Comments Add Comment

पशुपति क्षेत्रको पुनर्निर्माणमा प्राधिकरणले सहयोग गर्ने

३ असोज, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ ।

क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माण र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग गर्ने बचन दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल लगायतसँग छलफल गरेका हुन् । भूकम्पबाट क्षति भएका संरचनाो पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरुको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने ज्ञवालीले बताए ।

पुननिर्माण र प्रवलीकरण गर्नुपर्ने संरचनाहरुको स्पष्ट योजना माग गर्दै ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताए । धार्मिक र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गर्नु पर्ने उनको जोड छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भएपनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । ‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन ।

पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’ उनले भनेका छन् । गतवर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपौयाँ विनियोजन गरिएको थियो ।

कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको १५्र शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरुको जीर्णद्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बनेपनि विश्वरुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरु, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर, निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफै बनाउने निर्णय गरेका छौं, सदस्य सचिव डा. ढकालले भने, ‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन’ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणीकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिएका छन् । ‘गुरुयोजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरुको सेवा र सुविधा क्षेत्र गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी गुरुयोजना बनाउनु उपयुक्त हुनेछ’ उनले भनेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार २०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन सकेन भने २०५६ सालको योजना पनि अपेक्षाअनुसार अघि बढन सकेन । हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुँदा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर क्षेत्रको मन्दिरहरुको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment