Comments Add Comment

स्वयम्भूमा पूजारी आवास पुनर्निर्माण सुरु

३० पुस, काठमाडौं । विनाशकारी भूकम्पले क्षति पुर्‍याएको स्वयम्भूनाथको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माण सुरु गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार एक कार्यक्रमका बीच विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गरेका हुन् ।

पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको १८ वटा पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्यको शिलान्यास गर्दै गृहमन्त्री थापाले सो पुनर्निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पूरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको बताए ।

गृहमन्त्री थापाले सबै नागरिकलाई समृद्ध र सुःखी बनाउने लक्ष्य सरकारले लिएको दावी पनि गरे । उनले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूको पुनर्निर्माण गरेर फेरि एक पटक गौतम बुद्धको शान्तिको सन्देश नेपालले विश्वभर फैलाउन चाहेको गृहमन्त्री थापाको भनाइ छ । गृहमन्त्री थापाले अब साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले तीव्र गतिका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सबैको एकतावद्ध प्रयासबाट मात्रै हाम्रा सम्पदाहरुको संरक्षण गर्न सकिने पनि स्मरण गराए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्व सम्पदाको रुपमा रहेको स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको संयुक्त पहलमा काठमाडौंमा रहेका साँस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कानुनी प्रक्रिया पूरा गरी सो पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको बताए । उनले बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने सम्पदा पुनर्निर्माणमा आर्थिक हिनामिना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको पूजारी आवास तथा बिहारहरु पनि २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो । त्यसैको पुनर्निर्माणको काम सोमबारदेखि सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment