Comments Add Comment

केसीको सत्याग्रह बदनाम गर्न ‘सरकारी अनसनकारी’ खडा गरियो : विवेकशील नेपाली

११ माघ, काठमाडौं । विवेकशील नेपाली पार्टीले डा. गोविन्द केसीको सत्याग्रहलाई बदनाम गर्न आपराधिक पृष्ठभूमिको ‘सरकारी अनसनकारी’ खडा गरेको आरोप लगाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी विवेकशील नेपालीले सरकारी अनसनकारी खडा गर्ने र मेडिकल माफियाको पक्षमा चिकित्सा शिक्षा तोडमोड गर्न लागिएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको बताएको छ ।

‘वहाँको (केसीको) सत्याग्रहलाई बदनाम गर्न अपराधिक पृष्ठभूमिको `सरकारी अनसनकारी` खडा गर्ने र मेडिकल माफियाको पक्षमा प्रस्तावित चिकित्सा विधयेकलाई तोडमरोड गर्ने तत्वको मुखुण्डो उतार्नु जरुरी रहेको ब्यहोरा स्पष्ट गर्न चाहान्छौं’ केन्द्रीय सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डा. केसी अनसन बसेको केही दिनमा नै चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग गर्दै विजय थापा अनसनमा छन् । उनी पनि त्रिवि शिक्षण अस्पतालमै अनसनमा छन् ।

विवेकशील नेपालीले केही सांसदहरुले यो प्रकरणमा नकारात्मक भूमिका निर्वाह गरेको भन्दै ती सांसद,मेडिकल माफिया र आपराधिक पृष्ठभूमिका सरकारी अनसनकारीबीचको सम्बन्ध छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेको छ ।

‘यस प्रकरणमा केही साँसदले खेलेको नकारात्मक भुमिकाको आलोकमा ती सांसद, केही मेडिकल माफियाहरु र अपराधिक पृष्ठभूमिका `सरकारी अनशनकारी´ बीचको `नेक्सस´ माथि सत्यतथ्य छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै सरकारले उनीसँग गरेको सम्झौता कार्यान्वयन गर्न दवाव दिँदै विवेकशील नेपालीले काठमाडौंकोनयाँ वानेश्वरमा संसद भवन अगाडि शुक्रबार प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासहित १८ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment