Comments Add Comment

नेकपामा बैठक बस्नै संकट, अध्यक्ष प्रचण्डले नै व्यक्त गरे दिक्दारी

१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै उनले दिक्दारी व्यक्त गरेका हुन् ।

पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुसँग मंगलवार भएको भेटमा प्रचण्डले बैठक बस्न नसकिरहेको भन्दै लाचारी व्यक्त गरेको एक नेताले बताए । उनका अनुसार अध्यक्ष प्रचण्ड आफैं असन्तुष्ट देखिए ।

प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने- तपाईंहरुका माग र गुनासा जायज नै छन् । अबको बैठकका एजेण्डा पनि यिनै हुन् । तर बैठक नै बस्न सकिरहेको छैन । प्रधानमन्त्रीको व्यस्तताले पनि होला । बैठक नै बस्न नसकिने, खै के खै के जस्तो भइरहेको छ ।

सोमवारै केन्द्रीय सचिवालय बैठक बसेर केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा प्रदेश कमिटीहरुको टुंगो लगाउने भनिए पनि बैठक बस्न सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्ने गरेको आरोप नेकपा नेताहरुले लगाएका छन् ।

यसैबीच नेकपा सचिवालयको बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । यद्यपि अन्तिम समयमा प्रधानमन्त्रीको समय नमिलेमा बैठक स्थगित हुन सक्ने स्रोतले जनाएको छ । यसअघि केन्द्रीय सदस्यहरुको कार्य विभाजन टुंगो लगाउनका लागि बैठक रोकिएको थियो ।

केन्द्रीय सचिवालयले कार्यविभाजन तथा एकीकरणको प्रस्ताव तयार पारेपछि स्थायी कमिटी बैठक बोलाइने नेकपाले जनाएको छ । बिधानअनुसार ३ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक ५ महिनादेखि बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment