Comments Add Comment
मेरो कथा :

…त्यसपछि मेरै नामको कोटा काटियो !

आँसु झरेको त्यो क्षणपछि हारेकी छैन

मैले उसु खेल्न थालेको जम्माजम्मी सात वर्ष बित्यो । तर यो सात वर्षमा नमिठो पीडा भोगेकी छु । खुशीले उफ्रिएकी छु । सम्भावना सकियो भनेर निराश भएकी छु । ओहो ! यस्तो पो जीवन भनेर रमाएकी पनि छु ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै देशका लागि स्वर्ण पदक जित्न पाउँदाको उत्साह असाध्यै ठूलो छ । अनि पहिलो भएर पनि प्रतिस्पर्धामा सामेल हुन नपाउँदाको निराशा उस्तै दुःखदायी ।

खेलाडीको जीवन कथामा बाहिरबाट हेर्दा खेल मात्रै देखिए पनि त्यसभित्र धेरै कुरा हुने रहेछ । ‘मेहनत गर्ने हो, खेल्ने हो, जित्ने हो’ भन्ने सोचेर एकोहोरो लागिरहिन्छ तर, त्यतिले मात्रै सफलता दिन्छ, हौसला मिल्छ भन्ने छैन ।

मैले किन यसो भने तपाईंले मेरो कथा पढिसक्दा बुझी नै हाल्नुहुन्छ । धेरै खेलाडीको जीवन कथा आखिर यस्तै नै त हो ।

००००

मैले उसु खेल्न सुरु गर्दा कक्षा ७ मा पढ्दै थिएँ । उसुभन्दा पहिले त बाबाले मलाई जुडो खेल्न पठाउनुभएको थियो । खेलाडी बन्छु भनेर भन्दा पनि शारीरिक रुपमा बलियो बनिन्छ, ‘सेल्फ डिफेन्स’ हुन्छ भन्ने थियो ।

जुडो खेल्ने ठाउँ अलि टाढा भएकाले बिहान समय दिन सकिएन, त्यसैले रोकियो । निराजन आलेमगर गुरुले टीकाथली गोदावरी खोला नजिकै किनारमा उसु सिकाउनुहुन्थ्यो । त्यसैले घर नजिक भएकाले उसु सिक्न जान थालेँ । बेलुका स्कूलबाट फर्किएपछि अभ्यास हुने भएर पनि सजिलो भयो । बाबाले पनि हौसला दिनुभयो । स्कूलबाट आउने वित्तिकै खाजा खाएर खेल्न दौडिहाल्थेँ ।

विस्तारै उस्सुको लत लाग्न थाल्यो । एक दिन छुट्यो भने पनि साथीहरुले कत्ति सिकिसके होला,। म पछि पर्ने भएँ जस्तो लाग्थ्यो । त्यसैले सकेसम्म एक दिन पनि नछाडि गइरहन्थेँ ।

पहिलो दिन उसु सिक्न जाँदाको रमाइलो अनुभव छ । म जिन्सको पाइन्ट र टिसर्ट लगाएर गएकी थिएँ । त्यतिबेला मसँग ट्रयाकसुट थिएन, लगाउने चलन नै थिउन । गुरुले मलाई देख्नेवित्तिकै भन्नुभयो, यस्तो लुगामा आएर हुँदैन । अलि सजिलो लुगा चाहिन्छ, किकहरु हान्नुपर्छ, चप्पलमा पनि हुँदैन जुत्ता लगाउनुपर्छ ।’

उसुको आफ्नै पहिरन हुन्छ, कालोमा सेतो मिसिएको, टाँक भएको चाइनिज लुगा जस्तो । नियमित अभ्यासमा ट्र्याकसुट लगाइने रहेछ । तर, म जिन्स पाइन्ट लगाएर गएँ ।

असार ०७० मा नवौं राष्ट्रिय उसु प्रतियोगिता भएको थियो, त्यसमा म दोस्रो भएँ । विद्या महर्जन पहिलो हुनुभएको थियो । तर, पारिवारिक समस्याका कारण उहाँले छाडेपछि मैले राष्ट्रिय टिममा रहेर अभ्यास गर्ने अवसर पाएकी थिएँ । राष्ट्रिय टिममा जाँदा क्लबमा गएको जसरी जानु भएन भनेर ट्राकसुट किनेँ । बाबाले मेरो गुरुलाई नै पाँच हजार रुपैयाँ दिएर ट्रयाकसुट र जुत्ता किनिदिन भन्नुभयो । त्यो बेला किनेको ट्रयाक अझै मसँग सुरक्षित छ ।

००००

मैले जुनियर खेलकुद, स्कूलस्तरबाटै प्रतियोगिताहरु खेलन थालेँ । फाइट गेम ‘सान्सु’ मा म पनि सक्छु भनेर खेलेँ तर जुनियर प्रतिस्पर्धामै धुस्न कुटाई खाएँ । लौ यसमा त सकिँदैन जस्तो लाग्यो । गुरुले पनि थाउलुतिर जान सुझाव दिनुभयो ।

थाउलुमा आएपछि भने मैले प्रतिस्पर्धाहरुमा जित्न थालेँ । जुनियरमा जति प्रतियोगिता खेले, सबैमा स्वर्ण पदक नै जितेँ । सिनियरमा भने सजिलो थिएन । निकै अनुभवी खेलाडीहरु पनि थिए । जे होस्, पहिलो सिनियर प्रतिस्पर्धा (नवौं राष्ट्रिय) मा आउँदा नै दोस्रो हुन सक्नु कम उपलब्धी हो जस्तो लागेन ।

विद्याले छाडेपछि राष्ट्रिय टिमको अभ्यासमा आएँ, जहाँ अधिकांश मेरा ‘आइडल’हरु थिए । पहिलो ‘आइडल’ त सुस्मिता तामाङ थिइन् । ‘निकै मेहनत गरेर अभ्यास गर्छे, हामी सँगै दौडिन्छे, उल्टी सुल्टी जिम्न्यास्टिक हान्छे’ भनेर गुरुबाट धेरै तारिफ सुनेकी थिएँ । राष्ट्रिय टिमको अभ्यासको पहिलो दिन नै सुस्मितासँग दोस्ती बन्यो । झण्डै एउटै उमेरका हामीलाई एकअर्कासँग नजिक हुन समय नै लागेन । अहिलेसम्म पनि हामी सँगै छौँ, खुशी लाग्छ ।

सुरुका दिनहरुमा गुरुहरुले सानै छन् भनेर कम कुदाउनुहुन्थ्यो । हामी भने सक्छौं भनेर सिनियर जसरी नै अभ्यास गथ्र्यौं । एक पटक त पिँडौलाको मासु फर्कियो । विस्तारै अव्यस्त हुँदै गएँ । तर, दशौँ राष्ट्रिय उसु प्रतियोगितामा म तेस्रो हुन पुगेँ । असाध्यै दुःख लाग्यो । सँगै दौडिरहेका साथीहरुले उछिन्दा नराम्रो लाग्ने रहेछ । ‘इगो हर्ट’ भन्छन् नि, मलाई पनि त्यस्तै भयो । अब मेहनत बढाउनुपर्छ भन्ने लाग्यो । अभ्यासमा पनि ध्यान दिन थालेँ ।

दक्षिण कोरियामा हुने एसियाली खेलकुदका लागि छनोट हुँदै थियो । त्यसैले मेहनत त बढाउनै पर्ने हुन्थ्यो । कोरिया जाने टिममा छनोट भएरै छाड्छु भन्ने सोचिरहेकी थिएँ । बाबालाई पनि भनेकी थिएँ, ‘बाबा म जसरी पनि कोरिया जान्छु र खेल्छु ।’

कोरियामा जान पाइने कुराले भित्रभित्रै रमाइरहेकी थिएँ । हुन पनि बच्चै थिएँ । कक्षा नौ मा पढिरहेकी थिएँ । कोरिया भनेपछि वाउ ! भन्ने भयो । नहोस् पनि किन ? त्यो समयमा कोरियन सिनेमाहरु हेर्ने चलन खुबै चलेको थियो ।

००००

बिहान बेलुका नभनि मेहनत गरेँ । यसो गर्दा के होला, यसरी बटार्दा कस्तो होला भनेर प्रयास गरेँ । अभ्यास गर्न राम्रो ‘म्याट’ को खोजीमा कहाँ कहाँ पुग्थेँ । टिकाथलीबाट एक्लै हिँड्दै हरिसिद्धिमा पुग्थेँ । कोही नआए पनि एक्लै अभ्यास गरिरहन्थेँ ।

एकदिन हरिसिद्धिमा अभ्यास गरिरहँदा ‘जम्प’ गर्दा मेरो सन्तुलन बिग्रिएर टेक्न पुगेछु, हात नै भाँचियो । एक महिना मात्रै बाँकी थियो एसियाली खेलकुदको छनोटका लागि । कुरा त्यतिमै सकिएको भए पनि हुन्थ्यो तर, सकिएन । अझ भनौं मैले सकिन दिइनँ । हात भाँचिए पनि हार मानिनँ । हातमा प्लास्टर गर्न समेत मानेको थिइनँ । बाबाले सम्झाएर प्लास्टर गर्न मनाउनु भयो ।

प्लास्टर लगाएर बस्दा पनि कहिले खेलौँ, के गरौँ जस्तो हुन्थ्यो । भाँचिएको हात लिएर क्लबमा जान्थेँ र अरुले गरेको हेर्थें । खुट्टाको मोमेन्ट भएपनि गरेर बसिरहेको हुन्थेँ । त्यसैले निकाल्ने समय नहुँदै जिद्धि गरेर प्लास्टर निकालेँ, अभ्यास गर्न थालेँ । मेरो मेहनत र इच्छा शक्तिले होला छनोट प्रतियोगितामा पहिलो भएँ । परिवारका सबैजना हेर्नलाई आउनुभएको थियो, असाध्यै खुशी लाग्यो ।

त्यो क्षण सम्झँदा अहिले पनि मेरो आँखा रसाउँछ । किनभने मैले त्यस्तै मेहनत गरेको थिएँ नि त ।

त्यो मेरो जीवनकै कोसेढुँगा जस्तो बन्यो । हात भाँचिएर पनि छनोट प्रतियोगिता जितेको भएर होइन । जितेर पनि कोरिया जाने टिममा नपरेकाले ।

हो त ! त्यत्रो सपना, त्यत्रो मेहनत र जितले पनि मेरो लागि एसियाली खेलकुदसम्म पुग्ने बाटो बन्न सकेन ।

त्यो समय बाहिरको कुराहरु खासै थाहा थिएन । हुन त अहिलेसम्म पनि धेरै कुरा थाहा हुँदैन । आफूलाई त के मात्रै थाहा हुन्छ भने ‘खेल्नुपर्छ, मेहनत गर्नुपर्छ, जित्नुपर्छ ।’ मैले जितेँ, जितेपछि जान पाउँछु भन्ने थियो तर, त्यतिले नपुग्ने रहेछ ।

डाइट र क्लोज क्याम्पमा बसेर मेहनत गरेकी थिएँ । स्कूलमा साथीहरुलाई ‘म त कोरिया जाँदैछु’ भनेर धाक लगाइसकेको थिएँ । एक दिन क्लोज क्याम्पमा बसिरहँदा ‘एउटा कोटा काटिँदै छ’ भन्ने सुनेँ । पहिलो भएकाले आश थियो तर, जुनियर खेलाडी भएकाले मेरै नाम पो काटिन्छ कि भन्ने डर पनि थियो ।

मेरै नामको कोटा काटिएछ । मलाई कस्तो भयो होला ? अब कहिल्यै उसु नखेलौँ जस्तो लाग्यो । खाना खाइनँ, स्कूल गइनँ, बुबाआमालाई दुःख दिएँ । बच्चै त थिएँ !

त्यसबेला बाबा र गुरुले भन्नु भएको थियो, ‘तिमी स्ट्रङ नभएकाले छनोटमा नपरेको हो, अब स्ट्रङ हुने कि झन् कमजोर बन्ने ?’ अरुले पनि ‘तिम्रो उमेर छ, हिम्मत नहार’ भनेर सम्झाउनु भयो । उहाँहरुको त्यहि भनाइले म अगाडि बढेँ । मेहनत गरेँ । त्यो नमिठो क्षणपछि गरेको मेहनतको फल अहिले पाइरहेकी छु । त्यो बेलादेखि दोस्रो हुनु परेको छैन, राष्ट्रिय टिममा रहेर खेलिरहेकी छु ।

००००

कोरिया जान नपाएको पीडा बिर्सिएर अभ्यास गरिरहँदा १२ औं दक्षिण एसियाली खेलकुदको छनोट आयो ।

दक्षिण एसियाली खेलकुदको महत्व छुट्टै छ । भारत, पाकिस्तान, श्रीलंका जस्ता देशहरुको बीचमा हामी पनि कमजोर छैनौं । एसियाली खेलकुदमा जाँदा केही सिक्ने इच्छा हुन्छ भने दक्षिण एसियाली खेलकुदमा जित्नैपर्छ भन्ने सोच हुन्छ ।

क्लोज क्याम्प भयो, छनोट भएँ । फेरि उही एक जनाको कोटा काटिन्छ भन्ने हल्ला चल्यो । धन्न यसपटक मेरो नामको कोटा काटिएन । यसपटक भने काटिए पनि काटियोस् जस्तो लागेको थियो । किनभने म १० कक्षाको अन्तिम परीक्षा पनि आइरहेको थियो । टिममा परिनँ भने मेहनत गरेर पढ्छु भन्ने सोचेकी थिएँ ।

खेलकुद… खेलकुद भन्दा पढाइलाई समय दिन पाएकी थिइनँ । स्कूलमा सरमिसको जहिल्यै गुनासो हुन्थ्यो, ‘नीमा यसरी हुन्छ ? खेलेर तिमीले कसरी करिअर बनाउछौ ?’ हुन पनि उसु अभ्यास गरेर हतार हतार स्कूल पुग्दा पहिलो क्लास छुटिसकेको हुन्थ्यो । म बिहान अभ्यास गरिरहँदा पनि साथीहरु ट्युसन कक्षा पढिरहेका हुन्थे । आफू भने स्कुलको नियमित कक्षा पनि नभ्याउने ।

न खेल छाड्न सक्थेँ न पढाइ । एउटा उसुको लुगाहरु राखेको झोला अर्को किताव कापी भएको झालो गरेर दुईवटा बोकेर जान्थेँ । दुई वटा गाडी फेरेर स्कूल पुग्नुपथ्र्यो । रंगशालाबाट लगनखेल र त्यहाँबाट लुभूसम्म । थाकेर होला, कति पटक बसमा निदाएर अन्तै पुग्थेँ । न मुख धुन पाउनु न कपाल कोर्न पाउनु, एउटा झोलामाथि अर्को झोला खप्याएर हस्याङफस्याङ गर्दै स्कूल पुग्थेँ । स्कूलमा पुग्दा साथीहरुले जिस्काउँदै भन्थे, ‘ओइ तँ कुन चाहिँ विश्वयुद्ध लडेर आइस् ?’ म चाहिँ चुप लागेर गएर आफ्नो सिटमा थपक्क बस्थेँ ।

अँ ! म दक्षिण एसियाली खेलकुदको कुरा गर्दै थिएँ । छनोटमा परेपछि स्कूलमा भन्दै नभनेर कक्षा १० को अन्तिम परीक्षा छाडेर अभ्यासमा पोखरा क्लोज क्याम्पमा गएँ ।

००००

दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेल्न भारत गयौं । सबैले हौसला दिनुभएकाले मलाई पनि जित्छु जस्तो लागेको थियो । पहिलो चरणमा मैले राम्रै अग्रता बनाएकी थिएँ । तर दोस्रो चरणको खेलमा मेरो हतियार झर्न पुग्यो ।

अभ्यास बेला त्यसरी हतियार झर्दा फेरि सुरु गर्ने बानी थियो । तर धन्न त्यो बेला एक्कासी भुइँबाट हतियार टिपेर खुरु खुरु खेलेँ । भारतीय खेलाडीसँग अलिअलि डर लागिरहेको थियो । तर, खेलेपछि निर्णय सुनाउँदा मैले नै जितेछु ।

त्यो दक्षिण एसियाली खेलकुदमै नेपालका लागि पहिलो स्वर्ण भएकाले रमाइलो लाग्यो । पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै मैले स्वर्ण जित्न पाउँदा असाध्यै खुशी भएँ । एकछिनमै मिडियाका साथीहरुबाट घेरिएँ । ‘ल नीमा अन्तर्वार्ता लिनुपर्‍यो यता आउ, नीमा यता, नीमा एकछिन यता है’ सबैको खोजीमा परे ।

मैले स्वर्ण जितेको खबर कसले बुबालाई फोन गरेर भनिदिनुभएको रहेछ । उहाँ पिकअप भ्यान चलाउनुहुन्छ । त्यो बेला गाडी बिग्रिएर कता फस्नुभएको रहेछ । मैले स्वर्ण जितेको खबरले असाध्यै नै खुशी हुनु भएको थियो रे तर, मैले कुरा गर्न पाइनँ । म नेपाल फर्किएपछि झनै खुशी लाग्यो । स्कूलबाट, घरतिरबाट धेरैजना एअरपोर्टसम्मै आउनुभएको थियो । सबैले बधाई दिइरहेका थिए ।

तर नरमाइलो के भने हामीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न पाएकै हुँदैनौं । दक्षिण एसियाली खेलकुदपछि एकैपटक एसियाली खेलकुद कुरेर बस्नुपर्छ । विदेशमा कतै गइहाल्यो भने पनि खेलाडी आफैंले खोजेर, आफैंले खर्च गरेर जानुपर्ने हुन्छ ।

आफूभन्दा पछि परेका भारत, पाकिस्तानका खेलाडीलाई अर्कोपटक भेट्दा उनीहरु राम्रो भइसकेका हुन्छन् । उनीहरुको प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागिता दुबै भइरहेको हुन्छ । त्यसेले प्रतियोगिता नखेली हुँदैन, अनुभव लिनुपर्छ भनेर आफ्नै बलबुतामा १४औं विश्व उसु च्याम्पियनसिपमा भाग लिन जाने सोचेँ ।

००००

रसियाको कजानमा भएको १४औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दीपक हमाल दाइ र म गएँ ।

रसिया त गइयो तर, विश्वस्तरका टिमको जमघट हुने ठाउँ पुग्दा कस्तो कस्तो लाग्न थाल्यो । व्यवस्थापनको केही कुरा थाहा थिएन । धन्न दीपक दाइले मिलाउनुभयो । मैले पदक केही नजिते पनि त्यहाँ पाएको अनुभव ठूलो थियो । धेरै कुरा बुझ्न पाएँ । राम्रा भनिएका देशका खेलाडी कस्तो हुने रहेछन् हेर्न पाएँ । चीन, अमेरिका, कोरिया, जापान, रसियाका खेलाडीबाट धेरै कुरा बुझ्न पाएँ ।

हेर्नुहोस् भिडियो

त्यही अनुभवको बलमा गएको भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा राम्रो खेल देखाउन सकेँ ।

प्रतियोगिता अघि नियमित अभ्यास गरेकी थिएँ । एक महिना चीनमा अभ्यास गर्ने अवसर पनि मिलेको थियो । तर, व्यवस्थापन पक्ष भने चित्त बुझ्दो थिएन । जे होस् केही त सिकियो नै । यो पटक पनि कोटा काट्ने चर्चाले छाडेन । जम्मा चार जना खेलाडी मात्रै लगिएको थियो । मैले दक्षिण एसियामा स्वर्ण जितेर आफ्नै एउटा ठाउँ बनाएकाले मेरो नाम काटिएन ।

इन्डोनेसियामा पदक त जित सकिनँ तर, राम्रो अंक ल्याएँ । हामीले राष्ट्रिय कीर्तिमान बनायौं ।

००००

उमेर सानै भएपनि खेलकुदमा धेरै कुरा बुझ्न पाएको छु । पढाइ पनि छाडेको छैन । अहिले स्नातक पढिरहेकी छु । खेलले एउटा सम्मानको जीवन पनि दिएकै छ ।

अब अन्तर्राष्ट्रिय प्रतियोगितामा जानुअघि अन्तिम समयमा कोटा काटिएला कि भन्ने डर छैन । काटियो नै भने पनि मभन्दा राम्रो खेलाडी आएछन् भनेर खुशी हुनेछु …. ।

प्रस्तुति : ऋग्वेद शर्मा
तस्वीर र भिडियो : शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २७ औं श्रृङ्खलामा यो हप्ता उसु खेलाडी नीमा घर्ती मगरको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment