Comments Add Comment

‘ओलीप्रति अनुग्रहित छु, तर अब आँधी आउँदैछ’

‘प्रधानमन्त्री ओलीमा केही गरौं भन्ने भावना छ, तर...’

अहिलेको देशमा जुन किसिमको अवस्था छ । सतहमा हेर्दा केही देखिँदैन । तर, गहिरिएर हेर्ने हो भने मुलुकको अवस्था अत्यन्तै जर्जर र संकटपूर्ण छ ।

चालक राम्रै भयो भने पनि गलत बाटोबाट हिँड्यो भने गन्तव्यमा पुगिँदैन । नेताहरूमा इमानदारिता र क्षमता पनि होला, तर गलत बाटोबाट हिँड्यो भने लक्ष्यमा पुग्न सकिँदैन भन्ने अहिलेको घटनाक्रमले पुष्टि गरिराखेको छ ।

केपी ओलीको ठाउँमा शेरबहादुर देउवाजी भएको भए पनि परिस्थितिमा तात्विक रुपमा फरक पर्ने थिएन । केपी ओली अलिकति राष्ट्रवादी भावना राख्ने, केही गरौं भन्ने भावना राख्ने र नयाँ–नयाँ परिकल्पना गरिराख्ने मान्छे हुनुहुन्छ । तर, नेताहरूमा त्यो खुबीको पनि कमी छ । त्यसैले व्यक्ति वा दल परिवर्तन हुँदैमा अहिलेको परिस्थितिमा सुधार हुँदैन, जबसम्म हामीले नीति र मार्गचित्र परिवर्तन गर्दैनौं ।

गहिरिँदो संकट

अहिले एकातिर देशलाई टुक्र्याउनुपर्छ भन्ने विखण्डनकारी शक्ति क्रियाशील छन् । उनीहरूले क्रमशः आफ्नो प्रभाव बढाउँदै पनि लगेका छन् । विदेशीको चलखेल र प्रभाव तीव्ररुपमा बढ्दै गएको छ । नेपाल अन्तराष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिएको छ ।

योजनावद्ध र संगठित रुपमा भइरहेको धर्म परिवर्तनले गर्दा नेपालको राष्ट्रिय पहिचान पनि संकटमा परेको छ । अर्थतन्त्र कमजोर भएको कारणले गर्दा देशभित्र रोजगारी नपाए ४० लाख सिर्जनशील युवा विदेश पलायन हुन बाध्य छन् । सामाजिक सदभाव र एकता खल्बलिएको छ ।

राज्य संरचनाको प्रभावकारिता पनि तीव्ररुपले ह्रास आएको छ । संवैधानिक अंग, न्यायपालिका, सुरक्षा अंग, शैक्षिक संस्था तीव्र पार्टीकरणको चपेटामा परेका छन् । जसले गर्दा यी संरचनाहरूको प्रभावकारिता क्रमशः ह्रास आउँदै गइरहेको छ ।

संविधान निर्माण र निर्वाचनपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुन्छ, सिंगो राष्ट्रको ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुन्छ भन्ने आम जनताको आशा र भरोसा थियो । त्यहीअनुसार कम्युनिष्ट पार्टीले करिब दुई तिहाई मत पनि पाए । तर, आठ महिनाको कामकारवाही सन्तोषजनक छैन ।

आन्तरिक सुरक्षा कायम, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका कार्यलाई अगाडि बढाउन यो सरकार असफल भएको छ । दुई छिमेकीसँगको सम्बन्धमा आशंका र अस्थिरता कायम भएको छ । विश्व समुदायले नेपाललाई पत्याउने अवस्था घट्दै गएको छ ।

सरकारको असफलतामा व्यक्ति, दलको कमजोरी र अकर्मण्यता त छँदैछ । नीतिगत र व्यवस्थागत त्रुटीका कारणले परिस्थिति झनझन जटिल हुँदै गएको छ । सरकार त्यही कारणले असफल हुँदै गएको हो ।

ओलीजीप्रति अनुग्रंहित छु

नेकपा एमालेको नेताका रुपमा चिनजान भएदेखि केपी शर्मा ओलीसँग मेरो सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । बहुदलीय प्रजातन्त्रको स्थापनापछि उहाँसँग सुमधुर सम्बन्ध रहँदै आयो । संविधानसभामा आइसकेपछि त्यो अझै प्र्रगाढ बन्दै गयो ।

सरकारमा आइसकेपछि हाम्रो सम्बन्ध अत्यन्तै निकट र आत्मीय बन्दै गयो । कतिपय विषयमा उहाँको र मेरो समान धारणा रहेको मैले पाएँ ।

कतिपयले भारतको नाकाबन्दीका बेला मैले दिल्लीमा सम्झौता गरेको आरोप पनि लगाउँछन् । तर, वास्तविकता के हो भने नेपालको आन्तरिक विषयमा भारतसँग कहिल्यै पनि बहस छलफल गरेनौं । यो कुरा केपी ओलीलाई पनि थाहा छ । त्यो बेलामा सरकारमा बसेका अन्य दललाई पनि थाहा छ ।

मैले भारतमा गएर सम्झौता गरेँ भन्ने कुरा आधारहीन र कपोकल्पित हो । हामीले त्योबेलामा गरेको प्रयासस्वरुप राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिई नाकाबन्दीको अन्त्य गर्‍याैं ।  त्यो बेलामा कायम गरेको नीतिको परिणाम स्वरुप मधेसवादी दलहरू पनि संविधानको परिधिभित्र आएका छन् । र, सरकारमा पनि सहभागी छन् ।

निकट भविश्यमा नै चुनाव हुने भएपछि चुनावलाई दृष्टिगत गरेर तत्कालीन राप्रपासँग एकीकरण गर्‍याैं । हाम्रो एकीकरण भन्दा पहिला नै पशुपति समशेर राणाजीले नेतृत्व गर्नुभएको राप्रपा सरकारमा थियो । जसले एउटै पार्टी बनिसकेपछि स्वाभाविकरुपमा हामी सत्ता पक्ष बन्न पुग्यौं । एक प्रकारले भन्ने हो भने प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गरेका हौं । ओलीसँग सम्बन्ध बिग्रिएर त्यो सरकारमा सहभागी भएको होइन ।

म एमाले नेताहरू र केपी ओलीजीप्रति अनुगृहित छु । मैले एकपटक अनुरोध गर्नेवित्तिकै तत्कालीन वाम गठबन्धनसँग झापामा हाम्रो सहकार्य भयो । र, झापा ३ मा हाम्रो उम्मेदवारले जित्नु पनि भयो ।

त्यसअघि सहकार्य गर्न उहाँ धेरै लागि पर्नुभएको थियो । मनोनयनको दिन बिहानसम्म पनि टेलिफोनबाट तपाईँलाई कांग्रेसले धोका दिन्छ, हामी सहकार्य गरौं भन्न्ुभएको थियो । निश्चितरुपमा हामी तपाईलाई जिताउँछौं भन्नुभएको थियो । ओलीले त्यतिबेला मप्रति सदभाव राख्नुभएकै हो ।

तर, नेपाली कांग्रेससँग सम्झौता गरिसक्यौं, अन्तिम घडीमा आएर सम्झौता तोड्नु अनैतिक हुन्छ, हारजित जे भएपछि काँग्रेससँगै जानुपर्छ भनेर म वाम गठवन्धनमा गइनँ ।

एमालेमात्रै भएको भए गठबन्धनमा जान्थ्यौं । एमाले र माओवादीको बीचमा सहकार्य, चुनावी तालमेल गर्दै पछि पार्टी एकता नै गर्ने भएकाले पनि सहकार्य गर्न सकेनौं । तत्कालीन परिस्थिति अनुसार प्रजातान्त्रिक शक्तिहरूसित सहकार्य गर्नुपर्छ भन्ने सोचविचारका साथ नै कांग्रेससँग तालमेल गरेका थियौं ।

तर, केपीजीले मप्रति स्नेह र सदभाव राख्नुभएकै हो । स्थानीय तहको निर्वाचनमा फरक–फरक ढंगले समीकरण गरेका थियौं । विद्यासुन्दर शाक्यले हाम्रो भोटबाट जित्नुभयो । तर, एमालेको भोट हाम्रो पार्टीको उम्मेदवारलाई आएन ।

सबल र दुर्बल पक्ष

केपी शर्मा ओलीको सबैभन्दा बलियो पक्ष भनेको राष्ट्रवादी भावना, देशका लागि केही गरौं भन्ने सोचाइ र नयाँ नयाँ परिकल्पना गर्नसक्ने क्षमता हो ।

कमजोर पक्ष के छ भने जुन परिकल्पना गरेर बोल्नुहुन्छ, त्यसलाई कार्यान्वयन गर्ने केही तयारी नै हुँदैन । मनमा लागेको कुरा भनिहाल्नुहुन्छ । तर, त्यो विषयमा योजना बनाउने, कार्यान्वयन गर्ने र फलोअप गर्ने सिस्टम छैन । त्यो किसिमका सहयोगीहरू पनि छैनन् ।

उहाँ अरुका कुरा सुनेर चाँडै निर्णयमा पुग्नुहुन्छ । छिट्टै प्रभावित हुने र त्यो प्रभावबाट चाँडै मुक्त नहुने कमजोरी देखिन्छ । साना–साना घटनाले पनि सम्बन्धलाई असहज बनाउँछ ।

भारतको चुनाव सकिएपछि नेपालमा आँधी आउँछ

मुलुकको सामु देखा परेको जल्दाबल्दा समस्या र चुनौतिलाई बुद्धिमत्तापूर्ण ढंगबाट सम्बोधन नगर्ने हो भने हामी दुर्घटनातर्फ उन्मूख छौं । त्यो दुर्घटनाले अहिलेको राजनीतिक व्यवस्था र प्रणालीलाई पनि समाप्त पार्न सक्छ । विदेशी हस्तक्षेपलाई आकर्षित गर्छ र अन्ततोगत्वा देश विखण्डनतर्फ जान सक्छ ।

त्यसकारण सबै राजनीतिक दलहरूले पार्टीको निहीत स्वार्थभन्दामाथि राखेर जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ ।

भारतको चुनाव सकिएपछि नेपालको राष्ट्रिय राजनीतिमा ठूलो तुफान र आँधीबेहरी आउने सम्भावना देखेको छु । नेकपा माओवादी विप्लव समूह, जसले आमूल परिवर्तनको नारा बोकेको छ । अर्को, विखण्डनको नारा बोकेर हिँडेको सिके राउतको समूह । कांग्रेस र मधेसवादी दलहरू अवसरको ताकमा छन् ।

यी सबै कारणले गर्दा आगामी सात–आठ महिनापछि नेपाल अस्थिरता र अराजकतातर्फ उन्मुख हुँदैछ । यसमा प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल कसरी अगाडि बढ्छ भन्ने कुरामा निर्भर गर्छ ।

मेरो आफ्नै कुरा

हाम्रो पुख्र्यौली घर तनहुँ हो । मेरो जन्म भने डिल्लीबजार, काठमाडौंमा २०१२ साल भदौमा भयो । बुबा नेपाली सेनामा अधिकृत हुनुहुन्थ्यो । उहाँ अवकाश हुनुभएपछि हेटौंडामा बस्न थाल्यौं । हेटौंडा मेरो राजनीतिक कार्यक्षेत्र पनि हो ।

विद्यार्थी कालदेखि नै राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएँ । विद्यार्थी संगठन र युवक संघको केन्द्रीय अध्यक्ष हुँदै ३० वर्षको उमेरमा राष्ट्रिय पञ्चायत सदस्य बनेँ । प्रथमपटक मन्त्री बन्दा ३२ वर्षको थिएँ । पहिलोपटक क्याबिनेटमा मैले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएको थिएँ ।

०४६ सालमा बहुदलीय व्यवस्था आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय भएँ । पहिलो महाविधेशनले मलाई राप्रपाको केन्द्रीय प्रवक्ता बनायो । तेस्रो महाधिवेशनबाट महामन्त्री बनेँ ।

२०५१ मा मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएँ । बहुदलीय व्यवस्था स्थापना भएपछि पूर्वपञ्चहरू मध्येबाट पहिलोपटक मन्त्री बन्ने अवसर पाएँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएको थिएँ ।

२०६३ मा राप्रपा नेपालको केन्द्रीय अध्यक्ष बनेँ । राप्रपा र राप्रपा नेपालबीचको एकिकरणपछिको राप्रपाको नेतृत्व पनि मैले नै गर्दै आएको छु ।

फरक विचार बोकेको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपा स्थापना गरेका हौं । ०६२/०६३ को परिवर्तनपछि परिवर्तनलाई संस्थागत गर्ने क्रममा नेपाली जनताको प्रत्यक्ष अभिमतविना नै जुन नीति र विचारधारा स्थापित गर्ने प्रयास गर्‍याे र देशलाई जुन ढंगबाट अघि बढाउन खोजियो त्यो बाटो उपयुक्त थिएन र छैन भन्ने हाम्रो बुझाइ हो ।

नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक परिवेशमा राजसंस्थासहितको लोकतन्त्र, सबै धर्मकाबीच समानता, सबै धर्मलाई बराबरी स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र उपयुक्त हुन्छ भन्ने मान्यता साथ स्थापना भएको हो ।

यो पार्टीले दोस्रो संविधानसभामा जनताबाट राम्रो साथ पनि पायौं । शून्य अवस्थाबाट चार, पच्चीस र पार्टी एकिरणपछि ३७ सिटसहित चोथौ शक्तिको रुपमा रह्यौं । पछिल्लो पटक थ्रेसहोल्डका कारण राष्ट्रिय दलको मान्यता पाउनबाट बन्चित भयौं ।

दुर्भाग्यवश पछिल्लो संसदको निर्वाचनमा अत्यन्तै निराशा जनक परिणाम भोग्नु पर्‍याे । यसको मुख्य कारण भनेको निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजन, नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा देखिएको इमानदारिताको अभाव, प्रदेश र प्रतिनिधिसभामा न्यून उम्मेदवार उठाउन र पार्टी सरकारमा गएको र पार्टीले सिद्धान्तप्रति निष्ठा राख्न नसकेको भन्ने प्रचारलाई समयमै निराकरण गर्न नसक्नु हो ।

चुनावमा पराजयको वावजुद हाम्रो पार्टीले बोकेको सिद्धान्त सही छ भन्ने हाम्रो ठहर छ । विद्यमान संकट समाधानको बाटो राप्रपाले लिएको विचार नै हो ।

एउटा जीवन्त प्रजातान्त्रिक पार्टीमा असन्तोष र असहमति रहनु स्वाभाविक हो । त्यसलाई हामी पार्टीको विधानको परिधिभित्र रहेर प्रजातान्त्रिक ढंगबाट निराकरण गर्न सक्दछौं । त्यति गम्भीर आक्रोश छैन ।

देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको महशुस गर्दै हामीले विगतमा पनि समानविचारधारा राख्ने राजनीतिक दल, शक्ति र समूहसँग एकता गर्ने नीति अवलम्बन गर्दै आयौं ।

म अहिले सर्वसत्तावाद र साम्यवादी वर्चस्व, विखण्डन र बाह्य हस्तक्षेप रोक्न राष्ट्रवादी शक्ति निर्माण गर्न लागिपरेको छु । यसका लागि एक कदमपछि हट््न पनि तयार छु ।

मलाई सबैभन्दा ठूलो आरोप के छ भने पटक–पटक सरकारमा सहभागी भयो । जुनसुकै पार्टीको सरकारमा पनि सहभागी भयो ।

हिन्दु राष्ट्र र राजसंस्थाको अजेण्डा बोकेको पार्टी यसरी पटक पटक सरकारमा सहभागी हुँदा सिद्धान्तलाई छोड्यो भन्ने आरोपलाई म अस्वाभाविक ठाँन्दिन । हाम्रो कमजोरीलाई हामीले आमजनतालाई ठीक ढंगबाट बुझाउन सकेनौं ।

हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा लिएर संविधानलाई स्विकार्नुलाई विरोधाभास भन्ने जुन सोचाई छ । त्यो वास्तवमा ठीक होइन । हिन्दु राष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनप्रति अहिले पनि प्रतिवद्ध छौं । तर, त्यो लक्ष्य प्राप्त गर्नका लागि संविधान र प्रजातन्त्रको परिधिभित्र रहेर अगाडि बढ्ने नीति अवलम्बन गरेका हौं ।

संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । संविधानभित्रै रहेर आफ्ना मान्यता स्थापित गर्ने हाम्रो नीति भएको हुँदा संविधानलाई उपयोग गर्नु हाम्रो अधिकारको पनि कुरा हो । पार्टी बलियो बनाउने क्रममा हामीले सरकारमा जाने निर्णय गरेका हौं ।

तर, एउटा कुरा आत्मालोचनाका साथ स्वीकार गर्दछु कि सबै सरकारमा सहभागी हुनु राजनीतिक दृष्टिकोणबाट गल्ती थियो । यो कमीकमजोरीलाई सच्याउँदै आगाडि बढ्नु छ । जनताको भावना र पार्टीको एजेण्डाप्रति निरन्तर सजग रहनुपर्छ भन्ने पाठ हामीले सिकेका छौं ।

निरंकुश राजसंस्था चाहिँदैन

हाम्रोजस्तो भूराजनीति भएको देश, यस्तो धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र र राजसंस्था सहितको राजतन्त्र उपयुक्त हुन्छ । यस्तो धारणा रहेको पार्टी पटक–पटक सरकारमा सहभागी भएको जनताले रुचाएनन् । प्रजातन्त्रमा जनताको भावना सम्मान गर्न सकिएन भने त्यसको नतिजा नकारात्मक हुन्छ भन्ने पाठ पनि हामीले सिकेका छौं ।

हामी राजसंस्थाको पक्षमा छौं । तर, निरंकुश राजसंस्थाको वकालत गरिरहेका छैनौं । राजाले शासन गर्ने कुरा गरेका पनि होइन । शासनले जनताका प्रतिनिधिले नै गर्ने हो । तर, राष्ट्रियता र नेपाली जनताको प्रतिकको रुपमा चुनावी राजनीति भन्दा माथि उठेको, संसदको नियन्त्रणमा रहने एउटा साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्दछ । परिवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको कुरा गरेका हौं ।

०४७ को संविधानले परिकल्पना गरेकोभन्दा पनि विल्कूल फरक राजसंस्था । २०६२/०६३ अघिको जस्तो राजसंस्था पनि होइन । अबको राजसंस्था भनेको अभिभावकको रुपमा मात्रै रहनुपर्छ । राष्ट्रलाई अफठ्यारो परेका बेलामा स्पष्ट दिशानिर्देश गर्न सक्ने संस्थाको रुपमा रहोस् भन्ने हाम्रो मान्यता हो ।

परिवर्तनकारी शक्तिहरू राजसंस्थाविहीन प्रजातन्त्र वा लोकतन्त्रको पक्षमा हुनुहुन्छ । हामी राजतन्त्रसहितको प्रजातन्त्र वा लोकतन्त्रको पक्षमा छौं । प्रजातन्त्र र लोकतन्त्रको मान्यतामा दुबै पक्षको समानता छ । फरक राजसंस्थासहित हुने वा राजसंस्था विहीन हुने भन्नेमा हो ।

कुनै पनि मुलुकको स्थायित्व र अस्तित्व शुन्यमा खडा भएको हुँदैन । जसरी एउटा घर जगविना खडा हुन सक्दैन, त्यसैगरी राष्ट्ररुपी घर पनि आधारस्तम्भ विना खडा हुन सक्दैन ।

शदियौंदेखि सनातन धार्मिक सांस्कृतिक मूल्य मान्यता एउटा महत्वपूर्ण आधारस्तम्भका रुपमा थियो । संवैधानिक राजसंस्था अर्को आधारस्तम्भको रुपमा रहेको थियो । २००७ सालपछि प्रजातन्त्र तेस्रो आधारस्तम्भको रुपमा खडा भयो । सन् ८० को दशकपछि उद्धार अर्थतन्त्र चौथो आधारस्तम्भको रुपमा देखा पर्‍याे ।

२०६२/०६३ को परिवर्तनपछि समावेशिता पाँचाैं आधारस्तम्भको रुपमा खडा भयो । यी आधारस्तम्भले नै नेपालमा स्थायित्व र सन्तुलन कायम गरिराखेको थियो । त्यसमा भएका कमीकमजोरीलाई सुधार गर्दै निरन्तरता सहितको परिवर्तनको मान्यता अनुरुप काम गर्दै गएको भए अहिलेको संकटमा देश पर्दैनथ्यो ।

परम्परादेखि कायम रहँदै आएका आधारस्तम्भलाई भत्कायौं । तर, त्यसको विकल्पलाई ठीक ढंगबाट व्यवस्थित गर्नसकेनौं । नेपालको स्थायित्व र समृद्धिका लागि परिवर्तनकारी शक्ति र परम्परागत शक्तिकोबीचको सामञ्जस्य कायम राखेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो ।

(राप्रपा अध्यक्ष कमल थापासँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको कुराकानी )

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment