+
+
Shares

कमल थापाले भने– राजसंस्थाप्रति अझै आस्था छ, पूर्वराजासँग भेट हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते १०:१७

६ पुस, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाले बताएका छन् ।

शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने बताए ।

राप्रपा अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । उनले पोखरामा रहँदा पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुने सम्भावना रहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र पुस २ गतेदेखि पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आएका हुन् ।

अध्यक्ष थापाले राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्ने बताए । जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि पनि भएको बताए । जन संघर्षलाई बेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने थापाले चेतावनीसमेत दिए ।

कांग्रेस हिन्दु राष्ट्रमा आउँछ !

नेपाली कांग्रेस राप्रपाको लाइनमा आउने दाबी गर्दै थापाले भने– ‘कांग्रेसले आफ्नो सिद्धान्त र विचार किन त्याग्यो, मलाई आश्चर्य लाग्छ, तर ढिलोचाँडो हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांग्रेस आउँछ भन्ने मलाई विश्वास छ ।’

राप्रपा अध्यक्ष थापाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्न आग्रह गरे । कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा राप्रपा सहकार्य गर्न तयार रहेको बताउँदै उनले भने, ‘कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गरोस् ।’ राप्रपाले हिजो हिन्दु राष्ट्रको एजेण्डा एक्लै बोक्नु परेपनि अहिले कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको भन्दै उनले थपे, ‘कांग्रेसमा जोडदार रुपमा हिन्दु राष्ट्रका पक्षमा आवाज उठ्न थालेको छ, हस्ताक्षर अभियान नै चल्न थालेको छ, अन्ततः कांग्रेस यसैको पक्षमा उभिन्छ ।’

अध्यक्ष थापाले धर्म प्रचारक संस्था युनिभर्सल पिस फेड्रेसनको सम्मेलनमा तामझामसहित सरकारका प्रधानमन्त्री नै सहभागी हुनु संविधानको भावना विपरीत भएको दाबी गरे । उनले अल्पसंख्यकलाई रिझाउने नाममा सरकारले बहुसंख्यकलाई आघात पुर्‍याएको आरोपसमेत लगाए । उनले नेपालमा योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै आएको र हालसम्म करीब १२ लाख नेपालीलाई धर्म परिवर्तन गराइसकेको बताए ।

यस्ता गतिविधिले सामाजिक सद्भाव खल्बलाउँदै राष्ट्र नै विखण्डन गर्ने बताए । उनले तराईमा मधेश छुट्टै देशको नारा लगाउँदा प्रशासन मौन बसेको भन्दै सरकारको यस्तै अकर्मन्यताले आवाज बढ्दै गएर देश विखण्डनमा पुग्न सक्ने खतरा रहेको औंल्याए ।

अध्यक्ष थापाले पूर्वसहमति अनुसार आएमात्रै तीन राप्रपावीच एकीकरण हुने बताए । उनले भने, ‘पहिले सबै कुरामा सहमति भइसकेको थियो, पशुपति समशेर र प्रकाशचन्द लोहनीले एक दिन ढिला गरेर भोलि घोषणा गरौं भन्नुभयो, तर पछि उहाँहरु आउनुभएन, पूर्व सहमतिअनुसार आए जुनसुकै बेला उहाँहरुसँग एकीकरण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?