१९ मंसिर, काठमाडौं । सत्तारुढ दलका सांसदले नै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन् ।
वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद भट्टराईले कंसाकारले राजीनामा नदिए बर्खास्त गर्न मन्त्री अधिकारी समक्ष आग्रह समेत गरे ।
सांसद भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै निगमका महाप्रबन्धक कंशाकारलाई बर्खास्त गनूपर्ने आवाज उठाउँदै आएका थिए ।
भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने पनि माग गरे । ‘आरोप लागेका र महालेखाले नै अनियमितता ठहर गरेका व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, उनले भने ।
वाइडबडी खरिद प्रकरण ‘लाउडा काण्ड’ जस्तै !
सांसद प्रेम आलेले प्रत्यक्ष किन्ने प्रावधान हुँदा हुँदै विचोलिया मार्फत किन्नु निन्दनीय भएको बताए । सांसद आलेले वाइडबडी विमान खरिद प्रकरण ‘लाउडा काण्ड’ भन्दा कम नभएको टिप्पणी गरे । २०५७ सालमा नेपाल वायु सेवा निगमसँग आफ्नै दुई वटा जहाज थियो ।
त्यतिबेला चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको अवस्थामा पनि विमान भाडामा लिन अष्ट्रियाको लाउडा एयरसँग सम्झौता गरिएको थियो ।
अनियमितता र विवादका कारण संसदको शीतकालीन अधिवेशन नै पुरै अवरुद्ध गरेको यो प्रकरणले वायु सेवा निगमले २ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको थियो । बैठकमा सांसद आलेले निगमका महाप्रबन्धक कंसाकारले नै अघिल्लो बैठकमा गल्ती स्वीकारेले कारवाही गर्न माग गरे ।
सांसद लेखराज भट्टले पर्यटमन्त्री रविन्द्र अधिकारीको भनाइ प्रति नै आपत्ति जनाए । वाइडबडी विमान खरिद प्रकरणमा करोडौंको अनियमितता भएको देख्दा पनि मन्त्रालयले छानबिन नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
।
सांसद विरोध खतिवडाले विवादास्पद भनाइ मिडिया वा सांसदबाट नभई सम्बन्धित मान्छेबाटै आएको र यसले बजारमा नकारात्मक सन्देश गएको बताए । सामान्य लगानीको सामान किन्दा पनि योजना अनुसार हुने गरेको भन्दै उनले यति ठूलो जहाज किन्दा ‘विजनेश प्लान’ किन बनाइएन भन्दै प्रश्न गरे ।
सांसद हृदयेश त्रिपाठीले वाईडवडी जस्तो संवेदनशील विषयमा मन्त्रालय गम्भीर नदेखिएको आरोप लगाए । उनले नितिगत रुपले मन्त्रालय अनविज्ञ भएको बताउँदै भने, ‘मन्त्रालयले हालसम्म केके गरेको छ त्यसको विवरण चाहियो ।’ यो सरकार आएपछि मात्रै २ किस्ता रकम जहाजको भुक्तानी दिएको भन्दै उनले विजनेश प्लान नहेरी किन भुक्तानी दिइयो भन्दै प्रश्न गरे ।
पुर्वमन्त्री डा. मिनेन्द्र रिजालले जनताले भरोसा गरेका मन्त्री रविन्द्र अधिकारीको भनाइ निराशाजनक भएको बताए । उनले मन्त्री अधिकारी आफ्नो जिम्मेवारी बाट पर सर्न खोजेको आरोप लगाए । ‘मन्त्रीले जहाजमा अनियमितता भएको छ बाहिर आउँछ भन्नुभयो, तर चित्त बुझ्ने कुनै काम मन्त्रीबाट भएन’, उनले भने ।
प्रतिक्रिया 4