Comments Add Comment

उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि कारबाहीमा

७ माघ, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् ।

सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो । यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई तानिएको थियो ।

साढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले उनीहरु मध्ये अधिकांशलाई धरौटीमा छाडेको छ ।

न्याय परिषदले यसबारे छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई तोकेको छ ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानविन गर्न अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई तोकिएको परिषद् स्रोतले जनाएको छ ।

न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि आत्रेयलाई न्यायपरिषद सचिवलायमा तानिएको थियो । न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अबैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो ।

यस्तै सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराईलाई उच्च अदालत पाटनको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ भने न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व न्यायाधीश तपबहादुर मगरलाई नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment