Comments Add Comment

संसदीय समितिमा सुगतरत्नको प्रश्न : वाइडबडीको कागजपत्र असनमा बाँड्नुपर्ने हो ?

७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदको कागजातहरु असन बजारमा बाँड्नुपर्ने हो भन्दै संसदीय समितिमै जंगिएका छन् ।

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर दिने क्रममा महानिर्देशक कंसाकारले वाइडबडी खरिदको कागजात माग्नेहरु धेरै भएको भन्दै ‘के असन बजारमा लगेर बाँड्नुपर्ने हो ?’ भनेका हुन् ।

एक पटक त असन बजारमा लगेर बाँडिदिने सोच बनाएको तर, कानूनले नमिल्ने भएकाले नगरेको उनले सुनाए । केही पत्रकारहरुले वाइडबडी खरिदको विषयमा नकरात्मक प्रश्नहरु सोध्ने र केही सञ्चार माध्यममा भाडामा ल्याएको भन्दै समाचार प्रकाशन समेत भएको भन्दै उनले आफूले त्यसलाई मजाकको रुपमा लिएको बताए ।

महानिर्देशक कंसाकारले भर्खरै सार्वजनिक भएको श्वेत पत्रका विषयमा पनि आफू सन्तुष्ट नभएको स्संकेत गरे । ‘हुन त हामीले सल्लाह गरेर नै श्वेत पत्र ल्याएका हौं तर, अहिले पछुतो भइरहेको छ’ उनले भने, ‘हामीले गत वर्षमा ३६ करोड मूनाफा कमाएका छौं, केही महिनाको आधारमा तयार पारेको श्वेतपत्र हेरेर नकारात्मक नबुझ्नुहोला ।’

छलफलका क्रममा सांसदहरुले सार्वजनिक खरिद ऐनको प्रक्रिया मिचेर विमान खरिद गरिएको कुरा आएको र यस विषयमा प्रष्ट पार्न उनलाई आग्रह गरेका थिए ।

तर, महानिर्देशक कंशाकारले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमिचेको दाबी गरे । विमान खरिद गर्नुपुर्व व्यापारिक योजना तयार पारेर विमान खरिद गरिएको समेत उनले स्पष्ट पारे । ‘व्यापारिक योजना तयार नगरी त १९ सिटे विमान पनि किन्न सक्दैनौं’ उनले भने, ‘हामीले व्यापारिक योजना बनाएर खरिद गरेका हौं, यसमा शंका छैन ।’

भीम रावल कड्किएपछि मागे माफी

महानिर्देशक कंसाकार बोलिरहेका बेला सत्तारुढ नेकपाका सांसद भीम रावलले केही शब्दलाई लिएर आपत्ति जनाए । संसदीय समितिलाई ‘असन बजार’ भन्ने शब्द प्रयोग गरेर अवहेलना गरेको भन्दै कंसाकारलाई माफी माग्नुपर्ने रावलको माग थियो ।

‘तपाई धेरै गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु भएको छ, तपाईले असन बजार भनेर गरिमामय समिति बैठकलाई अपमान गर्नुभयो’ पूर्वमन्त्रीसमेत रहेका सांसद रावलले भने, ‘विषय उठिसकेपछि तपाई गम्भीर भएर उत्तर दिनुपर्ने हो । मजाक गरेर बस्ने होइन ।’

रावलको आपत्तिपछि महानिर्देशक कंसाकारले आफूले सम्मानित समितिलाई त्यस्तो नभनेको भन्दै माफी मागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment