२७ मंसिर, काठमाडौं । एमाले महाधिवेशनस्थल उत्सवमय छ । झकिझकाउ मञ्च छ । र्याली, झाँकी, पञ्चेबाजाले सल्लाघारी गुञ्जिएको छ । विभिन्न जातजाति, भाषाभाषी झल्कने प्रस्तुति भइरहेका छन् । चोक चोकबाट निस्किएका र्या महाधिवेशनस्थलमा पुगेका छन् । नेताहरू मञ्चतर्फ छन् । कार्यकर्ता मञ्चको अगाडि ।
बिहान सबेरै आइपुगेकाहरू चौरमा घाम तापेर बहस गरिरहेका छन् । नेतृत्वमा को आउला ? केपी ओली कि ईश्वर पोखरेल ? फरक-फरक तर्क र आफ्नो मत राखिरहेका छन् । कोही ओलीको पक्षमा । कोही पोखरेलको पक्षमा । कोही पुस्तान्तरण र हस्तान्तरणको पक्षमा ।
एमालेको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसैले देशभरबाट यहाँ नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले सल्लाघारीको उद्घाटन स्थलको चौर खचाखच छ ।

सल्लाघारीमा आएका प्रतिनिधिहरू नयाँ नेतृत्वबारे मिश्रित धारणा राख्छन् । गोरखाबाट आएका ६४ वर्षीय अम्बरबहादुर लामा पुराना नेताले बिदा लिनु पर्ने मत राख्छन् । ‘अब पुरानो बुढा नेताले बिदा लिनु पर्छ । जेनजी आन्दोलनपछि नयाँ युवा नेतृत्वको खोजी भएको छ । यो महाधिवेशनले नयाँलाई चुनोस, उनले भने, ‘अब पुराना नेताले नातिनातिना हेरेर घरमा बस्नु पर्छ ।’
धेरैजसो प्रतिनिधि भने केपी ओली र ईश्वर पोखरेलले सहमति गर्नुपर्ने धारणा राख्छन् । ‘दुई जना नेता अध्यक्षको लागि लड्ने भन्ने सुनेको छु । उहाँहरूले सहमति गर्नुपर्छ । मिलेर नेतृत्व चयन गर्नुपर्छ’, दोलखाबाट आएकी ५० वर्षीया लालमाया तामाङले भनिन्, ‘देश र जनताको लागि काम गर्ने नेतृत्व हुनुपर्छ ।’

जेनजी आन्दोलनपछि नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बहच चलेको छ । तर सल्लाघारीमा आएका एमाले निकट जेनजी एक पटक ओलीलाई अवर दिनु पर्ने मत राख्छन् ।
‘जेनजीले भन्न त नया पुस्ता भनेको छ । तर म पनि जेनजी हुँ । भन्नेले के के भन्छन् । तर एकपटक केपी बा आउनु पर्छ’, दाङकी २० वर्षीया आकृति रोकाय भन्छिन् ।
बाजुराका २५ वर्षीय विनोद थापा र कैलालीका २७ वर्षीय योगेश थापा भने पुस्तान्तरण र हस्तान्तरणको पक्षमा उभिए । ‘हाम्रो स्पष्ट कुरा छ, पुस्तान्तरण र हस्तान्तरण हुनुपर्यो । १० औँ वर्ष एउटै व्यक्ति नेतृत्वमा हुनु भएन’, विनोदले भने, ‘अब पार्टीको नेतृत्व युवालाई दिनुपर्छ ।’
फेरि पनि ओली आउने हो भने जेनजीको पालो कहिले आउने भनेर प्रश्न गर्छन् योगेश । ‘एउटैले सधैं नेतृत्व गर्नु हुन्न ।नयाँ विचार नयाँ नेतृत्व हुनुपर्छ । अझै १० वर्ष ओली हुने हो भने जेनजीको पालो कहिले आउँछ ? नेताहरू तल होल्ड भएर बसिरहने हो ?’ उनी प्रश्न गर्छन् ।




प्रतिक्रिया 4