Comments Add Comment

चौधरीको एकल प्रयासले पर्यटकीय गन्तव्य बन्यो तिलोत्तमाको कानपारा

६ फागुन, बुटवल । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ ।

जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र अरु ९ वर्ष विदेशी गैरसरकारी संस्थामा काम गरेका स्थानीय अजयकुमार चौधरीले साढे दुईकरोड बढी लगानी गरेर मत्स्य फार्मसहितको रेष्टुराँहरु खोलेपछि कानपाराको परिचय बदलिएको हो ।

अहिले यहाँ ६ बिघा क्षेत्रफलमा डेढ बिघाका २ वटा, ८ कठ्ठाका २ वटा र ४ कठ्ठाको एउटा गरी ५ वटा पोखरी बनाएर दुई लाख माछापालन हुँदै आएको छ । माछा पोखरीमाथि डुंगाहरु चल्छन् । पोखरीको डिलमा बसेर बल्छीले माछा मार्ने (फिसिङ), आफैं पकाएर खानेदेखि बयलगाडा र हात्ती सफारीसम्मको सुविधा चौधरीले उपलब्ध गराएका छन् ।

चिन्ताहरण र मनशान्त नाम दिएर दुईथरि रेष्टुराँ सञ्चालन गरेका छन् । फरकखालको वातावरण पाएपछि टाढा टाढाबाट मान्छे आउने क्रम बढ्दो छ । वर्षमा हजारौं आन्तरिक र वाह्य पर्यटक आउन थालेपछि यहाँको चहलपहल बढेको छ ।

रामपुर कृषि क्याम्पसबाट माछाकै विषयमा बीएस्सी एजी पढेका अजयले आफ्ना पिता अष्टभुजाप्रसाद चौधरीले खेतमा बनाएको सानो पोखरीको पानी नसुकेको देखेपछि भविश्यमा उक्त ठाउँमा माछापालन गर्ने योजना बनाएको खुलाए ।

चौधरी भन्छन्– ‘१५ वर्षे जागिरका क्रममा ठाउँठाउँमा पुगेर तालिम दिँदा धेरैलाई उद्यमशील बन्नुपर्छ भनेर सिकाइयो, जागिर छाडेर आउँदा आफ्नै गाउँघरका महिलाले बेराजगार हुँदा भोग्नुपरेको अवस्था देखेर आफ्नै ठाउँमा केही गरौं भन्ने लाग्यो ।’

चौधरीले माछा फार्म र रेष्टुराँमा १५ जना स्थानीयलाई रोजगारी दिएका छन् । उनको रेष्टुराँमा विशेषगरी थारु जातिका परम्परागत खानाका परिकारहरु उपलब्ध हुन्छन् । उनलाई बाहिरबाट माछा किन्नुपर्दैन । आफ्नै पोखरीका ताजा माछाले अहिलेसम्म धानेको छ ।

पर्यटकलाई आकर्षित गर्न हरेक शनिबार हात्ती सफारी र बयलगाडामा नजिकैको कोटहीमाई मन्दिर दर्शनको व्यवस्था मिलाएको चौधरी बताउँछन् । ‘यो ठाउँलाई अक्वा (मत्स्य ) र थारु संस्कृतिलाई सँगसँगै जोडेर पर्यटकीयस्थलका रुपमा स्थापित गर्ने लक्ष्य छ’ चौधरी भन्छन्, ‘ सिद्धार्थ राजमार्गको भैरहवा—बुटवल सडक खण्डअन्तर्गत कोटिहवा चोकबाट पूर्वतर्फ ५ किलोमिटर दूरीमा भएकाले लुम्बिनी आउने पर्यटकलाई पनि यहाँसम्म ल्याउने योजना छ ।’

चौधरीले माछा फार्म परिसरमै १५ कठ्ठामा कागती खेती र तरकारी खेती पनि गरेका छन् । त्यहाँ ५ सय कागतीका विरुवा लगाइएको छ । यहाँं आउने पर्यटकलाई मनोरञ्जन दिन पानी पोखरीकै बीचमा ड्रम राखेर स्टेज बनाई थारु संस्कृति र नृत्य प्रदर्शन, नजिकैको रोहिणी नदी किनारमा बालुवामा मोटरसाइकल चलाउने प्रतियोगिता, स्याण्ड बाथ र स्वीमिङ गराउने तयारी पनि भइरहेको चौधरी बताउँछन् ।

फार्मभित्र अगस्ती, लज्जावती जस्ता औषधीय विरुवाहरु र बाह्रमासे रहर पनि उनले लगाएका छन् । छोरा स्थानीयलाई रोजगारी दिन र थारु संस्कृति प्रवद्र्धन गर्न गाउँमा होमस्टे सञ्चालन गर्न फार्मले पहल गर्ने चौधरीले बताए ।

‘स्थानीयलाई लाभ होस् भनेर होम स्टे सञ्चालनको पनि पहल हुँदैछ’ चौधरीले भने, ‘निजी क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेगरी ठूलो लगानी भएको छ,राज्यले कमसे कम सडक पूर्वाधारलाई स्तरीय बनाइदिए हुन्थ्यो ।’

व्यक्तिको एकल प्रयासले गुमनामजस्तै रहेको सुनसान गाउँ एकाएक पर्यटकीय गन्तव्य बन्दै गएको र रोजगारी सिर्जना भएको हुँदा यस्ता क्षेत्रको विकास र प्रवद्र्धनमा नगरपालिकाले साझेदारी गर्ने र उद्यमीलाई प्रोत्साहन गर्ने नीति तिलोत्तमा नगरपालिकाको रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment