Comments Add Comment

भारतलाई ‘ट्यारिफ किंग’ भन्ने ट्रम्पको निशाना कता ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतलाई ‘ट्यारिफ किंग’ को संज्ञा दिए । उनले दिएको यो विशेषणले भारतमा तरंग ल्याएको छ ।

ट्रम्पको यो भनाइमा गहिरिनुपूर्व हामीले विचार गर्नुपर्ने के हो भने ट्रम्प यस्ता राष्ट्रपति हुन् जो राजनीतिक बयानबाजी धेरै गर्छन् । केही विदेशी उत्पादनमा भारतले लगाउने भन्सार महशुल उच्च भएको आरोप लगाउँदै उनले ‘ट्यारिफ किंग’ को उपमा दिएका हुन् ।

मेरो विचारमा उनको दिमागमा भारत आयो होला, त्यसैले भारतको नाम लिए । मेक्सिको गए भने उनले मेक्सिकोकै नाम लिनेछन् । ट्रम्प आज केही भन्न सक्छन् र भोलि केही अरु नै भन्न सक्छन् । यो सामान्य भइसकेको छ । त्यसैले यसले अर्थतन्त्रमा धेरै असर गर्दैन ।

फेरि पनि उनले यसो किन भने भनेर प्रश्न त उठिहाल्छ । यसको पहिलो कारण यो पनि हो कि ट्रम्पको सोचको दायरा धेरै सानो छ । यसको एक उदाहरण हो हार्ली डेभिड्सन मोटरसाइकल । यो मोटरसाइकलको लागि भन्सार धेरै उच्च भएकाले अन्य उत्पादनमा पनि त्यस्तै होला भन्ने ट्रम्पले सोचेका होलान् । जबकी भारतीय बजारमा यो मोटरसाइकलको कारोबार केही मिलियन डलरको मात्र हुन्छ । यो धेरै सानो रकम हो । यस्तोमा उनले हचुवामा बोलेको अनुमान गर्न सकिन्छ । साथै, उनीसँग व्यापार र ट्यारिफको जानकारी धेरै सिमित छ भन्ने पनि प्रष्ट हुन्छ । सिमित जानकारीको आधारमा नै सम्भवत उनी सोचिरहेका छन्- फरक-फरक देशसँग फरक-फरक व्यापार नीति तयार गर्नुपर्छ ।

हामीलाई सन् १९३० को उदाहरणले नै थाहा हुन्छ कि यदि देशपिच्छे फरक-फरक नीति बनाउने कोसिस भयो भने यसले वैदेशिक व्यापार ठप्प हुन सक्छ । यसले सबैलाई नोक्सान हुन्छ, कसैलाई फाइदा हुँदैन ।

कुनै पनि उत्पादन एउटा मात्रै देशले बनाइरहेको भन्ने जमाना अब छैन । उदाहरणको लागि टोयोटा गाडीलाई हेरौं । यसको इन्जिन जापानबाट आउँछ, केही कम्पोनेन्ट सिंगापुरबाट आउँछ, केही भारतमा बन्छन् र केही कम्पोनेन्ट कुनै अरु देशबाट आउँछ । यस्तोमा फरक-फरक देशले आफ्नै हिसाबले भन्सार लगाउने कुरा भएमा काम नै रोकिनेछ ।

ट्रम्प भन्छन्, भारतको भन्सार धेरै उच्च छ । तर वास्तविकतामा अमेरिकाको भन्सार पनि कम छैन । बिशेषगरी लेदर प्रोडक्ट र टेक्सटाइल प्रोडक्टमा अमेरिकाको भन्सार उच्च छ ।

उनले आफ्नो सम्बोधनमा भने कि यदि भारतले भन्सार कम नगरे भारतीय उत्पादन अमेरिकामा भन्सार बढाउनेछन् । तर, यसले के फरक पर्छ भन्ने प्रश्न पनि उठ्छ । खासमा यसले केही पनि फरक पर्दैन ।

भारत र अमेरिका बीचको व्यापार भारतको फाइदामा छ । फाइदाको मतलब भारतले अमेरिकामा धेरै निर्यात गर्छ र आयात कम गर्छ । ट्रम्पले भन्सार बढाए भने उनकै बजारमा मुल्य बढ्नेछ । यो त कमिलालाई मार्नको लागि हात्ती खटाएको जस्तै भएन र ?

वास्तविकतामा हेर्ने हो भने भारतमा उच्च भन्सार थोरै उत्पादनमा लगाइएको छ । जसमध्ये इलेक्ट्रोनिक सामान पनि पर्छ । तर, एप्पल कम्पनीलाई भने यो दायराभन्दा बाहिर राखिएको छ । अमेरिकाले चीनबाट सबैभन्दा धेरै आयात गर्ने वस्तु एप्पल फोन हो जुन चीनमा एसेम्बल हुन्छ ।

चुनावी रणनीतिको हिस्सा

यहाँ यो ध्यान दिनुपर्ने कुरा पनि हो कि ट्रम्प नेता त पक्कै हुन्, तर एक व्यापारी पनि हुन् । सन् २०१९ को मध्यवधि निर्वाचन र सन् २०२० को चुनावको लागि अहिले ट्रम्प आफ्नो रणनीतिमा ध्यान दिइरहेका छन् । तर त्यसको लागि उनी आफ्नो व्यापारी साथीहरुलाई छोड्न सक्दैनन् ।

उनको यो बयानमा पनि यस कारणले पनि दम छैन कि यदि अमेरिकाले भारतसँग नयाँ व्यापार नीतिमा कुराकानी सुरु गर्‍यो भने त्यसलाई अन्तिम रुप दिन कम्तीमा पनि चार वर्ष त लागिहाल्छ ।

जहाँसम्म भारतको भन्सार महसुल व्यवस्थाको कुरा आउँछ, पक्कै पनि भारतमा भन्सारको दर बढी छ तर, भारतले कस्तो यात्रा तय गरेको छ भन्ने हेर्नुपर्छ । सन् १९९० को दशकमा भारतमा भन्सार ३०० प्रतिशतसम्म थियो । त्यहाँबाट १० प्रतिशत सम्म आएको छ । भारतले लगातार कम गरिरहेको छ । विश्व व्यापार संगठनको नीतिअनुसार यो काम भैरहेको छ ।

भन्सार नीतिलाई लिएर अमेरिका यदि चीनमाथि कडा रुपमा प्रस्तुत भैरहेको छ भने त्यो उसको रणनीतिको हिस्सा हुन सक्छ । किनभने एक सिद्धान्त त यो पनि छ कि चीनले अरु देशबाट केही पनि किन्दैन, आफ्नो उत्पादन मात्रै बेच्छ ।

अहिले विश्वभरको कुल कारोबार वार्षिक १६ खर्ब अमेरिकी डलर छ, जब कि चीनसँग ३.३ खर्ब डलर रिजर्भ छ । रिजर्भको मतलब तपाईं यो पैसा विश्वको बजारमा खर्च गरिराख्नुभएको छैन । अब यदि चीनले विश्व बजारमा पैसा खर्च गर्छ भने सम्झनोस् विश्वको २० प्रतिशत जनसंख्याको आवश्यकताको लागि उसले खरिद गर्नुपर्छ । त्यसले बजार कति बढ्नेछ ? त्यसैले अमेरिकाको दिर्घकालिन रणनीति यो पनि हुन सक्छ । उनको उद्देश्य यो हो भने ठिक छ, तर ट्रम्पले जुन तरिका अपनाइरहेका छन् त्यो ठीक छैन ।

(वरिष्ठ अर्थशास्त्री एवम् इन्डियन इन्स्टिच्युट अफ फरेन ट्रेड (आईएफटी)का निर्देशक पन्तको बीबीसी हिन्दीमा प्रकाशित आलेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment