१३ मंसिर, काठमाडौं । मंगलबार साँझ गोंगबुस्थित गेस्ट हाउसबाट बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको नखुलुञ्जेलसम्मका लागि प्रहरीका लागि एक मात्र ‘सुराक’ थिए, स्याङ्जाका मेहन्द्र ऐसके । किनकी, अन्तिम पटक उनी नै बालकसँग देखिएका थिए ।
त्यस दिन गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक एवं प्रयासका बुबा प्रविण नियमित स्वास्थ्य परीक्षणका लागि बाहिर निस्किएका थिए । फर्किएर आएपछि आफ्ना सवारी चालक महेन्द्रबाटै उनले छोरा हराएको सूचना पाए ।
अत्तालिँदै महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवदेन दिए । छरछिमेकदेखि आफ्ना आफन्तसम्म सबैतिर खोजी गरे ।
ऐसके आफैंले पनि प्रयासको खोजीमा मालिक एवं बालकका बुबा प्रविणलाई सहयोग गरिरहे । तर, प्रहरीसमक्ष उनले दिएको बयान र कल डिटेललगायतका विषय मेल खाएन ।
अब प्रहरीले ऐसकेमाथि नै शंका गर्न थाल्यो । अन्ततः बुधबार उनी पक्राउ परे । ‘त्योभन्दा अघि हामी उसकै सूचनाको आधारमा बालकको खोजी गरिरहेका थियौं’, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, उनलाई पक्राउ गरेपछि थाहा भयो, ऐसकेले बच्चाको अपहरण गरेका रहेछन् ।’
केरकार गर्न थालेपछि उनले बालकलाई अपहरण गरेको स्वीकारे । ‘उनैले बालकलाई हत्या गरेर म्हैपीको पुलमुनि फ्यालेको बताएपछि हामी त्यहाँ गएका थियौं’, ती अधिकारीले भने, ‘गएर हेर्दा त्यहाँ जेब्रा झोलामा बालकको शव भेटियो ।’
उनले बयानका क्रममा बुबा स्वास्थ्य जाँचका लागि निस्किएपछि चकलेट दिएर फकाएको बताएका छन् । ‘चकलेट दिएर फकाएँ । र, गाडीमा हालेँ’, ऐसकेको बयानलाई उधृत गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारी भन्छन्, ‘गाडीमै घाँटी, नाक र मुख थुनेर हत्या गरेर फ्यालेको हुँ ।’
हत्यापछि कसैलाई थाहा नहोस् भनेर खोजतलासमा बुबालाई सघाएको उनले बयान दिएका छन् । हत्या गर्नुको कारणबारे उनले भनेका छन्, ‘सञ्चालकले पटकपटक निकालिदिन्छु भनेर गाली र धम्की दिएपछि हत्या गरेँ ।’
उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।
प्रतिक्रिया 4