Comments Add Comment

फेसबुक लाइभ गर्नेले दमकलको बाटो छेकेपछि….

१० मंसिर, काठमाडौं । छोरीलाई लिन नजिकैको विद्यालय गएका बेला नयाँ बानेश्वरस्थित बुद्धनगरकी मञ्जु श्रेष्ठले सोमबार दिउँसो घरतिर धुँवाको मुस्लो निस्किरहेको देखिन् । एलकेजीमा पढ्ने छोरीलाई लिएर घर फर्किंन लाग्दा त्यो दृश्य देखेपछि श्रेष्ठ अत्तालिइन् ।

आफ्नै घरमा आगलागी भयो कि भन्ने ठानेर उनी दर्गुदै त्यसतर्फ लागिन् । तर, भिडलाई छिचोल्न उनलाई हम्मेहम्मे पर्‍यो । ‘हट…हट… भन्दै घचेटेरभित्र छिर्नुपर्‍यो’, उनले दुखेसो पोखिन्, ‘आत्तिएर दौडिरहेकी छु । सबै बाटो छेकेर बस्या छन् ।’

जसोतसो उनीभित्र छिरिन् । आफ्नो घरमा आगो नलागेको चाल पनि पाइन् । तर, कहाँ आगो लागेको हो भन्ने अझै प्रस्टसँग थाहा पाउन सकिनन् । केहीबेरमा थाहा भयो, छिमेकमा रहेको फर्निचर गोदाममा आगो लागेको रहेछ ।

उनी त्यहाँ पुग्दा सयौं मान्छे भेला भइसकेका थिए । एकपछि अर्को दमकल आउने क्रम पनि जारी थियो । मान्छे त सयौं थिए । तर, सामान निकाल्न वा निभाउन सहयोग गर्ने भने कोही थिएनन् । उनीहरु मोबाइलले तस्वीर खिचिरहेका थिए ।

‘केही नगरे पनि दमकललाई बाटो छोड्दिनु त पर्छ’, श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘तर, अहँ… दमकलभित्र ल्याउन पनि प्रहरीले मान्छे खेदाउनुपर्‍यो ।’

गोदाम नजिकै टहरा थियो । त्यहाँ एक महिला र बालिका थिए । श्रेष्ठको ध्यान त्यतातिर पुग्यो । र, उनीहरुको टहराबाट सामान निकाल्न थालिन् ।

तर, उता भिडको चर्तिकला भने त्यतिमा मात्रै सीमित थिएन । आँखै अगाडि आगो दन्किरहेको छ, मानिसहरु भने फोटो/भिडियो खिच्न र फेसबुक लाइभ गर्नमै व्यस्त थिए । श्रेष्ठ दुखेसो पोख्दै भन्छिन्, ‘सबै मान्छेले सामान निकालिदिएको भए धेरै सेभ हुन्थ्यो । तर… ।’

रमिता हेर्नेबाहेक त्यहाँ उपस्थित भिडको कुनै काम थिएन । ‘हामीले यहाँ सामान ओसार्दैछौं’, उनले भनिन्, ‘अधिकांश मानिसहरु भने रमिता हेरिरहेका छन् ।’

‘त्यहाँका कुर्सीहरु पनि पुलिसले ननिकालेको भए सहयोगका लागि एक जना पनि छिर्ने थिएनन्’, श्रेष्ठ भन्छिन्, ‘एउटा चाहिँ बाहिरको मान्छे आएर पनि निकालेको थियो !’

दुई व्यवसायीका गोदाम क्षणभरमै खरानी

आगलागी भएको दोलखा घर भई बालुवाटर बस्दै आएका व्यवसायी राम कार्की र गुल्मी घर भई बत्तीसपुलती बस्दै आएका मानबहादुर भुसालको फर्निचर छेवैमा एउटा परिवार बस्छ । टीन लगाएको बसोबास गर्न मिल्ने बनाइएको ठाउँमा लामो समयदेखि बस्दै आएका थिए, महोत्तरीका अग्नि सिंह चौधरी ।

सामान्य मजदुरी गरेर जीविका चलाइरहेका चौधरीले साढे ३ बजे फोनमा आफ्नो झुपडी पनि जल्न लागेको खबर पाए । त्यो सुनेर गैरीधारामा रहेका उनी छाँगाबाट खसेझैं भए र रन्थनिँदै बानेश्वरतिर हानिए ।

‘कोठामा ताल्चा लगाएर काममा गएको थिएँ’, उनले सुनाए, ‘दगुरेर आएँ । तर, भित्रसम्म पुग्न सकिनँ ।’ रमिता हेरेर बस्नेहरुका कारण उनले आफ्नै अगाडि आगो दन्किरहँदा पनि टुलुटुलु हेरेर बस्नु सिवाय अरु केही गर्न सकेनन् । सामान निकाल्ने र निभाउन सहयोग गर्नेभन्दा फोटो खिच्ने र उद्दारमा समेत डिस्टर्भ गर्न थालेपछि प्रहरीले उनीहरुलाई भित्र छिर्न दिएको थिएन ।

‘म आइपुग्दा केही दमकल आइसकेको थियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यतिवेलासम्म केही गोदामको आधा जति भाग जलिसकेको थियो ।’

उनका अनुसार दुई सञ्चालकहरु सामान राख्दै पिच्छे त्यहाँ आउने गरेका थिए । ‘दुई दिनअघि मात्रै पनि यहाँ सामान थपिएको थियो’, उनले स्मरण गरे, ‘धन्न, प्रहरी कार्यालय नजिकै भएकाले दमकलहरु चाँडै आउँदा आगो अन्यत्र चाहिँ फैलिएन !’

जब बिजुली गयो…

छिमेकी गीता श्रेष्ठ भने हल्लाखल्ला भएको सुन्नेबित्तिकै घरबाट निस्किइन् । केहीवेरमै बिजुली पनि गयो । मुलुक लोडसेडिङमुक्त भएको दुई वर्ष भइसकेका बेला एक्कासी बिजुली जाँदा गीतासहित बुद्धनगरका अधिकांश व्यक्तिहरुले आश्चर्य माने ।

तर, बाहिर निस्केका मानिसहरुले आगोको मुस्लो देखेपछि भने बत्ती जानुको कारणबारे चाल पाए । आगलागी भएको गोदाम नजिकै महानगरीय प्रहरी प्रभाग, बुद्धनगर छ । जसका कारण प्रहरीले आगलागीको सूचना छिटो पायो र उद्धारमा जुट्यो ।

आगलागीबाट दुई जना सञ्चालकको गरी करिब साढे ६ करोड रुपैयाँ खर्च भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ

गीताका अनुसार उनीबाहिर निस्किँदा प्रहरी आएर सामान निकाल्न थालिसकेको थियो । ‘हामीले त केही सोच्नै सकेका थिएनौं । दमकल बोलाउने कि सामान निकाल्ने कि के गर्ने गर्ने…’, उनले भनिन्, ‘तर, प्रहरीले सबैतिर खबर गरिसकेको रहेछ । झण्डै आधा घण्टापछि काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ आइपुग्यो ।’

उनका अनुसार सुरुमा दुईवटा भ्यानमा प्रहरीको टोली आएको थियो । त्यो टोली खटिएको केही समयपछि दमकल आएको थियो ।

‘सुरुमा अलिअलि मात्रै आगो लागेको थियो । निभ्छ होला भन्ने लाग्यो’, उनले भनिन्, ‘तर, आगो निभाउँदै गर्दा त झन्झन् दन्किँदै गयो ।’ त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सल, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका विभिन्न नगरपालिकाबाट सहित गरी १० वटा दमकल आगो निभाउन आइपुग्यो ।

‘राति आगो लागेको भए त ध्वस्तै हुने रहेछ नि’, उनले सम्झिन्, ‘दिउँसो भएकाले धेरै सहज भयो ।’

प्रहरीले अहिलेसम्म घटनाको कारण पत्ता लगाउन सकेको छैन । तर, श्रेष्ठसहितका छिमेकीहरुले पनि दुईवटा आशंका गरेका छन् ।

पहिलो– बिजुली सर्ट भएर आगो लाग्यो कि ? दोस्रोचाहिँ, त्यहाँ दुईजना केटाहरु सामानको रेखदेखका लागि बसेका थिए, उनीहरुले चुरोट खाएर पो फ्याले कि ?

प्रहरीको अनुसन्धान पनि यिनै दुई विषयकै वरिपरि घुमेको छ ।

साढे ६ करोड क्षतिः प्रहरी

घटनास्थलमा भेटिएका केही मानिसहरु भने नजिकै रहेको कोठाबाट सामान निकालिएकोप्रति चिन्ता व्यक्त गर्दै थिए । ‘यहाँको त बिजोग नै भएछ नि’, एक अधवैंशे युवक भन्दै थिए, ‘सामान छरपस्ट छ, भित्र पनि भताभुंग । फेरि हाल्न पनि सघाइदिए हुने नि !’

तर, त्यसो भन्दै उनी पनि आफ्नै बाटोतिर लागे ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार आगलागीमा ६ करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

‘दुई सञ्चालकमध्ये कार्कीले ५ करोड ५० लाख रुपैयाँको क्षति भएको बताउनुभएको छ’, उनले अनलाइनखबरसँग भने, ‘सजावट प्रालिका सञ्चालक भुसालले चाहिँ १ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गर्नुभएको छ ।’ उनका अनुसार आगो नियन्त्रणमा लिनका लागि १० वटा दमकलसहित १५० जना प्रहरी अधिकारी खटिएका थिए ।

आगो साँझ ५ बजे नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment