Comments Add Comment

एक जना ट्राफिकको भागमा १८ किलोमिटर सडक !

सिंगै पर्सा जिल्लाको जिम्मा ४५ ट्राफिकलाई !

२८ माघ, वीरगञ्ज । पछिल्लो साता वीरगञ्जमा ट्राफिक प्रहरी अन्य दिनको तुलनामा सक्रिय देखिएका छन् । व्यवस्थित वीरगञ्ज अभियान र ट्राफिक प्रहरी मिलेर वीरगञ्जको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्ने प्रयास थालिएको छ ।

यस क्रममा मुख्य सडकको घण्टाघरदेखि बिर्ताचोकसम्म अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका र फुटपाथमा राखिएका सवारी साधन हटाउने काम तीब्र बनाइएको छ । सय भन्दा बढी मोटरसाइकलहरु उठाइएका छन् ।

मोटरसाइकल चालकलाई कारबाही गरेर केही दिनमै ८५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ । कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक नियमका बारेमा जानकारी गराएर पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्राफिकले सवारी साधन उठाउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन् । वीरगञ्जमा पर्याप्त पार्किङस्थलको अभावमा सडकमा नै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ ।

त्रिभुवन राजमार्गअन्र्तगत पर्ने वीरगञ्जको मुख्य सडक साँघुरो छ । सडक फराकिलो पार्ने विषय अन्योलमा छ । साँघुरो सडकमै रिक्सा, ईरिक्सा, ठेला, साइकल, मोटरसाइकल तथा अन्य सवारी साधन ओहोदोहोर गर्छन् । जसले गर्दा सवारी चाप बढी हुने समयमा वीरगञ्जदेखि बिर्तासम्म नै जाम हुने गर्छ ।

शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धा, निजी सवारी साधनको बढ्दो प्रयोग, जीर्ण सडक, आवश्यकता भन्दा बढी ई–रिक्सा लगायतका सवारी साधानहरु सडकमा रहेको, प्रयाप्त पार्किङ स्थल र सडक पेटीको अभाव, सवारी चालक सवारी नियमका बारेमा अनविज्ञ हुनु जस्ता कारणले वीरगञ्जको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ ।

एउटा ट्राफिकको भागमा १८ किलोमिटर सडक

पूर्वाधार विकास कार्यालय पर्साको तथ्याङक अनुसार पर्सा जिल्लामा ८३.७७ किलोमिटर कालोपत्रे सडक छ । ५००.८ किलोमिटर ग्राभेल र २४७.९ किलोमिटर गरी पर्सामा जम्मा ८३२.३७ किलोमिटर सडक छ । त्यसमध्ये मुख्य सडक १२१.३२ किलोमिटर छ । जसमा ३७.८२ किलोमिटर कालोपत्रे, १८ किलोमिटर ग्राभेल र ६५.५ किलोमिटर कच्ची सडक छ ।

कम्तीमा १ हजार ट्राफिक भएमात्रै जिल्लाको सबै गाउँपालिकामा ट्राफिक पुग्ने गरी पठाउन सकिने ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह ठकुरी बताउँछन् ।

त्यसैगरी सहायक राजमार्ग ३३२.७१ किलोमिटर छ । जसमा ३८ किलोमिटर कालोपत्रे, २४३ किलोमिटर ग्राभेल र ५१.८९ किलोमिटर कच्ची सडक छ । त्यसैगरी ७.९५ किलोमिटर कालोपत्रे, २३९.८९ किलोमिटर ग्राभेल र १३०. ५ किलोमिटर कच्चीसमेत गरी ३७८.३४ किलोमिटर शहरी भित्री सडक छ ।

जिल्लाका यी सडकमा दिनहुँ हजारौं सवारी साधन आहोरदोहार गर्छन् । तर पर्सा जिल्लामा ट्राफिक प्रहरीको दरवन्दी संख्या ४५ जना मात्रै छ । जिल्लामा एकजना ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा ४ जना प्रहरी नायब निरीक्षक, ३ प्रहरी सहायक निरीक्षक, १२ हवल्दार र २४ जना जवान परिचालित छन् । कार्यालय सहयोगी १ जना छन् ।

जिल्ला कार्यालयसहित अधिकांश ट्राफिक प्रहरी पोष्ट सदरमुकाम वीरगञ्जमा मै केन्द्रित छन् । पर्साको परवानीपुर, ड्राईपोर्ट, पावरहाउस, बसपार्क, पोखरीया, भन्सार, गण्डक र पटेर्वासुगौलीमा ट्राफिक प्रहरी पोष्ट छन् ।

सवारी चेकजाँचमा समेत नेपाल प्रहरीको सहायता लिँदै आएको ट्राफिक प्रहरीले थप जनशक्ति आवश्यक परेको खण्डमा प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट सहयोग लिने गरेको छ ।

कम्तीमा एक हजार ट्राफिक आवश्यक

पर्सा जिल्ला देशको मुख्य नाका भएका कारण सवारी साधनको बढी चाप हुने जिल्ला नै हो । जिल्ला सदरमुकाम वीरगञ्जदेखि पश्चिममा ट्राफिक प्रहरीको उपस्थिति नै छैन भन्दा पनि हुन्छ । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लाको अधिकांश पालिकामा ट्राफिक प्रहरी पुग्न नसकेको अवस्था छ ।

कम्तीमा १ हजार ट्राफिक भएमात्रै जिल्लाको सबै गाउँपालिकामा ट्राफिक पुग्ने गरी पठाउन सकिने ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह ठकुरी बताउँछन् ।

‘जिल्लामा जम्मा ४५ जना ट्राफिकको दरबन्दी छ, त्यतिले नै काम चलाउनुपर्ने बाध्यता छ, उनले भने, ‘पर्सा जिल्लाको हरेक गाउँपालिकामा ट्राफिक पुर्‍याउन जिल्लामा १ हजार ट्राफिक अवाश्यक पर्छ । हामीले तत्कालका लागि भएकै जनशक्तिको दोब्बर पठाइदिए पनि राहत हुन्छ भनेर माथिल्लो निकायमा आग्रह गरेका छौं ।’

स्थानीय सरकार, यातयात व्यवसायी, स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले साथ नदिएसम्म ट्राफिक प्रहरीले मात्रै चाहेर ट्राफिक व्यवस्थान सम्भव नभएको सिंहको भनाइ छ ।

राजस्व संकलनमा केन्द्रित भएको गुनासो

ट्राफिक प्रहरीले दिउँसो सामान्य चेकजाँच, साँझमा मापसे चेकिङ गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको तथ्याङक अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को ६ महिनामा १४ हजार २ सय ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट कार्यालयले ८९ लाख ५१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले सवारी नियम उलंघन गरी सवारी चलाउने ट्रक, बस, जीप, कार भेन, ट्रेक्टर, मोटरसाईकल, टेम्पो लगायतका सवारीका चालकलाई कारबाही गरेको हो ।

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १३ हजार ४ सय वटा सवारीलाई कारबाही गरेर ८० लाख २९ हजार राजश्व संकलन गरेको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षको पूरै अवधिमा संकलित भएको राजस्वभन्दा चालु आर्थिक वर्षको ६ महिनाको राजस्व संकलन बढी देखिन्छ । यसले पनि ट्राफिक प्रहरीलाई राजस्व संकलनमा केन्द्रित भएको आरोप लाग्ने गरेको हो ।

सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरुलाई जरिवाना गराउने, सडक दुर्घटनाको प्रभावकाउरी अनुसन्धान, घाइतेको उद्धार गरी पीडितलाई न्यायमा सहजीकरण गर्ने, हराएका सवारी साधन तथा मालसमानहरुको खोजतलास गर्ने, ट्राफिक जनचेतनाको अभिवृद्धी गर्ने, यात्रुको सुरक्षित एवं मर्यादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्दै सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले काम गर्नुपर्ने हुन्छ । तर, ट्राफिकको कामबाट ट्राफिक प्रहरी स्वयं नै सन्तुष्ट हुन नसकेको अवस्था छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह ठकुरी आवश्यक जनशक्तिको अभावमा पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सोचेअनुसारको काम गर्न नसकेको बताउँछन् ।

‘ईरिक्साको मनोमानी छ, कहाँ चलाउने रुट तोकिएको छैन, रुटमा बारा पर्सा भनेर लेखिएको हुन्छ । जहाँ मन लाग्यो, त्यही चलाउँछन्,’ ठकुरी भन्छन्, ‘हामीले ६ वटा रुट निर्धारण गरेर नामसमेत लेख्न लगाएका छौं । सोही अनुसार घण्टाघरमा अस्थायी स्ट्याण्ड पनि बनाएका छौं ।’

ठकुरीका अनुसार वीरगञ्ज महानगर क्षेत्रमा अलिअलि काम भइरहेको भए पनि म्यान पावर कम भएकाले ट्राफिक प्रहरी ग्रामीण क्षेत्रमा जान सकेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment