Comments Add Comment

कसले माग्दैछ अर्थमन्त्री र गभर्नरको राजीनामा ?

३ पुस, काठमाडौं । अघिल्लो सातादेखि पुँजी बजार लगानीकर्ताको एउटा समूह सेयर बजार सुधार र विस्तारको माग गर्दै अनसनमा उत्रिएको छ । उनीहरुको माग छ- अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसहित ६ जनाको राजीनामा ।

दबाव समूहको नाम दिएर सेयर लगानीकर्ताहरु अनसनमा उत्रिएका हुन् । अनसन बस्नेमा पूर्वपत्रकारसमेत छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्तीसहितका माग राखेर नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि रिले अनसन शुरु गरेका उनीहरुले सोमबारदेखि आमरण अनसन शुरु गरेका हुन् ।

उनीहरुले सोमबारदेखिको आमरण अनसनलाई राजपा नेपा, राप्रपा, नेपाली कांग्रेस (वीपी) लगायतका दलहरुको समर्थन रहेको समेत दाबी गरे । उनीहरुले राजा ज्ञानेन्द्रलाई त ढालियो भने अर्थमन्त्री को हो र भन्ने प्रश्न गरे ।

नेपाली कांग्रेसका नेताहरुले अनसनस्थलमै पुगेर आन्दोलनमा समर्थन रहेको प्रतिवद्धता जनाएका छन् । सोमबारमात्रै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अनसनस्थलमा पुगेका थिए । कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयसमसेर राणा पनि यसअघि अनसनस्थल पुगेका थिए ।

सोमबार अनसनस्थल अर्थात नेप्सेको कार्यालयअगाडि पुग्दा लगानीकर्ताहरुको ठूलो समूह भेला भएको थियो । आमरण अनसनस्थल वरिपरि सेयर लगानीकर्ताहरु मात्रै होइन, सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो ।

लगानीकर्ताहरु आफ्नो लाखौं, करोडौं रकम डुबेको भन्दै आक्रोशित मुद्रामा प्रस्तुत भए । उनीहरुले वर्तमान अर्थमन्त्रीका कारण पुँजी बजारमा सुधार हुन नसकेको र उनले राजीनामा दिनुपर्ने र पुँजी बजार बुझेको मान्छेलाई अर्थमन्त्री बनाउनुपर्ने लगायतका १३ बुँदे माग सुनाए ।

अब अर्थमन्त्री खतिवडाकोमात्रै होइन, थप ६ जनाको राजीनामा माग गरेको उनीहरुले बताए । अनसनकारीहरुले नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने र एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत बर्खास्तीको माग गरेका छन् ।

दबाव समूहका संयोजक एवं आमरण अनसनकर्ता हरि ढकालले आफूहरुको माग नाजायज नभएको बताए । एकजना पूर्वपत्रकारसँगै आमरण अनसनमा बसेका ढकालले सेयर बजारमा केही माफियाहरु रहेका र उनीहरुलाई ठेगान नलगाएसम्म पुँजी बजार सुधार नहुने अनलाइनखबरलाई बताए ।

राजनीतिक गन्ध


मन्त्रीको राजनीनामा माग गर्दै थालिएको अनसनमा राजनीतिको गन्धसमेत देखिएको छ । आन्दोलनमा सहभागीहरु कुनै आधिकारिक संगठन नभएर ‘दबाव समूह’ नाम दिएर थालिएको पुँजीबजारका जानकारहरु बताउँछन् ।

‘यो अनसनमा कांग्रेस, राप्रपा लगायतका दलसँग निकट लगानीकर्ताहरु सहभागी छन्, स्रोतले भन्यो, ‘वामनिकट पुँजीजार लगानीकर्ताहरु भने अर्थमन्त्रीको राजीनामा माग्ने नारामा सहमत नभएका कारण आन्दोलनमा आएका छैनन् । उनीहरु सरकारले गठन गरेको समितिमा बसेर प्रतिवेदन लेखनमा व्यस्त छन् ।’

कांग्रेसनिकट सेयर लगानीकर्ताहरुले वाम निकटलाई सरकारसँग मिलेको आरोप लगाएका छन् । उता वाम निकटहरुले चाहिँ असम्भव माग राखेर आन्दोलन गरिएको आरोप लगाउँदै सरकारले गठन गरेको समितिमार्फत सेयर लगानीकर्ताका मागहरु सम्वोधन गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् ।

अनसन बसेकै बेला सेयर बजारमा हरियाली

सेयर लगानीकर्ताहरु सेयर बजार सुधारको माग राखेर अनसन बसिरहेका बेला सेयर बजारमा भने हरियाली देखिएको छ । सोमबार सेयर बजारका व्यापार समूह बाहेक अन्य सबै समूह उकालो लागेर हरियाली देखिएका छन् ।

अझ रोचक कुरा त, सोमबार कारोबार नै बन्द गर्ने आहृवान गरिएको थियो । सोमबार बिहान कारोबार शुरु भएको ४५ मिनेटसम्म त यसको प्रभाव पनि देखियो । तर, कारोबार शुरु भएको ४५ मिनेटसम्म ठप्प भएको सेयर कारोबार ४५ मिनेट कटेपछि भने खुल्यो ।

सोमबार ढिलोमात्रै कारोबार शुरु भएको बजार १५ दशमलव १७ अंकले बढेको छ । आइतबार बजार बढे पनि सोमबार कारोबार बन्द गर्ने लगानीकर्ताहरुको आÅवानले गर्दा केही प्रभाव पर्ने आँकलन देखिएको थियो । तर, खासै प्रभाव परेन ।
सोमबार सेयर बजार १५ दशमलव १७ अंकले बढेर परिसूचक १ हजार १ सय ८२ दशमलव ७८ मा पुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि अपेक्षाभन्दा बढी नै देखिएको छ । करिब ४५ मिनेट कारोबार ठप्प हुँदा पनि ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment