+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/9 (18.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

महाधिवेशनको मौका : जुम्लामा बनेको गाँजाका लुगादेखि चिया र चिप्सको व्यापारसम्म

जेनजी आन्दोलनपछि एमालेलाई कूशासनको आक्षेप चिर्नु छ होला तर, फुटकर खाद्य र उपभोग्य वस्तु बिक्रेताले एमालेको सभामा जम्मा भएको भीडलाई व्यवसायको अवसर बनाए ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर २७ गते १६:५४

२७ कात्तिक, भक्तपुर । जुम्लाका गोर्खा बुढालाई केही दिनअघि सुन्धारामा एमालेका जिल्ला नेताले सुनाए– सल्लाघारीमा हाम्रो कार्यक्रम हुँदैछ ।

व्यावसायिक सोच भएका बुढालाई के चाहियो, उनले थप चासो दिइहाले । त्यसपछि थाहा भयो, एमालेले एघारौं महाधिवेशन गर्दैछ र देशभरका कार्यकर्ता सल्लाघारीमा हुने उद्घाटनसत्रमा भेला हुँदैछन् ।

‘सुन्धारामा जुम्लाका नेताले भन्नुभयो, त्यहाँ आउनुहोला, राम्रो व्यापार हुन्छ । त्यसपछि थप कपडा मगाएर यहाँ आएका हौँ,’ गोर्खा बुढाले भने ।

संयोगले उनी पनि एमालेकै कार्यकर्ता रहेछन् । तर, उनलाई त्यो भन्दा ठूलो आफ्नो व्यवसायको चिन्ता छ । ’कार्यकर्ता त हो, तर यो नभए पनि हाम्रो मुख्य चासो व्यवसाय नै त हो । भोलि अर्कोले कार्यक्रम गरेपनि जान्छौं,’ उनले भने ।

गोर्खासँगै छन्, जुम्लाकै दलबहादुर बुढा । सिन्जाका उनीहरूको व्यवसाय छुट्टै भएपनी आज एकैठाउ मिलेर अल्लो र गाँजाको कपडा बेचिरहेका छन् । उनीहरूको मुख्य उत्पादन हो– कोट, टोपी र हाफ कोट ।

शनिबार सल्लाघारीमा मात्र बिहानदेखि यो रिपोर्ट तयार पार्दासम्म २५ वटा टोपी, २ वटा कोट अनि ५ वटा हाफ कोट बेचिसकेका छन् । उनीहरूका अनुसार नेताहरूले पनि आएर कपडा किनेका छन् ।

‘हाम्रो यो उत्पादन जुम्लामै बन्छ । हातले तान लगाएर बनाउँछौ,’ अगाडि मञ्चमा भाषण गरिरहेका एमाले अध्यक्ष ओलीलाई लक्ष्य गर्दै सल्लाघारी चौरबाटै दलबहादुर बुढाले भने, ‘आफ्नो हातमा देश बनाउन आफ्नै देशको उत्पादन लगाउनु भन्छौं । नेताहरूले जेजे बोलेपनि व्यवहारमा यस्तो गरे (आफ्नै उत्पादन लगाए) पो देश बन्छ ।’

जुम्लाका यी बुढा हरेक हिउँदमा अल्लो र गाँजाका यिनै कपडा बेच्न काठमाडौं धाउँछन् । वर्षा लागेपछि खेतीका गाउँ फिर्छन् । अहिले काठमाडौं आएकै छेकोमा भएका यस्ता कार्यक्रमलाई उनीहरूले व्यवसायको अवसर ठान्ने र सोहीअनुसार थप सामान मगाएर भएपनि बेच्ने गरेको उनीहरू बताउँछन् ।

०००

महाधिवेशनस्थलबाट निस्कँदै गर्दा एउटा डेरी र चिया पसल छ । प्रेम खड्का दम्पतीले चलाइरहेको यो चिया पसललाई आज ग्राहक धान्न मुस्किल छ ।

बिहानैदेखि भीडभाड बढेको यो पसलमा उनीहरूलाई आज बोल्ने फुर्सद छैन । ’आज भ्याइनभ्याइ छ । बोल्ने फुर्सद नै छैन,’ खड्काले भने ।

खड्काकाअनुसार सल्लाघारीमा हुने यस्ता कार्यक्रममा सधैं भ्याइनभ्याइ हुन्छ । कमाई पनि राम्रै हुन्छ । ‘यो मौकामा ध्यान नदिए कहाँ कमाउन सकिन्छ र ? यस्ता कार्यक्रम हाम्रो लागि व्यवसाय हो जुन पार्टी वा समूहले गरेपनि,’ उनले भने ।

०००

यसबाहेक टुँडिखेलमा उधौली पर्वमा सामान बेच्न नदिएर सल्लाघारी आइपुगेका केही महिला व्यवसायी पनि भेट्यौं । आयोजकले त्यहाँ सामान बेच्न नदिएपछि अबेरगरी सल्लाघारी आएकी ती महिलाले पानी र बदाम धमाधम बेच्न थालिसकेकी थिइन् ।

त्यस्तै, सुर्यविनायकमै रहेपनि कार्यक्रमबारे थाहा नपाएकोले बिहान आउन नपाएको र ढिलागरी सल्लाघारी आइपुगेका पनि महाधिवेशनस्थलमा भेटिए । अर्का एकजना वृद्ध उमेरका पुरुषले पनि ३ कार्टुन कुरकुरे, चिप्स लगायतका सामग्री बेचेको सुनाए । यद्यपि, उनीहरूले औपचारिक रूपमा कुरा गर्न भने मानेनन् ।

०००

त्यस्तै, प्रचारप्रसारको लागि पनि कतिपय व्यवसायीले महाधिवेशनस्थललाई प्रयोग गरिरहेका छन् ।

जस्तो, सल्लाघारी एमाले महाधिवेशनस्थल नजिकै छ क्रिस्टल डेन्टल । मुख्य सडक छेउमै रहेको यो डेन्टलअगाडि एमाले कार्यकर्ता ओहोरदोहोर गरिरहेका छन् । भीडभाड निकै छ ।

बाजागाजासहित झाँकीहरू ओहोरदोहोर गरिरहेका छन् । यही मौकामा डेन्टलले प्रचार गरिरहेको छ । पर्चा छापेर एमाले कार्यकर्तालाई बाँडिरहेको छ ।

ब्लड प्रेसर नाप्नेदेखि दन्त स्वास्थ्य परीक्षण गराइरहेका छन । एमाले महाधिवेशनमा आएकाहरू सोधपुछको लागि पर्चा बाँडिरहेको ठाउँमा रोकिन्छन् । अनि २५ वर्षीया डेन्टल हाइजिनिस्ट सृजना लाखे र उनकी साथीले पर्चा थमाइदिहाल्छिन् ।

पछाडि हेल्थ डेस्क राखेका म्यानेजर पानस शाहले जचाउँन इच्छुकको नाम टिप्छन् । सामान्य परीक्षणको लागि डेन्टलभित्र पठाउँछन् । यसले पानी पनि फ्री बाँडिरहेको छ ।

तर, आफूले यसरी प्रचार गरेको र सेवा दिएकोमा एमालेको नाम नजोड्न उनको अनुरोध छ । यो रिपोर्ट तयार पार्दासम्म यो हेल्थडेस्कमा ४३ जनाले नाम टिपाएका छन् ।

‘एमालेको महाधिवेशन यहाँ हुँदैछ भन्ने थाहा पाएपछि पर्चाहरू थप छापेर यो सुविधा दिएका हौँ । यो हाम्रो स्व:स्फुर्त हो, एमालेले गरेको हैन है,’ उनले स्पष्ट पार्न खोज्दै भने, ’एकातर्फ सेवा पनि भयो, अर्कोतर्फ व्यापार । यो मौका फेरिफेरी आउँदैन । आएको बेला छोड्नुभएन ।’

शनिबार सल्लाघारीको खुला मैदानमा महाधिवेशनको उद्घाटन सत्रलाई एमालेले शक्ति प्रदर्शनका रूपमा अथ्याउँदै आएको थियो ।

जेनजी आन्दोलनपछि एमालेलाई कूशासनको आक्षेप चिर्नु छ होला तर, फुटकर खाद्य र उपभोग्य वस्तु बिक्रेताले एमालेको सभामा जम्मा भएको भीडलाई व्यवसायको अवसर बनाए ।

उसो त मेला महोत्सवजस्तै पछिल्ला दशकमा राजनीतिक पार्टीका सभा, सम्मेलनले सम्बन्धित क्षेत्रमा आर्थिक गतिविधि बढाउने गरेको छ । विशेषत: साना व्यवसायले दलका सभालाई पनि व्यवसायको अवसरका रूपमा उपयोग गर्दै आएका छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?