Comments Add Comment

संस्मरण : महान आत्माका धनी बालकृष्ण पोखरेल

मैले आदरणीय गुरु प्राध्यापक, भाषशास्त्री, बालकृष्ण पोखरेललाई ०४४ साल असार २ गते मंगलबारका दिन बेलुवा उहाँकै निवासमा भेट्ने चिन्ने परिचय गर्ने सुअवसर प्राप्त गरेको थिएँ । त्यसपछि हामी गुरु चेलाबीच आत्मीय सम्बन्ध बढ्दै गयो । त्यसले म जस्ता सामान्य साहित्यिक पाठकका लागि उर्जाको काम गर्दै लग्यो ।

आज म यसरी साहित्यिक संसारमा खुट्टा टेकेर हिँड्न सक्नुमा उहाँकै आशिर्वाद हो भन्दा फरक पर्दैन् । उहाँका मुखबाट फुत्फुती निस्केका शब्दहरु मेरा लागि ज्ञानगंगा बने । यो सौभाग्यलाई म ठूलो उपलब्धिका रुपमा लिन्छु ।

उहाँसँगै हिँड्दा केही यस्ता अवसरहरु मैले पाएँ, जसबाट मलाई ठूलो प्रेरणा मिलेको छ । उहाँकै घरमा सुत्दा उहाँले रातभरि पढेको थाहा पाउँदा ममा धेरै पढेर मात्रै ठूलो विद्वान हुन सकिनेरहेछ भन्ने चेतनाको विकास भयो । अहिले पनि गुरुको आशिर्वादले भन्नुपर्छ, पढ्दा मलाई अल्छी लाग्दैन । आज जुन गतिमा म लेख्न सक्छु, त्यसको श्रेय बालकृष्ण गुरुलाई नै जान्छ ।

उहाँ भन्ने गर्नुहुन्थ्र्याे, ‘हरि, पाँच मिनेट पढ, १० मिनेट सोच अनि १५ मिनेट लेख । आफ्नै मौलिकतामा बाँच । धेरै मिहनेत गरेर पढ तर, मौलिकता नछाड । मौलिकता बचायौ भने तिम्रो लेखनकला बाँच्ने छ ।’ यी वाक्यहरु मेरा मार्गदर्शक बनेका छन् ।

म गर्वका साथ भन्छु–मैले गुरुको मन जितेको थिएँ । उहाँका पुत्र मुनाल पोखरेलका अनुसार गुरुलाई व्याथाले च्याप्दा हरिसँग बोल्छु, फोन लगाऊ भन्नुभएछ । दुःखको कुरा, गुरुको फोन आउँदा म मेरी ममतामयी माताको पार्थिव शरीर छेउमा बसेको थिएँ । तर, अन्तिम क्षणमा गुरुसँग राम्रो सम्वाद गर्न पाएँ ।

मुनाल दाजुले अढाई बजे राति फोन गरेर बुबालाई बचाउन सकिएन भनेपछि म स्तब्ध भएँ । गुरुको सानिध्यमा बिताएको ३२ वर्षे अतीतले मेरो मेरो मष्तिष्कलाई हिर्काउन थाल्यो । निन्द्रा हरायो । एकातिर मातृशोक । मनमस्तिष्कमा आमाको विम्व घुमिरहेका बेला दोस्रो बज्रपात थपियो ।

आमाबाट मैले संस्कार पाएँ, गुरुबाट दिव्य ज्ञान । उहाँहरु मेरा लागि अग्ला–अग्ला सगरमाथा हुनुहुन्थ्यो । हरेकपटक गुरुलाई भेट्दा आमाको खबर सोध्नुहुन्थ्यो ।

कुनै दशैंमा आशीर्वाद माग्न गइनँ भने किन आएनौ भनेर सोध्नुहुन्थ्यो । लु यसपालिको दशैंमा तिमी र मसँगै बसेर खाउँ भन्नुहुन्थ्यो । यसरी मलाई माया गर्ने बालकृष्ण गुरुको निधनले मलाई पारेको असर शब्दहरुले व्यक्त गर्न सक्दैनन् ।

संस्कृतिक, राजनीतिक, सामाजिक, आध्यात्मिक, साहित्यिक, भाषिक जुन कार्यक्रममा गए पनि गुरुसित भेट हुन्थ्यो । थोरै समयमा आध्यात्मिक ज्ञान कसरी लिने र पढेका कुरालाई दिमागमा राखेर उपयोग गर्ने भन्ने उहाँबाटै सिकेँ ।

पहिला पूर्वकाले पश्चिमकालाई, पश्चिमकाले पूर्वकालाई यस्तो उस्तो भनेर गाली गर्ने चलन थियो । तर, गुरुले हामी सबै एकै पूर्खाका सन्तान हौं, यसो भन्नु ठीक होइन भन्दै खस जातिको इतिहास लेख्नुभयो ।

एकपटक गुरुले भन्नुभएको थियो, ‘हरि, एकघण्टा समयलाई मैले हिरा बनाएर टल्काउन सके, त्यसको प्रतिफलमा सबैबाट माया पाएको छु ।’

मैले उहाँको नेपाली अंग्रेजी नेपाली शब्दकोषको नेपाली खण्डको प्रुफ र उहाँले सच्याएअनुसार शब्दकोश सच्चिएको छ, छैन भनेर हेर्ने अवसर पाएको थिएँ । उहाँले आठ महिना दिनुभएको थियो, मैले पाँच महिना २२ दिनमा काम सकेको थिएँ । गुरुले खुसी भएर भन्नुभयो, “मेरा आँखाले काम नगरेका बेला तिमीले साथ दियौं । तिमीलाई धेरै आशीर्वाद दिन्छु ।”

यसरी आशीर्वाद दिने गुरुलाई मैले गुमाइसकेको छु । हुन त मैले काम गरेवापत निमेक लिएको थिएँ । उहाँले ‘मेरो कृति छापिँदा तिम्रो दुःख छोपिनुहुँदैन’ भन्नुभएको थियो । यति उदारमना मान्छे विरलै भेटिन्छन् ।

प्रातःस्मरणीय गुरु बालकृष्ण पोखरेल महान आत्मा हुनुहुन्थ्यो । त्यो आत्माको उज्यालोले मलाई छोइरह्यो । आत्माले मलाई अघि बढ्न प्रेरित गर्‍यो । आँशु बगेका बेला के अरु भन्न सकिँदो रहेछ र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment