+
+

युवतीलाई सल्लाहः ‘डाइटिङ’ले निम्त्याउन सक्छ मुटुरोगदेखि डिप्रेसनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १२:२८

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् ।

यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई ‘लाइफस्टाइल डिसअर्डर’ -जीवनशैलीको असन्तुलन) भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका संकेतहरु देखापर्छन् तर, यसलाई महिलाले वेवास्ता गर्छन् । जसको कारण गम्भीर परिणाम निम्तिने गर्छ ।

महिलामा अव्यवस्थित जीवनशैलीले मोटोपना बढेर जान्छ । जंक फुडको बढी सेवन, अनियमित खाना, डाइटिङ आदि कारणले शरिरको हार्मोनल सन्तुलन बिग्रेर जान्छ र समस्या सृजना हुन्छ । लाइफस्टाइल डिसअर्डले उत्पन्न हुन सक्ने समस्या यस्ता छन् ः

शरिर र अनुहारमा रौँ

आजभोली करिव ४० प्रतिशत महिलामा पोलिस्टिक ओवेरियन सिन्ड्रोमको समस्या छ । यस्तो अवस्थामा ओवरिजले राम्रोसँग कम गर्दैन र हर्मोनको सन्तुलन विग्रेर जान्छ । जसको कारण अनुहार र शरिरको रौँ बढेर जाने, छाला रफ हुनेजस्ता समस्या निम्तिने गर्छ ।

एक सर्बेर्क्षणका अनुसार ७५ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको लाइफस्टाईल डिसअर्डरको समस्या छ । जसको कारण ४२ प्रतिशत ढाडको दुखाई, मोटोपना, डिप्रेशन, मधुमेह, हाइपरटेन्सनको शिकार भएका छन् । यस्तो समस्याबाट बच्नका लागि किशोर अवस्थाबाटै जीवनशैलीलाई व्यवस्थित गर्न जरुरी हुन्छ । त्यसको लागि आमाबाबुले पनि सन्तानको व्यायाम, डाइट, मोटोपना नियन्त्रणलगायतमा ध्यान दिनुपर्छ ।

कम उमेरमै मुटुरोग

लाइफस्टाइल डिसअर्डरले महिलामा मुटु रोगको खतरा पनि तीव्र गतिमा बढेर जान्छ । आजभोली २४-२५ वर्ष उमेरका युवतीमा समेत मुटुको समस्या देखिन थालेको छ । यसको एउटा प्रमुख कारण भनेको भनेको ‘डाइटिङ’ हो । जव युवतीमा ‘ओभरवेट’ हुन्छ, उनले पातलो हुनको लागि खाना नै छाडि्छन् ।

तर, आवश्यकताभन्दा कम खाँदा एनिमिया हुनुका साथै शरिरमा हिमोग्लोविनको मात्रा पनि कम भएर जान्छ । परिणाममा युवती पटक-पटक इन्फेक्सनको शिकार हुन्छिन् । त्यसपछि स्वास्थ्य झन् खराव भएर जान्छ । उनी मानसिक विरामीको पनि शिकार हुन थाल्छिन् ।  डिप्रेसन, सुसाइडल टेन्डेन्सी आदि समस्या उत्पन्न हुन्छन् ।

यस्तो  समस्याबाट ग्रसित महिलाले रिलेशनसीपमा नहुँदा आफुलाई कमजोर महसुस गर्छन् । कुन सही र कुन कुरा गलत हो भनेर छुट्याउन पनि गाह्रो पर्छ । अनि साथीको संगतमा जान्छन् र सल्लाह माग्छन् । तर, साथीहरुबाट सही सल्लाह नमिल्न सक्छ । तर, यस्तो अवस्थामा आमाबाबुबाट भने सही सल्लाह आउन सक्छ ।

युवा अवस्थामै तनावको मात्रा बढेपछि निद्रामा समस्या पर्न जान्छ । जसले गर्दा स्लिपिङ डिसअर्डरको समस्या देखिन्छ । आजभोलीका युवतीमा स्मोकिङ, डि्रंकिङ संस्कार बढेर गएको छ । यो पनि लाइफस्टाइल डिसअर्डरको एउटा कारण हो ।

निसन्तानको समस्यासम्म

पछिल्लो समय अधिकांश युवती र महिलामा भिटामिन डिको कमी देखिन थालेको छ । महिलामा मेन्स्टुअल समस्या पनि बढेर गएको छ । अझ शहरी क्षेत्रमा यस्ता मानिसको संख्या अत्याधिक छ । तर, भिटामिन डिको कमी हुनु भनेको गम्भीर रोगको शुरुवात हो ।

भिटामिन डिको कमीले गर्दा मानिसको रोग प्रतिरोधी क्षमता कम भएर जान्छ । त्यतिमात्र होइन, यसले निसन्तानको समस्या पनि निम्त्याउने गर्छ । मधुमेह, अनियमित महिनावारी, स्तन क्यान्सरजस्ता समस्याको कारण भिटामिन डिको कमी पनि हो ।

ओवरीले सही ढंगबाट काम गर्नको लागि भिटामिन डिको जरुरी हुन्छ । यसको अभावमा महिनावारीमा अत्याधिक दुखाइ तथा ऐन्ड्रोमेटि्रयोसिसको खतरा हुन्छ । जसले गर्दा ओवरीमा सिस्ट बन्ने गर्छ । यसले गर्दा निसन्तानको सम्भावना बढेर जान्छ । पछिल्लो समय यस्तो समस्या १५-२५ वर्षको युवतिमा अत्याधिक देखिएको छ ।

भिटामिन डि पुरै शरिरलाई जरुरी हुन्छ । यसले श्रिरमा क्याल्सियमको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

संक्रमण र गर्भपतन

पछिल्लो समय युवायुवती कम उमेरमै असुरक्षित यौन सम्पर्कमा लिप्त हुन थालेका छन् । त्यतिमात्र नभएर कतिपय त एकभन्दा बढि सेक्स पार्टनरसँग रमाइरहेका छन् । यस्तो अवस्थाममा सरसफाईमा ध्यान नदिदा उनीहरुमा इन्फेक्सनको समस्या हुन्छ ।

अधिकांश महिला जेनाइटल ट्युवरक्लोसिसको शिकार पनि भएका छन् । यो समस्या भनेको गर्भधारण हुने तर, गर्भमा पुरै ९ महिनासम्म शिशु नटिक्ने हो । वायोप्सीबाट यस्तो कुराको थाहा लाग्छ । कतिपय ठाउँमा त यसको परिक्षण पनि सम्भव छैन ।

त्यस्तै, लाइफस्टाईलसँग जोडिएको सबैभन्दा खतरनाक रोग भनेकै मुटुरोग हो । फ्याटको मात्र बढी प्रयोग गर्ने तर, व्यायाम नगर्ने महिलाको संख्या शहरमा धेरै छ । जसले गर्दा उनीहरुमा कोलस्ट्रोलको मात्रा बढ्छ । कम उमेरमै उच्च रक्तचाप, मधुमेह, थाइराइड आदिको समस्या हुने गर्छ ।

केही टिप्स

– दैनिक ३० मिनेटसम्म शारीरिक क्रियाकलाप ।

– दैनिक १० मिनेट श्वासप्रश्वाससम्बन्धी व्यायाम, त्यो पनि विहान पाँच मिनेट र बेलुकी पाँच मिनेट ।

– दैनिक १०-१५ गिलास स्वच्छ पानीको सेवन ।

– अत्याधिक चिनीयुक्त खाद्यपदार्थको कम र प्रोटिनयुक्तको सेवन बढी सेवन ।

– डाइटमा फाइवर, कार्वोहाइड्रेट र कम्प्लेक्स कार्वोहाइड्रेट अनिवार्य लिने, फ्याटयुक्त खाना घटाउने ।

– चिया, कफी बढी नपिउने बरु ग्रीन टी पिउँदा हुन्छ ।

– तनाव कम गर्नको लागि समय व्यवस्थापन गर्ने । र, समय निकालेर पुस्तक, पत्रिका पढ्ने, फिल्म हेर्ने वा आफु खुशी मिल्ने काम गर्ने ।

(लेखक स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?