Comments Add Comment

अपहरित भनिएकी प्रदेशसभा सांसद प्रहरीको सम्पर्कमा

२४ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्कमा आएकी छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितातले उनी आफूहरुसँगको सम्पर्कमा आइसकेको बताएका हुन् ।

उनले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘उहाँ सम्पर्कमा आइसक्नु भएको छ । एउटा कार्यक्रममा जाने भन्नु भएको छ, थप बुझ्दैछौं ।’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरे ।

‘केहीवेर अघि जिल्लाको डीएसपी सा’बहरूसँग सांसद्ज्यूको कुराकानी भएको छ’, सुवेदीले भने, ‘अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन । थप बुझ्ने काम भइरहेको छ ।’

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठले पनि अनलाइनखबरसँग कुरा गर्दै सांसद् मल्ल अहिले जिल्ला प्रहरी कार्यालयतिर आइरहेको बताए ।

‘उहाँसँग सम्पर्क भइसकेको छ, के भएको थियो भन्ने उहाँसँगै भेट भएपछि मात्र थाहा हुन्छ’, श्रेष्ठले भने । सांसद् मल्ल बझाङ ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रको तर्फबाट विजयी भएकी हुन् । डीआईजी श्रेष्ठका अनुसार उनी बसेको ठाउँमा सञ्चारको राम्रो सुविधा छैन ।

‘कम्प्यूनिशेन ग्याप भएको पनि हुनसक्छ । अहिले पनि राम्रोसँग सम्पर्क भइसकेको छैन’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment