+
फिफा विश्वकप २०२६ :

डेब्युटान्ट कुरासाओमाथि जर्मनीको गोल वर्षा

२०८३ असार  १ गते ०:४३ २०८३ असार १ गते ०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
  • विश्वकपमा पहिलो पटक खेलिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले पूर्व विजेता जर्मनीविरुद्ध ऐतिहासिक पहिलो गोल गरे ।
  • पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको जर्मनीले समूह ‘इ’ मा तीन अङ्क जोडेको छ ।

३१ जेठ, काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओलाई ७-१  ले सहजै पराजित गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यु गर्दै पूर्व च्याम्पियन विरुद्ध गोलको खाता खोल्न सफल भएपनि गोलको वर्षा भने रोक्न सकेन ।

जर्मनीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो । जर्मनीका लागि काई हाभार्ट्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन , डेनिज उन्डाभले एक-एक गोल गरे । कप्तान जोसुअ किम्मिचले दुई असिस्ट गरे ।

एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनीले सुरुवाती अग्रता लिएपछि कुरासाओमाथी  लगातार दबाब बनाएको थियो । तर कुरासाओका लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वकपको डेब्यु खेलमै चार पटकको विश्व विजेता जर्मनी विरुद्ध ऐतिहासिक गोल गरेको हो ।

जर्मनीलाई फेरि अग्रता लिन लामो समय कुर्नुपरेन । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।

त्यसपछि हाभार्ट्जले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमै ३-१ को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा पनि जर्मनी रोकिएन । जमाल मुसिएलाले ४७औं, ब्राउनले ६८औं र उन्डाभले ७८औं मिनेटमा गोल गरे ।

पहिलो खेलमै सहज जितपछि जर्मनीले समूह इ मा ३ अंक जोडेको छ । सन् २०१४ मा ब्राजिलमा विश्वकपको उपाधि जितेको जर्मनी त्यसपछि २०१८ र २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो । यस पटक भने पहिलो खेलमै जितपछि जर्मनीले नकआउट पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

जर्मनीले अब अर्को खेलमा आइभरीकोष्ट र कुरासाओले इक्वेडरसँग खेल्नेछ ।

समूह इ कै अर्को खेलमा सोमबार बिहान आइभरीकोष्ट र इक्वेडरबीच खेल हुनेछ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय