Comments Add Comment

नेकपाको संकटः विभीषण कि कुम्भकर्ण ?

१४ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले शनिवार संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको अधिकांश समय पाकिस्तानविरुद्ध केन्दि्रत थियो । सुष्माले हिन्दीमा सम्बोधन गरिरहँदा कतिपय भारतीय पत्रकारले ट्वीट गरिसकेका थिए-अबचाहिँ हिन्दूस्तानमा चुनाव लागेछ ।

उसो त भारतमा जब निर्वाचन आउँछ, त्यसपछि सरकारमा बसेकाहरु पाकिस्तानविरुद्ध आक्रामक बन्छन् । विपक्षीले आफ्ना कर्ममाथि प्रश्न उठाउँदै जनताको सहानभूति लिन खोजेपछि सत्तामा हुनेले पाकिस्तानलाई सघाउन सरकारलाई अप्ठेरो पारेको आरोप लगाउँछन् ।

इमोशनल ब्ल्याकमेल

भारतमा सत्तामा बसेकाहरुले चुनाव जित्न पाकिस्तान कार्ड प्रयोग गरेर जनतालाई ‘इमोशनल ब्ल्याकमेल’ गरेजस्तै नेपालमा सत्तारुढ कम्युनिस्ट पार्टीभित्र केही नेताले बिरोधीसँग मिलेर सत्ता ढाल्न खोजेको भन्दै कार्यकर्तालाईलाई उत्तेजित बनाउन खोजिएको आरोप लागेको छ ।

यसैसाता नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सञ्चालन र एकीकरणको विधि प्रक्रिया मिचिएको भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गरे । दुबै अध्यक्ष विदेश भएका बेला उनी कार्यवाहक अध्यक्षका हकदार थिए । यसअघि एकपटक त्यो अभ्यास अनुसार उनले कार्यवाहक पनि भएका हुन् ।

पार्टी कार्यवाहक अध्यक्षविहीन अवस्थामा रहेका बेला नेपालले स्थायी कमिटी सदस्यहरुलाई बोलाएर चियापान आयोजना गरे । जुन चियापानमा ओलीका विश्वासपात्र कार्यवाहक संसदीय दलका नेता सुवास नेम्वाङदेखि बामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्मका नेता सहभागी थिए ।

नेपालले गरेको चियापान, संसदमा सरकारको आलोचनामा दिएको वक्तव्य र प्रदेश कमिटी गठनसम्बन्धी सचिवालयको निर्णयमा उनको असहमति संयोगमात्र थियो वा नियोजित भन्ने प्रष्ट छैन । तर, यी घटनाक्रमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नरुचाएको अनलाइनखबरको अन्तर्वार्तामै प्रष्ट पारिसकेका छन् ।

माधव नेपालको मूभका बारेमा अर्का अध्यक्ष प्रचण्डको प्रतिक्रिया आइसकेको छैन । दुई अध्यक्ष मिलेर पार्टीमा विधि, पद्दति र मापदण्ड समाप्त पार्न थालेको माधव नेपालको चिन्तामा नारायणकाजी र रामवहादुर थापा बादलहरु पनि कहीँ न कहीँ एक ठाउँमा छन् । यद्यपि अहिले नेकपाको असन्तुष्टि गुट बनाउने तहमा पुगिसकेको छैन ।

माधव नेपालले सरकारका कामकारवाहीमा जनताले उठाएका प्रश्नमा चिन्ता व्यक्त गर्ने बाहेक प्रधानमन्त्रीका रुपमा ओलीलाई असहयोग गर्ने सोचेको देखिन्न । बरु सरकारलाई सफल बन्न नदिन राज्यका संयन्त्रमा समस्या रहेको भनेर उनले सरकारलाई बलियो रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

यदि उनले आफ्नो असन्तुष्टिलाई इमोशनल ब्ल्याकमेलका रुपमा पार्टी र सरकार सञ्चालनको बेथितिसँग गाँसेका हुन् भने त्यो टिकाउ हुँदैन । किनकि नेपाल नेकपाको हेडक्वार्टरका तेस्रो बरियताका नेता हुन् । ओली र प्रचण्डसँग कुरा नमिलेपछि सार्वजनिक खपतका लागि आफ्ना असन्तुष्टि पोखेको होइन भन्ने उनैले प्रष्ट पार्नुपर्छ ।

तर, नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले असन्तुष्टिलाई पराइसँगको सूलहका रुपमा बुझेछन् । उनले अमेरिकाबाटै ट्वीट गरे- मानिसको पतन त्यस समय शुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन शुरु गरिन्छ ।

नेपालले ओलीलाई ढाल्न पराईसँग सल्लाह लिन थाले भन्ने कुरा कम्तिमा आजको मितिसम्म कसैले पत्याउन सक्दैन । उनीनिकट नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद ओलीले छाड्नुपर्ने भनी अनलाइनखबरमा दिएको अन्तर्वार्तामा समेत नेता नेपालले अन्तिुष्टि जनाउँदै जे पायो त्यही नबोल्न सबै नेताका सामुन्ने सचेत गराएका छन् ।

रिमालले आशंका गरेजस्तो ओलीलाई ढाल्न माधव नेपालले पराइसँग सल्लाह लिन थालेका हुन् भने अवश्य पनि कार्यकर्ताबाट नेपाल अश्वीकृत हुनेछन् । तर, उनको आरोप सरकार ढाल्न माधव नेपालले विरोधीसँग मिलेको ‘इमोशनल कुरा’ गरेर कार्यकर्ताका ध्यान डाइभर्ट गर्न खोजिएको हो भने त्यसले बढ्दो सरकारको अलोकप्रियतालाई ढाकाछोप गर्न सक्दैन ।

पार्टीलाई विधि विधान, मापदण्ड र पद्दतिअनुसार चलाउनुपर्छ भन्दा सरकार ढाल्न खोजेको अर्थमा अपव्याख्या गरिएको नेपाल पक्षको आरोप छ । रिमाललाई नेकपाकै स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्वीटरबाटै जवाफ दिइसकेका छन् । उनले भनेका छन्- सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन, कठै दोसी चश्मा !

सरकारको विकल्प कसैले खोजेको छैन

नेकपाका स्थायी कमिटी सदस्यहरुनै सामाजिक सञ्जालमार्फत सरकार ढाल्न खोजेको सन्दर्भमा सवाल जवाफमा उत्रिए पनि दुई तिहाई बहुमतप्राप्त सरकार ढल्ने र ढाल्ने कुनै आधार देखिएका छैनन् । यो सरकार ढल्न नेकपा फुट्नुपर्छ, जुन कुरा पार्टीका कुनै नेता कार्यकर्ताले कल्पना गर्न सक्दैनन् ।

अर्को कुरा, यो सरकारको विकल्प न जनताले खोजेका हुन् न कार्यकर्ताले । बरु यही सरकारले राम्रो गरोस् भन्ने चाहनामात्र हो । सरकारले शुरुमा जसरी आक्रामक रुपमा जनपक्षीय काम थालेको थियो, ती किन रोकिए भन्ने प्रश्न मात्र हो अहिले जनताको ।

हो नेकपाभित्रको दुःख यो हो कि, पार्टी र सरकार दुवै मोर्चामा नेतृत्वले कुशलता देखाउन सकेको छैन । पार्टी र सरकार सञ्चालन गम्भीर समस्या देखिएका छन् । सरकारसँग आम जनताका असन्तुष्टिजस्तै पार्टी नेतृत्वसँग आम कार्यकर्ताका असन्तुष्टि उकुसमुकुस भएका छन् ।

यदि सरकारले शुरुमा लिएको जनपक्षीय कामको लय नछाडेको भए सरकार सञ्चालनमा जनताबाट प्रश्न उठ्ने थिएन । अहिले नेकपा अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार विरुद्धको आक्रोश जनताको हो । सरकारले लय गुमाउँदा जनता र पार्टी पंक्तिले असन्तुष्टि जनाएको हो । अहिलेको विपक्षीले सरकार ढाल्न सल्लाह दिने हैसियत राख्दैन ।

कुम्भकर्ण रोज्ने कि विभीषण खोज्ने ?

यदि संसदभित्रको विपक्षीले सत्तारुढ नेकपाभित्र विभिषण खोज्यो भन्ने सत्तामा भएका नेकपाका नेताहरुलाई आशंका भएको हो भने त्यो शंका धेरै पर पुग्यो । रामायणमा उल्लेखित पात्रमध्ये विभिषण रावण भाइ हुन्, जसले दाजु अहंकारी दानवराज्य समाप्त पार्न रामलाई साथ दिएका थिए ।

तर, त्यसअघि रावणले अत्यन्तै भर गरेका माइला भाइ कुम्भकर्ण र जेठा छोरा मेघनाथ (इन्द्रजीत) को मूर्खता तथा दम्भले गर्दा रावणको लंकाराज्यको जग भत्किसकेको थियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीले आफूलाई रामायणको भन्दा पनि महाभारतको पात्रका रुपमा उभ्याएका छन् । उनले पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा संसदबाटै आफूलाई ‘आजको अभिमन्यू’ भन्दै सबैखाले चक्रव्यूह तोडेर बिजय हासिल गर्ने पात्रका रुपमा स्वचित्रण गरेका थिए ।

यदि ओली आजका अभिमन्यू हुन् भने उनका सारथीहरुले पार्टीभित्रका असन्तुष्टिलाई पराइसँगको सूलह देख्ने र पद्दतिको माग गर्ने नेताको पतन होस भनी वर माग्ने शैली त्याग्नुपर्छ । होइन, ओली अभिमन्यूबाट रावणमा रुपान्तरण भएका हुन् भने उनको असफलताको कारक विभिषण होइन कुम्भकर्ण र मेघनादहरु हुनेछन् ।

सरकार सञ्चालनमा नेकपाका नेताहरुको अशन्तुष्टिलाई पार्टी सञ्चालनसँग जोड्न सकिन्छ । तर, सरकारप्रतिको जनताको अशन्तुष्टि र आक्रोशलाई नेकपाभित्रको आन्तरिक राजनीतिसँग जोड्नु जरुरी छैन ।

सरकारले गति लिन नसकेकै हो, लय गुमाएकै हो । त्यसैले सत्तामा हुने विशेषतः प्रधानमन्त्रीले सरकारको समीक्षा सरकारमा रहेका नेताहरुसँगै बसेर गर्नुपर्छ ।

माधव नेपालले पद्दति मान्नुपर्दैन ?

जहाँसम्म माधव नेपाल लगायतका नेताले संसदमै विपक्षीको स्वरमा स्वर मिलाउँदै सरकारको आलोचना गरेको सन्दर्भ छ, त्यसमा पार्टीभित्र छलफल गराउन प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कसैले रोकेको छैन । यदि माधव नेपाल वा अन्य सांसदले पार्टीको अनुशासन उल्लंघन गरेका हुन् वा विपक्षीलाई बल पुग्ने गरी सरकारलाई अप्ठेरोमा पारेका हुन् भने यसबारे छलफल गर्ने पार्टीको फोरम छ । तर, नेकपाको नेतृत्व सकेसम्म पार्टीभित्र छलफलनै चलाउन चाहदैन भन्ने आरोप छ । पार्टीमा बैठक नहुने र बैठक बोलाए पनि छलफल गर्न नपाइने भएकाले सांसद हुनेले संसदमा र सांसद पनि नभएकाले सामाजिक सञ्जाल र मिडियामा आफ्ना असन्तुष्टि पोख्ने गरेका पो हुन् कि ? यो प्रश्नलाई उपेक्षा गर्न नेकपा नेतृत्वले सक्दैन ।

यति भनिरहँदा माधव नेपाल आफैं किन सार्वजनिक बिरोधमा उत्रिए भन्ने प्रश्नको जवाफचाहिँ उनले सन्तोषजनक रुपमा दिन सकेका छैनन् । स्थायी कमिटीको अधिकार खोसेर केन्द्रीय सचिवालाई अधिकारसम्पन्न बनाउने क्रममा नेपालको भूमिका के थियो ? प्रश्न उनीमाथि उनी निकटकै नेता कार्यकर्ताले त्यहाँबाट गरिरहेका छन् ।

पार्टी एकीकरण प्रक्रिया जारी रहेका बेला बैठक छाडेर विदेश भ्रमणमा जाने अनि त्यो बैठकका निर्णयविरुद्ध बगावतको शैलीमा भेला गर्ने कुराको संस्थापन पक्षले आलोचना गरेको छ । पार्टीमा बिधि पद्धति भएन भनेर आलोचना गर्ने नेपाल आफैंले चाहिँ नेतृत्वविरुद्ध मोर्चा खोल्नुअघि पद्धतिको पालना गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उनीतिरै सोझिएको छ ।

नेपाल यसबीचमा अधिकांश समय विदेश भ्रमणमा छन् । विदेश भनेपछि खाँदा खाँदैको गाँस छाडेर सुटकेश बोकेर दौडिने गरेको आरोप नेपालमाथि छ । पार्टी एकीकरण जस्तो दीर्घकालिन महत्वको समयमा नेपालले देशभित्र समय दिएका छैनन् । ओली र प्रचण्डपछिको बरियतामा रहेका नेता नेपालले दुवैजना विरुद्ध मोर्चा खोलेका हुन् ? यो पनि प्रष्ट भइसकेको छैन ।

माधव नेपालको कमजोरी के छ भने, उनी बेला बेलामा बहकिएर पनि आक्रोशमा आउँछन् । आफू निकट कुनै कार्यकर्ताले विहानै उनको निवासमा गएर सरकार वा मन्त्रीको बिरोध गर्‍यो भने ‘क्रसचेक’नै नगरि संसदको रोष्टममा उभिएर धुँवाधार बिरोध गर्ने नेताका रुपमा पनि नेपाल आलोचित छन् । सरकार र पार्टी नेतृत्व विरुद्धको सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभन्दा अघि उनले पार्टीभित्र छलफल गरे कि गरेनन् ?

यदि निर्णयमा असहमति थियो भने दुवै अध्यक्ष फर्केपछि उनले आपत्ति जनाउन सक्थे । सचिवालय बैठकमा असहमति जनाउन सक्थे । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिन सक्थे । प्रधानमन्त्री र अध्यक्षद्धय विदेशमा भएका बेला संसददेखि सडकसम्म नेतृत्व विरुद्ध नेपालले लबिङ चलाएको आरोपको उनले जवाफ अवश्य देलान् ।

जनताको म्याण्डेट ओलीलाई हो

आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरको दुई तिहाई बहुमतप्राप्त सरकारविरुद्ध माधव नेपालले ‘मूभ’ गरेपनि उनले कार्यकर्ताको साथ पाउँदैनन् । देशभरी भइरहेका महिला वालवालिकामाथिका अपराधका घटनामा प्रहरी अनुसन्धान कमजोर हुनु, दैनिक जनजीविनलाई राहत दिन सरकार असफल हुनु र जनताले अनुभूत गर्ने खालका काम गर्न नसक्नुले सरकार आलोचित छ ।

जनताको आक्रोश र आलोचनाबाट सत्तारुढ नेकपाका नेता कार्यकर्ता बेखबर हुन सक्दैनन् । विपक्षले जनताका एजेण्डा अपहरण गर्नुअघि नेकपाकै नेता कार्यकर्ताले सरकारलाई सच्याउन गरेको खबरदारीलाई सरकार ढाल्न विपक्षीसँग मिलेको आरोप लगाउनु भनेको ‘इमोशनल ब्ल्याकमेलिङ’नै हो ।

कम्तिमा अहिले नेकपाका कुनै पनि नेताले त्यो हदसम्मको सोच राखेको विश्वास गर्न सकिन्न । ओली नेतृत्वको सरकार ढाल्ने माग न त जनताको हो, न त नेकपाका कार्यकर्ताकोनै । ओलीले सरकार चलाउने म्याण्डेट जनताबाट पाएका हुन्, उनले आफैंभित्रको कमजोरीलाई जितेर जनपक्षीय काम गरे भने अढाई वर्षपछि प्रचण्डले प्रधानमन्त्री हुन खोजे पनि जनता र कार्यकर्ता उनको पक्षमा उभिनेछन् ।

नेपालले आयोजना गरेको चियापानमा उपस्थित भएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामान्य छलफलाई अतिरन्जित गरिएको भनी दिएको प्रतिक्रियाले पनि यसलाई पुष्टि गर्छ । नारायणकाजीले भनेजस्तै जनस्तरबाट अहिले भइरहेको सरकारको आलोचना भनेको यही सरकारलाई थप प्रभावकारी बनाउन हो, यसको विकल्प खोज्न कदापि होइन ।

नारायणकाजीले प्रष्ट शब्दमा भनेका छन्- सरकारप्रतिका आलोचना टिप्पणी सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उद्देश्यले हुनुपर्छ । यतिबेला यो सरकारको बिकल्पका सोच देश, जनता, पार्टी र आन्दोलनकेा पक्षमा हुँदैन । अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ । कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन ।

नेकपामा व्यक्ति ठूलो कि विधि ?

जहाँसम्म नेकपाभित्रको समस्या छ, त्यसबारे माधव नेपालमात्र होइन, स्वयं ईश्वर पोखरेलका पनि असन्तुष्टि होलान् । वामदेव, नारायणकाजी र बादल पनि सन्तुष्ट छैनन् । दुई अध्यक्ष मिलेपछि विधि, पद्दति, मापदण्ड र संस्थागत प्रणाली केही मान्नुनपर्ने अवस्था सिर्जना भएको गुनासो शीर्षस्थ तहका नेताहरुले पनि गरिरहेकै छन् ।

स्थायी कमिटीका अधिकार खोसेर सचिवालयमा केन्दि्रत गर्ने र सचिवालयभित्र दुई अध्यक्ष नै सर्वेसर्वा हुने अवस्था निम्त्याउन माधव नेपालहरुकै पनि कमजोरी छ । हिजो झलनाथको तेस्रो बरियता खोसर आफूमा ल्याउँमा नेपालले पद्दति र प्रणाली बिर्सेकै हुन् । प्रचण्डले कार्यवाहक समेत नदिई दुई अध्यक्ष हिँड्नु र आफूलाई बाइपास गरेर प्रदेश पदाधिकारी चयन गरेपछि नेपालको चेत खुलेको हुनुपर्छ ।

ओलीले एकलौटी गरे भन्ने नेपालको आरोपमा त्यति ठूलो दम देखिन्न । किनकि तत्कालीन एमालेले पाएका ६ वटा प्रदेश इञ्चार्जमध्ये तीनजना नेपाल पक्षकै छन् । झलनाथ र बामदेवले समेत यो निर्णयको बचाउ गर्नुले त्यसको पुष्टि गर्छ । तर, नेकपामा बहस, छलफल र आलोचना जस्ता लोकतान्त्रिक बिधि साँघुरिन थालेको कुरा माधव नेपालभन्दा तलका नेताहरुले महशुस गरेका छन् ।

प्रधानमन्त्रीका रुपमा ओलीसँग जनताले धेरै अपेक्षा राखेका छन् । उनले जनतालाई ठूला-ठूला सपना देखाएकै हुन् । जब ‘डेलिभरी’ को बेला आयो, सरकारले प्रभावकारिता देखाउन सकेन । त्यसैले जनताले गरेका प्रश्न, जनस्तरबाट भएका आलोचना र आम मान्छेले गरेका प्रश्नलाई ओलीले आफूविरुद्धको घेराबन्दीका रुपमा लिनुभन्दा समीक्षा गरेर कमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।

पार्टी अध्यक्षका रुपमा ओलीबाट तमाम नेता कार्यकर्ताले समान व्यवहारको अपेक्षा गरेका छन् । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै भइसकेको र कुनै लोभ नभएको भनाइ बारम्बार दोहोर्‍याउने ओलीबाट उनीहरुले व्यवहारमै त्यो अनुभव गर्न पाइयोस् भनेका हुन् ।

आफ्ना बफादारले अवसरको खातैखात पाउने, आलोचकले पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्थाले नेतृत्वको सफलता मापन हुँदैन । जुन नेताले आफ्नै कार्यकर्तामाथि न्याय गर्दैन, त्यसले जनतालाई न्याय दिन सक्दैन ।

जुन नेताले अझ राम्रो होस भनेर आउने आलोचना र टिप्पणीलाई षडयन्त्र देख्छ,उसको असफलता त्यहीँबाट शुरु हुन्छ । पार्टी सञ्चालनका सन्दर्भमा ओली र प्रचण्डले यो कुरा समान रुपमा मनन गर्नुपर्छ । सरकार सञ्चालनमा समेत रहेकाले प्रधानमन्त्री ओलीले अझ विवेकी बन्दै आलोचना पचाउन सक्नुपर्छ ।

आलोचना उसैको हुन्छ, जोसँग अपेक्षा गरिन्छ । अपेक्षा उसैसँग गरिन्छ, जो नेतृत्वमा छ । नेतृत्वमा हुनेले आलोचकका कुरा ध्यानपूर्वक सुन्दामात्रै सफलताको राजमार्गमा दौडिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment