+
+

कुशलको कुशलता, जसले पायो उत्कृष्ट प्रहरी कुकुरको अवार्ड

गौरव पोखरेल गौरव पोखरेल
२०७५ कात्तिक २० गते २१:३२

२० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना भइरहेका बेला १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ परे ।’

कञ्चनपुर घटनामा धमिलिएको प्रहरीको छविलाई पोखरामा पाएको ‘सफलता’ ले एकहदसम्म भएपनि बचायो । समाचार पढ्नेहरुले भने, ‘राजनीतिक दबावमा नपर्ने हो भने नेपाल प्रहरी सक्षम छ ।’

तर, पोखरामा प्रहरीले पाएको ‘सफलता’मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ ।

त्यो हो प्रहरीको ‘कुशल’ नामक कुकुर । घटनालगत्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाबाट खटाइएको ‘कुशल’ नामक कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो । १० वर्षीया बालिका श्रेया विकको बलात्कार प्रयासपछि हत्या गरेका २७ वर्षीय कुसुम पौडेल घटना भएको २४ घन्टा नवित्दै पक्राउ परे ।

अपराधीको खोजी तथा पहिचानमा अब्बल जर्मन शेफर्ड जातको कुशललाई घटनामा प्रयोग भएको ढुंगा सुँघाइएको थियो ।

त्यसपछि कुशलले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्यो । सुरुमा कुशल स्तुपा जाने पैदल बाटो हुँदै उक्कालोतर्फ गयो । कुशल अल्मलिएझैं देखिन्थ्यो । तर, पुनः सोही बाटो ओरालोतर्फ झरेर सडक नजिकैको पसलमा वरिपरि घुमेपछि प्रहरीले छिमेकीमाथि नै शंका बढायो ।

हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर कुशलले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा कुशलले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाउँदैछ

नभन्दै अभियुक्त त्यही पसलमा रहेछन् । त्यहाँ बसेर मदिरा तथा लागूऔषध सेवन गरेको खुलेपछि प्रहरीले कुसुमलाई पक्राउ गरेको थियो । प्रहरीलाई दिएको बयानमा उनले भनेका थिए, ‘सुरुमा अघिल्लो दिन म हिँडेको बाटोतिर कुकुर गएपछि खुशी भएको थिएँ तर, फेरि मतिरै आउँदा झसँग भएँ ।’

कुशलको कुशलता यतिमा मात्रै सीमित छैन ।

उसले ११ असोजमा पोखरामा हत्या गरिएकी ६० वर्षीया श्रीमाया गुरुङको अभियुक्तलाई पनि पक्राउ गरायो ।

घर बाहिर बारीमा हत्या गरी छोपेर राखिएको अवस्थामा भेटिएको शवको छेवैमा रहेको ढुंगा र हँसियालाई सुँघेपछि कुशल अनुसन्धान कार्यमा खटियो । गन्ध पहिल्याउँदै अघि बढ्ने क्रममा कुशलले प्रहरीलाई ४ किलोमिटर पर चोकबाट भित्रपट्टी रहेको धानबारीसम्म पुर्‍यायो, जहाँ मृतकका श्रीमान् यमबहादुर गुरुङ लुकेर बसेका रहेछन् । सोधपुछका क्रममा उनले कसुर स्वीकारे ।

चार वर्षदेखि प्रहरी अनुसन्धानमा सेवारत् कुशल आज्ञापालन र अपराधीको खोजीका कारण अनुसन्धान अधिकारीहरुमाझ प्रिय छ । उसले थुप्रै घटनामा अनुसन्धानकर्तालाई सही बाटो देखाएको छ ।

हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर उसले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा कुशलले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाउँदैछ ।

मंगलबार महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयमा भएको कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनको मेडल हस्तान्तरण गरेका छन् । कुशल भने पोखरास्थित कार्यालयमै थिए ।

रेस्क्यू डग, जसले भूकम्पमा धेरैको उद्दार गर्‍यो

कुशल जस्तै नेपाल प्रहरीमा अर्को कुकुर हो, रेस्क्यू । जर्मन सेफर्ड जातको यो कुकुरले २०७२ वैशाखको विनाशकारी भूकम्पका समयमा धेरै मानिसको उद्दारमा महत्वपूर्ण भूमिका खेलेको छ ।

यो प्रहरी विद्यालयमा भएको सबैभन्दा पुरानो कुकुर पनि हो । खोज तथा उद्दारमा अब्बल भएकाले कुकुर परिचालन गर्ने प्रहरी अधिकारी (ह्यान्डलर)ले उसको नाम नै ‘रेस्क्यू’ राखिदिएका छन् ।

नेपालमै जन्मिएको रेस्क्यूले भूकम्पका बेला गोंगबु क्षेत्रका भग्नावशेषमा पुरिएकाहरुको पहिचान गर्न सहयोग गरेको थियो ।

त्यसअघि सान्जेन हाइड्रो पावरमा कार्यरत् इञ्जिनियर जगत घिमिरे सुख्खा पहिरोमा परी हराउँदा पनि रेस्क्यूले खोजीमा प्रहरीलाई सहयोग गरेको थियो । हराएको चार दिनसम्म पनि प्रहरी र सशस्त्रको टोलीले नभेटेका इञ्जिनियर घिमिरेको खोजीलाई रेस्क्यूले सहजै ‘सल्भ’ गरिदियो । रेस्क्यूले संकेत गरेकै स्थानमै उत्खनन् गर्ने क्रममा इञ्जिनियर घिमिरे मृत भेटिएका थिए ।

रेस्क्यू डग ।

कुशल र रेस्क्यू मात्रै होइन, भुन्टी नामक कुकुरले पनि ४ वटा घटनामा अभियुक्त पहिचान गर्न सहयोग गरेको छ ।

नेपाल प्रहरीसँग अहिले ७८ वटा अब्बल कुकुरहरु छन् । उनीहरु आ–आफ्नो दक्षताको क्षेत्रमा अब्बल रहेको केन्द्रीय प्रहरी विद्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देउती गुरुङ बताउँछिन् । ‘केन्द्रमा मात्रै ४१ वटा कुकुर छन्’, उनले अनलाइनखबरसँग भनिन्, ‘कतिपयलाई नेपालमै ट्रेन्ड गराइएको हो भने केही भारत, अमेरिका, थाइल्याण्ड लगायतका देशबाट ल्याएका छन् ।’

उनकाअनुसार प्रहरीसँग ४ प्रकारका कुकुर छन् । विस्फोटक पदार्थ पहिचान गर्न सक्ने र भीआईपी व्यक्तिको सुरक्षामा खटिने कुकुर ४० वटा छन् । त्यस्तै अभियुक्तको खोजी र पहिचान गर्ने क्षमता भएका २० वटा, लागूऔषध पत्ता लगाउने १५ वटा र खोजी तथा उद्दारमा अब्बल १२ वटा कुकुर छन् ।

एसएसपी गुरुङका अनुसार कुकुरलाई उनीहरुको जातको आधारमा पनि बेग्लाबेग्लै तालिम दिने गरिन्छ ।

जस्तैः ल्याब्रोडर जातका कुकुरलाई हातहतियार तथा विष्फोटक पदार्थको पहिचान तथा खोजीको मात्रै तालिम दिइन्छ । र, त्यही अनुसार तालिम दिइन्छ ।

जर्मन सेफर्डको हकमा भने हरेक विधाको तालिम दिन सकिन्छ । अधिकारीहरु यो जातको कुकुरलाई ‘अल राउण्डर’ डग पनि भन्छन् । हाल मुलुकभर प्रहरीको ९ वटा कुकुर शाखा छन् ।

हरेक घटनामा कुकुरको माग

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले कुकुरको प्रयोग गरेन भनेर व्यापक आलोचना भयो । कुकुर प्रयोग नगरेको भन्दै स्थानीयले प्रहरीको नियतमाथि नै प्रश्न उठाए ।

यसले अभियुक्त पत्ता लगाउन मात्र होइन, प्रहरी अनुसन्धान विश्वसनीय बनाउन पनि कुकुरको भूमिका कति महत्वपूर्ण भइसकेको छ भने देखाएको प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।

प्रहरी कुकुरको विषय अहिले ‘सेन्सेटाइज’ पनि भएको छ । हरेक जघन्य अपराधका घटनाको अनुसन्धान गर्दा प्रहरीले कुकुर प्रयोग गर्‍यो कि गरेन भनेर खोजी हुन्छ । घटनास्थलको प्रकृति अनुसार कुकुर प्रयोग गर्न नमिल्ने भएपनि कुकुर ल्याउनैपर्ने अडान समेत पीडित पक्षले लिने गरेको पाइएको छ ।

निर्मला हत्यामा घटनास्थल हिलाम्मे हुनुका साथै खोजीका क्रममा अन्य मानिसहरु घटनास्थलमा प्रवेश गरिसकेकाले अनुसन्धान ‘मिस लिड’ हुनसक्ने भएकाले कुकुर प्रयोग नगरेको प्रहरी अधिकारीहरु बताउँछन् । तर, कुकुर प्रयोग नगर्नुलाई पनि स्थानीयले प्रहरी लापरवाही माने ।

प्रहरी अधिकारीहरुका अनुसार कुनै पनि घटनाको अनुसन्धानमा कुकुरको प्रयोग गर्दा निकै संवेदनशील हुनुपर्छ ।

किनकी सबुतका रुपमा सुँघाइएको बस्तु पहिल्यै कुनै मान्छेले समातेको छ भने कुकुरले त्यही मान्छेलाई समाउन सक्छ र अनुसन्धान गलत ट्याकमा मात्र जाँदैन, निर्दोष मानिस पनि पक्राउ गर्न सक्छन् ।

यद्यपि, अपराध अनुसन्धानका क्रममा प्रहरीले कुकुर प्रयोग गर्‍यो कि गरेन भनेर खोजी हुनुले ‘कुनै पनि अपराध अनुसन्धानका कुनै पनि विधि अब बाँकी राख्नु हुँदैन’ भन्ने सन्देश भने दिएको छ । त्यसलाई स्वीकार गर्दै प्रहरीको कुकर विद्यालयका एक अधिकारी भन्छन्, ‘केही अघि नुवाकोटमा हत्यापछि भीरबाट फ्यालेको घटनामा हामीले यहाँबाट राति नै कुकुर पठाएका थियौं ।’

कसरी अपराधीसम्म पुग्छ कुकुर ?

अपराध अनुसन्धानको दायरालाई साँघुरो बनाउन सहयोग गर्ने कुकुरले आखिर कसरी काम गर्छ त ?

प्रहरीको कुकुर विद्यालयकी प्रमुख डा. गुरुङ भन्छिन्, ‘हाम्रो छालाबाट मृत कोषिकाहरु हरेक मिनेट झरिरहेका हुन्छन् । तिनीहरुको गन्धको आधारमा तालिम प्राप्त कुकुर अपराधीसम्म पुग्ने हो ।’

डाक्टरहरुका अनुसार मानव शरीरबाट प्रतिमिनेट ४० देखि ६० हजार वटासम्म कोषिकाहरु झर्ने गर्छन् । त्यहाँबाट निस्किने गन्ध एउटा मान्छेबाट अर्कोसँग मिल्दैन । घटनास्थलमा भेटिने त्यस्ता कोषिकाहरु प्रहरीको कुकुरले सुँघ्छ र त्यसलाई पछ्याउँदै अपराधी भएको ठाउँसम्म पुग्छ ।

कुकुरलाई राम्रोसँग परिचालनका लागि घटनास्थलमा अलिकति चिसोपन हुँदा सहज हुन्छ । तर, धेरै चिसो भयो भने पनि शवबाट गन्ध आउँदैन । धेरै गर्मी हुँदा पनि उडेर जान्छ । त्यसैले कुकुर परिचालनका लागि बिहानीपखको समय उपयुक्त हुने ‘ह्याण्डलर’हरुको अनुभव छ ।

कुकुर परिचालनका सीमितता

अनुसन्धानमा कुकुर परिचालनका केही सीमितता पनि छ । अधिकारीहरुकाअनुसार कुकर परिचालनका लागि २४ घण्टाभित्रको समय उपयुक्त हुन्छ । त्योभन्दा ढिलो भए सतप्रतिशत परिणाम नआउन सक्छ ।

यद्यपि, अहिले नेपाल प्रहरीले ७८ घन्टाको अवधिसम्म परिणाम दिन सक्ने कुकुर पनि ल्याएको छ ।

त्यस्तै, घटनास्थल सुरक्षित नभए पनि सफलता प्राप्त हुन कठिन हुन्छ । यदि कुनै चौबाटोमा पुगेर अपराधीले सवारी साधन प्रयोग गरेको छ भने पनि ट्र्याक पहिल्याउन गाह्रो हुन्छ । यदि अभियुक्त हिँडेर गएको छ भने पत्ता लगाउन निकै सहज हुन्छ, जुन पोखराको घटनामा भएको थियो ।

प्रहरीका कुकुरसँग पनि मानिसहरुमा झैं फरकफरक क्षमता हुन्छ । कसैले छिटो परिणाम दिन्छन् भने कोहीले बढी समय लगाउँछ । त्यो कुकुरको उमेरअनुसार पनि फरक पर्ने देखिएको छ ।

कुकुर परिचालकमा पनि त्यो भर पर्छ । उसले कसरी तालिम दिएको छ भन्ने विषय पनि मुख्य कुरा हो ।

प्रहरी कुकरका खान्की र उपचार

प्रहरी विद्यालयमा कुकुरको नियमित स्वास्थ्य जाँचदेखि अभ्याससम्म हुन्छ । विहानै खोरबाट निकालेर उनीहरुलाई दिसापिसाबसँगै व्यायाम, मसाज गरिन्छ । अनुसन्धानको अभ्यास पनि दैनिक गराइने विद्यालयका प्रहरी निरीक्षक रामचन्द्र सत्याल बताउँछन् । प्रहरीले परेड गर्दा कुकुरलाई अभ्यास गराइन्छ ।

सामान्यतयाः एउटा कुकुरले दैनिक ६ सय ग्राम दाना खान्छ । ‘तालिम प्राप्त कुकुरहरुलाई दैनिक दुई पटक रेडिमेड दाना खुवाउने गरिन्छ,’ इन्स्पेक्टर सत्यालले अनलाइनखबरसँग भने, ‘टेन्डर आह्वान गरेर खरिद गरिएका दाना नै उनीहरुलाई खुवाइने हो ।’

कुकुरको स्वास्थ्योपचारका लागि ४ जना सिनियर अफिसर तैनाथ हुन्छन् । विद्यालयका प्रमुख एसएसपी गुरुङका साथै एसपी, डिएसपी र प्रहरी निरीक्षकसम्म एक–एक चिकित्सक हुन् ।

कुकुरमा धेरैजसो देखिने स्वास्थ्य समस्या भनेको उनीहरुलाई ब्याक्टेरियल इन्फेक्सन भएर ज्वरो आउँछ । कतिपय अवस्थामा किर्नाका कारण विभिन्न रोग पनि लाग्ने गरेको छ । तर, त्यहाँका डाक्टरहरुले नियमित स्वास्थ्य जाँच गरेर कुकुरलाई स्वस्थ राख्न हरसम्भव प्रयत्न गर्छन् ।

मारियो, जंगेदेखि अनेक नाम

अहिले नेपालकै कुकुरलाई पनि तालिम दिएर अनुसन्धानमा प्रयोग गर्ने गरिन्छ । ब्रिडिङ हाउसमा गएर खेलाउँदा, खाना दिँदा असाधारण देखिएका कुकुरहरुलाई तालिम दिएर अनुसन्धानमा अब्बल बनाउने गरिन्छ । एउटा कुकुरलाई ‘ट्रेन्ड’ गर्ने अवधि ७८ दिन मानिन्छ । तर, ६ महिनासम्मको निरन्तर अभ्यासपछि मात्रै ड्यूटीका लागि कुकुर पूर्णतः तयार हुने अधिकारीहरु बताउँछन् ।

सामान्यतया कुकुर परिचालन गर्ने प्रहरी अधिकारी (ह्यान्डलर)लाई बोलाउन सहज हुने नाम कुकुरलाई दिइने गरिन्छ । स्वदेशी र भारतबाट ल्याइएका कुकुरलाई नेपाली नाम नै दिइएको छ । तर, कतिपय अमेरिकाबाट ल्याइएका कुकुर पनि छन् । उनीहरुलाई भने त्यहीँको नामले बोलाइन्छ ।

हाल केन्द्रीय कुकुर विद्यालयमा दुई वटा अमेरिकी कुकुर छन् । उनीहरुलाई ‘फिलिप’ र ‘सोल’ नाम दिइएको छ ।

कुकुर विद्यालयका अधिकारीहरु तालिममा जाँदा अमेरिकी सरकारले उपहार दिएका दुवै कुकुर विष्फोटक पदार्थको पहिचानमा विज्ञ हुन् ।

उनीहरु भीआईपी सुरक्षामा पनि खटिन्छन् । विद्यालयका प्रहरी निरीक्षक रामचन्द्र सत्यालका अनुसार विष्फोटक पदार्थ पहिल्याउने क्षमता भएका २२ वटा कुकुरहरु आलोपालो गरेर आवश्यकता अनुसार खटिन्छन् ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायतको सवारी र कूटनीतिक नियोगको माग अनुसार पनि कुकुरहरुलाई प्रयोग गर्ने गरिन्छ ।

विमस्टेक सम्मेलन जस्ता अन्तर्राष्ट्रिय भीभीआईपी सहभागी कार्यक्रममा पनि उनीहरुबाट ‘स्नीफिङ’ गराइन्छ ।

भारतबाट पनि विभिन्न क्षमताका कुकुरहरु ल्याइएका छन् । तर, तिनीहरुको नाम नेपालीमा नै राखिएको छ ।

नेपाल प्रहरीसँग भएका भुन्टी, साथी, मारियो, लक्की, जंगे, लैला, गंगा, लियो लगायत अधिकारीहरुका प्रिय कुकुर हुन् । जंगेले गत वर्ष चुनावका बेला ललितपुरमा म्यादी प्रहरीले एक व्यक्तिलाई हत्या गरेको घटनाको अनुसन्धानमा प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो । घटनापछि म्यादी प्रहरी भागेको बाटोको पहिचान गरेर उसलाई पक्राउ गराउन सफल भएको थियो जंगे ।

प्रहरीमा कुकुरको प्रयोगको ५० वर्ष

नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग गरेको आज कुकुर तिहारको दिन ५० वर्ष पुगेको छ । ०२६ सालमा ४ जना प्रहरी अधिकारीलाई कुकुर तालिमका लागि मलेसिया पठाइएको थियो । त्यहाँबाट चार वटा तालिम प्राप्त कुकुर नेपाल ल्याएर अनुसन्धानमा प्रयोग गर्न थालिएको इतिहास छ ।

त्यसबेला प्रहरी प्रधान कार्यालयको एउटा कोठामा कुकुर सीमित थियो । ०३२ सालमा भने छुट्टै कुकुर शाखा स्थापना गरियो र १० जनाको दरबन्दी राखियो । कुकुरको प्रयोग बढेसँगै केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय ०४७ सालमा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी बताउँछन् ।

हाल पोखरा, धरान, हेटौंडा, कोहलपुर लगायतका स्थानमा कुकुर शाखा छन् । नेपाल प्रहरीको कुकुर शाखाको स्वर्ण जयन्तीको सन्दर्भमा मंगलबार विशेष समारोह आयोजना गरिएको छ । त्यहाँ प्रहरी कुकुरले विभिन्न कला, कौशल पनि देखाउने प्रवक्ता सुवेदी बताउँछन् । सोही अवसरमा भाइबरले पनि प्रहरीको कुकुरको नामको स्टीकर सार्वजनिक गर्दैछ ।

कुकुर परिचालकको अभाव

कुकुर परिचालनको अन्तर्राष्ट्रिय सिद्धान्तले भन्छ, ‘वान डग टु ह्याण्डलर’ अर्थात् ‘एक कुकर परिचालन गर्ने दुई जना अधिकारी’ । तर, नेपालमा भने ठीक विपरित छ, ‘टु डग वान ह्याण्डलर’ । जनशक्ति अभावका कारण अहिले दुई वटा कुकुरलाई एउटा ह्याण्डलरले हेर्नेु पर्ने बाध्यता छ ।

हाल डाक्टरहरुसहित केन्द्रीय कुकुर विद्यालयमा ५३ जना कार्यरत् छन् । अझै ६८ जनाको दरबन्दी खाली छ ।

रिक्त दरबन्दी पूर्ती नहुँदा ह्याण्डलरको संख्या कम भएको हो । हरेक कुकुरले आफ्नो ह्याण्डलरबाहेक अरुको निर्देशन टेर्दैनन् । यस्तो अवस्थामा एउटा ह्याण्डलर विरामी भए त्यो कुकुरबाट काम लिन सकिँदैन ।

त्यही भएर पनि ‘वान डग टु ह्यान्डलर’ को सिद्धान्त राखिएको छ । तर, नेपाल प्रहरीमा त्यसो हुन सकेको छैन ।

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?