
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा प्रविधिको प्रयोग गरी पहिलोपटक साइबर अपहरण भएको प्रहरीले पुष्टि गरेको छ।
- प्रहरीले अनुसन्धान गर्दा अपहरणकारीको नम्बर पाकिस्तानको रहेको र मोबाइल ह्याक गरेर सूचना लिएको पत्ता लगाएको छ।
७ साउन, काठमाडौं । प्रविधिको प्रयोग गर्दै नयाँ-नयाँ स्वरूपमा अपराधहरू हुन थालेका छन् । पछिल्लो पटक काठमाडौंमा नयाँ शैलीबाट अपहरण भएको पाइएको छ ।
यसलाई सुरक्षा अधिकारीहरूले नयाँ शैलीको साइबर अपहरणको नाम दिएका छन् । साइबर अपहरण नेपालको हकमा नयाँ शैली भएको प्रहरीको बुझाइ छ ।
प्रविधिको प्रयोग गरी पहिलोपटक काठमाडौंमा साइबर अपहरणको घटना भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
थानकोट क्षेत्रमा बस्दै आएका १६ वर्षीय एक किशोर मंगलबार घरबाट बेपत्ता भए । उनी कता गए परिवारले पत्तो पाएन ।
मध्याह्न साढे ११ बजेतिर ती किशोरका आमाको ह्वाट्स एप नम्बरमा ९२३१४३३६५… नम्बरबाट कल आयो । हिन्दीमा कुरा गरेका व्यक्तिले भिडिओ कलमा भने, ‘चारजनाको समूहले एकजना किशोरीलाई बलात्कार गरे । त्यो समूहमा तेरो छोरा पनि छ । उसलाई हामीले नियन्त्रणमा लिएका छौं । ८ लाख रुपैयाँ हाल्नु । नत्र छोराको लाइफ खत्तम हुन्छ ।’
किशोरकी आमा छाँगाबाट खसेझैं भइन् । एकछिन अघि छोराको नम्बरमा फोन गर्दा स्वीच अफ थियो । अहिले छोरा अपहरणमा परेको भन्दै फोन आउँछ ।
त्यति मात्रै होइन, अपहरणकारीले भिडिओ कलमा चारजना किशोरलाई कुट्दै गरेको पनि देखाउँछन् । बलात्कारमा परेकी भनिएकी किशोरीको अहिले उपचार भइरहेको भन्दै मुखमा अक्सिजन लगाएको जस्तो भिडिओ कलमा देखाउँछन् ।
किशोरका आमाले भने आफूसँग ८ लाख रुपैयाँ नभएको बताउँछिन् । तर अपहरणकारी बताउने व्यक्तिले विश्वास गर्दैनन् । त्यसपछि उनको मोबाइल वालेट खोल्न लगाउँछन् । त्यसको स्क्रिन सेयर गर्न लगाएर सबै विवरण अपहरणकारीले नियाल्छन् ।
तर, अपहरणमा परेको भनिएका किशोरको आमाको ई-बैंकिङ सेवामा जम्मा ३४ रुपैयाँ मात्रै हुन्छ । त्यसपछि एक लाख भए पनि ठिक पार्नु भन्दै अपहरणकारीले धम्की दिन्छन् । र, फोन राख्छन् ।
किशोरका आमाले आत्तिँदै सोही नम्बरमा फेरि कल गर्छिन् । रोइकराइ गर्छिन् । भिडिओमा छोराको हुलिया पनि देख्छिन । त्यस्तै कपडा पनि देख्छिन् । बच्चा रोइरहेको आवाज पनि सुन्छिन् । उनी विक्षिप्त हुँदै हात जोड्छिन् । अपहरणकारी र किशोरका आमाबीच करिब आधा घण्टासम्म कुरा हुन्छ ।
तर, केही सिप नलागेपछि उनी प्रहरी वृत्त थानकोट पुग्छिन् । धादिङमा रहेका आफ्ना श्रीमान्लाई घटनाबारे जानकारी गराउँछिन् । घटना सुन्नासाथ स्कुल पढाइरहेका श्रीमान् काठमाडौं हानिन्छन् ।
वृत्त थानकोटमा पुगेर घटनाबारे बिस्तार लगाउने बित्तिकै थानकोटे उनलाई अपराध अनुसन्धान कार्यालय जान सुझाउँछ । त्यसपछि उनी टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुग्छिन् ।
अपराध अनुसन्धान कार्यालयको ६ नम्बर पिलरका डीएसपी रोशन खड्काको टोलीले घटनाबारे अनुसन्धान सुरु गर्छ । प्रारम्भिक अनुसन्धानमै ह्वाट्स एप नम्बर पाकिस्तानको रहेको खुल्छ । सीमा नाकामा समेत अलर्ट रहन भन्दै सर्कुलर गरिन्छ ।
अपहरणमा परेको भनिएका किशोरको घरमा पुगेर अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गर्छ । वरपरका सीसी क्यामेराको फुटेज हेर्न सुरु गरिन्छ ।
परिवारका आफन्तसँग सोधपुछ सुरु हुन्छ । केही दिनअघि मात्रै ती किशोरले पुतलीसडकमा कमेडी दरबारको सुटिङ नि:शुल्क हेर्न पाइने कुरा गरेको परिवारले प्रहरीलाई सुनाउँछन् ।
त्यसपछि प्रहरीको एउटा टोली पुतलीसडकस्थित सुटिङ भइरहेको स्टार मलमा पुग्छन् । जहाँ किशोरको खोजी हुन्छ । उनी त्यही भेटिन्छन् । प्रहरी स्वयं छक्क पर्छन् । ती किशोरले पनि प्रहरीसँग आफूलाई किन लगेको भन्दै प्रश्न गर्छन् ।
टेकुस्थित कार्यालयमा धादिङबाट ती किशोरका बासमेत आइसकेका हुन्छन् । एकछिन अघिसम्म अपहरणमा परेको भनिएका छोरालाई देख्दा बा-आमा खुसी हुन्छन् । यता प्रहरीले यो अपहरणको शैली देखेर नयाँ चुनौती थपिएको अनुसन्धान र विश्लेषण गरिरहेको छ ।
प्रहरी अनुसन्धानका क्रममा ती किशोर बिहान साढे ८ बजेतिर घरबाट निस्केको देखिएको छ । साढे १० बजेतिर उनले मोबाइल फ्लाइट मोडमा राखेको पाइएको छ । त्यसको एक घण्टापछि किशोरका आमालाई अपहरणकारीको फोन आएको देखिएको एसपी आचार्य बताउँछन् ।
किशोर उनको परिवारको सम्पूर्ण जानकारी लिएर साइबर अपहरण गरिएको देखिएको प्रहरीको भनाइ छ । जसका कारण मोटो रकम असुल्ने योजना रहेकोमा ई-बैंकिङमा रकम नभएकाले जोगिएको प्रहरीले बताएको छ ।
कसरी लिए अपहरणकारीले किशोरको सबै जानकारी ?
अपहरणकारीले कसरी किशोरको सबै जानकारी लिए भन्नेबारे प्रहरीले निष्कर्ष निकालिसकेको छैन । अहिले पनि यसको अनुसन्धान जारी नै छ । ती किशोरका कुनै निकट व्यक्तिले दिएको सूचनाका आधारमा यो सबै भएको हो कि भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तर, अहिलेसम्मको अनुसन्धानले भने मोबाइल ह्याक गरेर सबै सूचना लिएको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताएका छन् । ती किशोरलाई कार्यालय ल्याएर सोधपुछ गर्नुका साथै उनको मोबाइल हिस्ट्री हेर्दा विभिन्न लिंकहरू खोलेको भेटिएको ती अधिकृत बताउँछन् ।
फिसिङका लागि पठाइएका ती लिंक क्लिक गर्दा अपहरणकारीले उनको माबोइल ह्याक गर्न सफल भएको सबै सूचना लिएको हुनसक्ने ती अधिकृतको भनाइ छ ।
किशोरको मोबाइलबाट परिवारका सदस्यको नम्बरका साथै उनको सामाजिक सञ्जालबाट सबै सूचना लिएको हुनसक्ने प्रहरीको विश्लेषण छ । यी सबै सूचना लिएर ति किशोरलाई निगरानी गरिएको र मोबाइल अफ भएको थाहा पाएपछि साइबर अपहरण गर्दै फिरौती लिन खोजिएको प्रहरीको बुझाइ छ ।
यसका लागि आफैं बैंक अकाउन्टमा रकम हाल्न लगाउने स्क्रिन सेयर गरेर मोबाइल बैंकिङको सबै विवरण हेरेपछि त्यहीबाट रकम अन्य खातामा रकमान्तर गर्न योजना रहेको प्रहरीको बुझाइ छ ।
यद्यपि, यसको अनुसन्धान अझै जारी रहेकोले विस्तृत बुझ्न अझै बाँकी रहेको प्रहरीले बताएको छ ।
चुनौती थपियो
अपहरणमा परेका भनिएका किशोर प्रहरीले फेला पारेर बुझाएका उनको परिवार खुसी हुँदा यता अपहरणको नयाँ शैली देखिएको भन्दै प्रहरी अधिकारीहरू भने चिन्तित छन् ।
यस्तो शैलीले व्यक्ति अपहरण नै भएपछि ठूलो आर्थिक नोक्सान हुनसक्ने प्रहरीको बुझाइ छ ।
‘हिजैको घटनामा पनि यदि बैंकिङ वालेटमा रकम भएको भए सबै रकम साइबर अपहरणकारीले स्विफ्ट गरेर लैजान सक्थे । लक्की नै भन्नुपर्छ, किशोरका आमाको खातामा रकम रहेनछ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
व्यक्ति अपहरणमा परेको भनेपछि मुक्त गराउन आफन्त जे पनि गर्न तयार हुने भएकाले साइबर अपहरणकारीले मोटो रकम ठग्न सक्ने आकलन गरिएको छ ।
अहिलेसम्म यस्तो अपहरणको शैली नेपालमा देखा नपरेको र यसले चुनौती थपेको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया 4