+
+
Shares

२०७६ सालको सार्वजनिक विदाप्रति जनजाति अगुवाको आपत्ति

'महेन्द्रकालीन पञ्चायती ब्यवस्थाको पुनरावृत्ति'

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २ गते १२:२९

२ चैत, काठमाडौं । खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै आदिवासी जनजातिका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघसहित नौ वटा जातीय संस्थाका प्रतिनिधिहरुले शनिबार संयुक्त विज्ञप्ति निकालेर २०७६ सालभरी दिइने सार्वजनिक पर्व एवम् सट्टा विदामा असहमति जनाएका हुन् ।

सरकारले २०७६ सालभरी दिइने सार्वजनिक विदा सम्बन्धी सूचना शुक्रबार जारी गरेको थियो । जसअनुसार देशभर १५ दिनमात्र सार्वजनिक विदा हुने छ ।

यसमा असहमति जनाउँदै आदिवासी जनजातिका अनगुवाहरुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘एउटै नश्ल, जाति, भाषा, धर्म, संस्कृतिलाई मात्रै संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने गरी सार्वजनिक पर्व एवम् विदा घोषणा गरेकोप्रति कूल जनसंख्याको ३७ प्रतिशत आदिवासी जनताको तर्फबाट हामी घोर भत्र्सना र खेद व्यक्त गर्दछौं ।’

सरकारको यो निर्णयबाट लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपालको उपहास भएको, संविधानको मूल मर्म र भावना बिरुद्ध भएको, परिवर्तनको बर्खिलाप भएको र महेन्द्रकालीन पञ्चायती ब्यवस्थाको पुनरावृत्ति भएको उनीहरुको ठहर छ ।

‘३१ प्रतिशत खस आर्य समुदायका लागि ११ दिन दिइएको छ भने ३७ प्रतिशत आदिवासी जनजातिका लागि विगतमा दिइँदै आएको ५ दिन सार्बजनिक बिदा पनि पूर्ण रुपले खारेजी गर्नु सामाजिक न्याय र समानताको दृष्टिकोणले कदापि सहृय हुन सक्दैन,’ विज्ञप्तिमा लेखिएको छ ।

माघी/माघे संक्र्रान्ति, उभौली, उद्यौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, योमरी पुन्हि आदिमा देशभर दिइँदै आएको सार्बजनिक बिदा वर्तमान सरकारले खारेज गर्दै स्थान विशेष र जाति विशेषलाई मात्र दिएको छ ।

संविधानको मर्म बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई समाप्त पार्ने उद्देश्यबाट नियोजित रुपमा सरकारले गरेको बिदा कटौतीको निर्णय गरेको उनीहरुको आरोप छ । विदा कटौतीको निर्णय फिर्ता लिन आग्रह गर्दै उनीहरुले यदि निर्णय फिर्ता नलिए सडक संघर्षमा उत्रिनुको विकल्प नहुने चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष, जगतबहादुर बराम, तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी,  नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, किरात राई यायोक्खाका महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?