा नभेटिएपछि हल्लीखल्ली मच्चिएको थियो ।’

घटनापछि सीसीटीभी फुटेज हेर्दा भरतले नै सोनालीलाई लिएको गएको पत्ता लागेको छ । लगत्तै, परिवारका सदस्यहरुले प्रहरीलाई खबर गर्नुका साथै सीसीटीभी फुटेज उपलब्ध गराएको छ । तर, अझैसम्म भरत पक्राउ परेका छैनन् ।

को हुन् शाह ?

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएर फर्किएका शाह यसअघि चोरी अभियोगमा जेल पनि परेका थिए । साहले नै आफ्नो छोरीलाई अपहरण गरेर हत्या गरेको सन्तोष बताउँछन् ।

शरीरका विभिन्न अंगमा चोट देखिएकाले शिशुमाथि दुश्कर्म समेत भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।

पीडित परिवारको घर नजिककै गाउँमा बस्ने शाह लागूऔषध दुर्व्यसनी समेत हुन् । घटनाको दुई दिनअघि उनले भिट्टामोडबाट ट्याबलेट किनेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनको घरपरिवारसँग पनि राम्रो सम्बन्ध छैन । मोबाइल लगायतका सामान लिएर हिँड्ने गर्न थालेपछि उनलाई घरबाट निकालिएको स्रोत बताउँछ ।

उनको वैबाहिक सम्बन्ध पनि राम्रो रहेन । ‘बिहे गरेर सुध्रिन्छ कि भन्ने थियो तर, भएन’, परिवारका एक सदस्यले प्रहरी अधिकारीसामू भनेका छन्, ‘०७० सालतिर ऊ कुबेत गएको थियो । तर, दुई/चार महिनामै डिपोर्ट भयो ।’

चोरी तथा लागूऔषध सेवन गर्दा पक्राउ परेका बेला कचहरी बसेर स्थानीय स्तरमै पटकपटक सजाय पाएका थिए । जति गर्दा पनि नसुध्रिएको भन्दै पछिल्लो पटक उनलाई गाउँबाट निकालिएको समेत प्रहरी अनुसन्धानले देखाएको छ ।

कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) र्इश्वर कार्कीका अनुसार घटनाबारे जानकारी आउने वित्तिकै स्थानीय औराही प्रहरी चौकीका असईको नेतृत्वमा खोजी सुरु भएको थियो ।

‘स्थानीयलाई समेत लिएर खोजबिनमा लागेका थियौं’, कार्कीले अनलाइनखबरसँग भने, ‘तर, हामीसँग सूचना नै घटना भएको २ घण्टा ४० मिनेटपछि मात्र आएको हो । त्यस कारण तत्काल अभियुक्तलाई समात्न गाह्रो भएको हो ।’

‘जंगलमा पनि हामीले सर्च अपरेशन चलायौं । जनकपुर प्रहरीको समेत सहयोग लिएर सयौं बिगाह उखुबारीमा पनि खोज्यौं’, उनले थपे, ‘तर, कुनै अत्तोपत्तो लागेन ।’

एक अनुसन्धान अधिकारी शाहले मोबाइल नबोकेकाले ट्रेस गर्न समस्या भएको बताउँछन् । ‘यो घटनाको अनुसन्धानमा टेक्निकल पार्ट जिरो छ’, एक अधिकारीले भने, ‘सोसियल पार्टमा उसको धेरै जनासँग सम्बन्ध नै छैन ।’

यद्यपि, अनुसन्धान जारी छ । सीसीटीभी फुटेजका आधारमा पनि अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ ।

‘अभिभावकको इग्नोरेन्स वा नेक्लिजेन्स के भनौं । आँखा अगाडि लैजाँदा पनि कुनै रिएक्सन छैन । प्रहरीलाई एकदमै ढिलो जानकारी भयो ।’, प्रहरी अधिकारी भन्छन् ।

प्रहरीले उनको हुलिया ७५ जिल्लामै पठाएको छ । भारततिर गएको हुन सक्ने आशंकामा त्यसतर्फ खबर गरिएको छ । राजधानीमा समेत प्रहरीको एक टोली खटिएको स्रोत बताउँछ ।

यो पनि पढ्नुस् 

८ महिने शिशुको अपहरणपछि हत्या, सीसीटीभीबाट अभियुक्तको पहिचान

शिशुको अपहरणपछि हत्याको विरोधमा औरहीमा दिनभर प्रदर्शन

८ महिने शिशुको हत्याको छानबिन गर्ने प्रदेश सरकारको प्रतिवद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment