Comments Add Comment

धिमे बजाउने केटी…

‘उ धिमे बजाउने केटी आई’

मानिसहरुले खिस्याएर भनेका हुन् कि अचम्म मानेर भन्ने वास्तै नगरी इन्दिरा लाछिमस्यु मुसुक्क हाँस्दै हात हल्लाइदिन्थिन् ।

उनलाई कमैले नामले बोलाए । धेरैले त ‘ओ धिमे ! ओ धिमे !’ भन्थे । त्यसमा इन्दिरालाई लाज होइन, गर्व लाग्यो । केटीले धिमे बाजा बजाउनु त परको कुरा, छुन पनि हुँदैन भन्ने समयमा इन्दिराले लिएको सकारात्मक सोचले नै उनलाई ‘धिमे गर्ल’ को परिचय दिएको छ ।

२४ वर्ष पहिले उनले धिमे बाजा बजाउन थाल्दा छरछिमेकमा कसैले केटीले बाजा बजाउन सक्छन् भन्ने सोचेकै थिएनन् ।

उनले सोचिनन् मात्र, बजाएर देखाइन् । ‘बाजा बजाउने कस्ती केटी रहिछे’ भन्नेहरु नै अहिले उनको प्रशंसा गर्छन् । संस्कृति जोगाउन भूमिका खेलेकोमा सम्मान गर्छन् ।

‘त्यो बेलाको समाज नै त्यस्तो थियो । अहिले त सबैजनाले रहर गर्छन्, केटा र केटीमा केही फरक छैन । सिकाउने बेलामा होस् कि बजाउने बेलामा, को केटा को केटी भन्ने नै हुँदैन,’ हँसिलो अनुहारमा इन्दिराले सुनाइन् ।

‘बाजा बजाउन एकदमै रमाइलो लाग्छ । आफूले रमाइलो मानेन भने सुन्नेलाई पनि रमाइलो लाग्दैन नि त । भक्तपुरमा बजाइने नौ बाजा, दाखा भजनमा प्रयोग हुने बाजादेखि धिमेसम्म बजाउँछु ।’

नयाँ पुस्तालाई उही ज्ञान

ता – ता, खः – खः, घेँ – घेँ, झेँ – झेँ…धिमेको बोल उच्चारण गरिरहेकी इन्दिराको वरपर केही साना विद्यार्थी काँधमा धिमे बाजा भिरेर उनकै बोल पछ्याइरहेका छन् । केही बोल उच्चारण गराएपछि उनले कसरी बजाउने पनि सिकाइन्, विद्यार्थीहरुले त्यसैलाई दोहोर्‍याए ।

इन्दिराले भक्तपुरस्थित एभरेस्ट इंग्लिस स्कूलका बालबालिकालाई जस्तै नयाँ पुस्तालाई धिमे सिकाउन थालेको पनि २१ वर्ष पुग्यो । अहिले उनले एभरेस्ट स्कूलसँगै भक्तपुरकै ब्रहृमायणी आधारभूत विद्यालय र घरैमा खोलेको ख्वप संगीत संस्थानमा धिमे सिक्न चाहनेलाई सहयोग गरिरहेकी छन् ।

तपाईँका विद्यार्थी कति भए होलान् त ? प्रश्न सुनेपछि इन्दिरा एकैछिन अडिइन् । ‘ओहो ! कति भयो कति, १२/१५ सय पुगे कि ? आफ्ना विद्यार्थीबारे लेखेर राख्नुपर्ने रहेछ, त्यसमा विचार नै गरिएन,’ उनले भनिन् ।

बहृमायणी आधारभूत विद्यालयमा स्थानीय विषयको शिक्षिकासमेत रहेकी उनी बाँकी समय बाजामा नै व्यस्त हुन्छिन् । साना केटाकेटीलाई आफूले सिकेको ज्ञान बाँड्न पाउँदा इन्दिरा खुब रमाउँछिन् । त्यसले धिमे बाजाको संरक्षण गर्न सजिलो भइरहेको छ जस्तो उनलाई लाग्छ ।

नयाँ पुस्ताले चाख मानेको देखेर उनलाई आफ्नो समय याद आउँछ । धिमे बाजासँगै नौ बाजामा पनि रमाउने उनी पुराना दिनहरु सम्झिँदा आफू यहाँसम्म पुगुँला जस्तो नलागेको बताउँछिन् ।

इन्दिराका बुवा पञ्चलाल लाछिमस्युलाई उनले ‘बा म पनि धिमे बजाउने’ भनेको बेला ‘केटीले पनि कहीँ बाजा बजाउँछन्’ भनिदिएको भए उनको रहर मरेर जान्थ्यो होला । तर उनका पञ्चलालले समाजको कुरा सुनेनन्, छोरीको रहरमा साथ दिए । बाजे रत्नलाल लाछिमस्युले पनि इन्दिराले भनेजस्तै धिमे बाजा मात्रै होइन, नौ बाजा सिकाइदिए । समाजको मान्यताविरुद्ध गएर पनि बाजेले आफूलाई कसरी सिकाएका थिए भन्ने इन्दिरा भुल्दिनन् ।

लुकेर सिकेका ती दिन

इन्दिरालाई ०५१ सालमा ११ वर्षको उमेरमा धिमे बाजाको रहर जागेको थियो । त्यो समय समाजले उनको कामलाई रुचाउँदैन भन्ने नबुझि उनी एकोहोरो लागिरहिन् ।

‘मेरो परिवार नै बाजामा हुनुहुन्छ । बा, दाइदेखि सबैजना बाजा बजाउनुहुन्छ । बाजे पनि सबै नेवारी बाजा बजाउनुहुन्थ्यो,’ पुरानो दिन सम्झिँदै उनले भनिन् ।

त्यो समय जर्मनीबाट आएर नेवारी बाजामा अध्ययन गरिरहेका डा. गेट वागनर र भक्तपुरका गुरु गणेशबहादुर सिजंखु उनको घरमा १२ जना केटाहरुलाई धिमे बाजा सिकाउँथे । ‘बाजा सिकाउने कक्षानजिकै म बस्ने कोठा थियो, उनीहरु सिकिरहेको बेलामा म बोल सुन्दै बस्थेँ । गुरुले दिएको बोलहरु मलाई सबै याद हुन्थ्यो र अभ्यास गरेर बस्थेँ,’ इन्दिराले सम्झिइन् ।

सुरुमा यसरी लुकेर बोल सुन्दै बित्यो । विस्तारै आफूले सिकेको बोल धिमेमा नै बजाउन मन लाग्यो । बालाई भनिन्, ‘बा मलाई कस्तो धिमे बजाउन मन लागेको छ । उनीहरुले सिकेको कुरा पनि मलाई आउँछ ।’

त्यतिबेला बाले भनेका थिए, ‘ल ठीकै छ नि त । केटीहरुले बजाउनै नहुने कहाँ लेखेको छ र ! बजाऊ, बजाऊ ।’

बाले त्यति भनेपछि सिकाउने कोठामा गएर कोही नभएको बेलामा इन्दिराले धिमे बाजा बजाउन थालिन् ।

‘एकदिन मैले बजाइरहेको बेलामा वागनर गुरु तल आएर बसिरहनुभएको रहेछ । उहाँले पनि सुन्नुभएछ । यति राम्ररी कसले बजाइरहेको छ भनेर उहाँलाई उत्सुकता भयो र माथि हेर्न आउनुभयो । गुरुले सोध्नुभयो, ‘कसले बजाएको हो ?’ गुरुको उत्सुकताले उनलाई पनि ठूलै काम गरेको भान परेको थियो ।

‘मैले नै बजाएको हो गुरु भनेँ । तपाईँले कक्षामा दिनुभएको बोलहरु मैले पनि टिपिरहेकी थिएँ अनि त्यहीअनुसार बजाएँ भनेँ । गुरु पनि खुशी हुनुभयो । अब नियमित बजाऊ भन्नुभयो ।’

‘बा र गुरुको अनुमति पाएपछि मलाई पनि अरु के चाहियो र ?’ उनी भन्छिन् ।

गणेशबहादुर सिजंखु गुरुले सुरुमा हुँदैन कि जस्तो गरे पनि साथ नै दिएको इन्दिरा सम्झिन्छिन् ।

सबैभन्दा ठूलो गुरु भने आफ्नो बाजे रहेको उनलाई लाग्छ । ‘बाजे जता-जता जानुहुन्थ्यो, ढोलक बोकेर सिकाइदिनु न भन्दै पछि-पछि जान्थेँ । ए बाजे यसपछि के भनिदिनु न भन्थेँ । बाजेलाई अलिअलि रक्सी खानुपर्ने बानी, मलाई थोरै रक्सी लेराइदेऊ अनि भन्छु भन्नुहुन्थ्यो । म जहाँबाट भए पनि खोजेर बाजेको लागि रक्सी ल्याइदिन्थेँ र सिक्थेँ’ उनले त्यसरी नै धिमे बाजासहित नौ बाजा नै सिकिन् ।

‘बाजेले मलाई धेरै माया गर्नुहुन्थ्यो । बाजे बित्नुभएको पनि १५ वर्ष भइसक्यो । अहिले पनि बाजा बजाइरहँदा बाजेले सिकाउनुभएका ती दिनहरु याद आउँछ । बाजेले बोलहरु भनेको, सिकाउने शैली सबै याद आउँछ,’ उनले भनिन् ।

बाजा बोकेर निस्किँदा

घरमा ६ महिना लगाएर धिमे बाजा र झण्डै तीन वर्षमा नौ बाजा सिकेपछि बाहिर निस्किएर बजाइहाल्न इन्दिरालाई समयको साथ थिएन ।

घरमै बजाएको थाहा पाउनेहरुले पनि उनलाई मात्र होइन परिवारलाई नै धारे हात लाइरहेका थिए । ‘केटीले बजाउनै नहुने कुरा बजायो भनेर समाजमा धेरै नै हल्ला भयो । परिवारको पनि कुरा काट्न सुरु भयो । त्यस्तो कुरालाई वास्ता नै नगरी अगाडि बढेँ,’ इन्दिरा भन्छिन् ।

बाहिर निस्किएर बजाउन थालेपछि सबैजना हेरेको हेर्‍यै भएको उनलाई याद छ । भक्तपुरमा हरेक वर्ष हुने नेवारी कला, साहित्य, भाषासम्बन्धी कार्यक्रममा पहिलोपटक धिमे बजाउन पाउँदा उनले मिश्रित प्रतिक्रिया पाइन् ।

‘त्यो बेला मेरो कपाल पनि केटाहरुको जस्तै छोटो थियो । सारी लगाएर मञ्चमा गएकी थिएँ । उदघोषकले नाम ‘इन्दिरा’ भनेर बोलाए पनि मानिसहरुले मलाई केटा नै केटी बनेर आएको होला भनिरहेका थिए,’ उनी सम्झिन्छिन्, ‘केटा हो कि केटी भनेर कति जना त भेट्न नै आए ।’

पहिलोपटक बाहिर निस्किएर बजाएपछि त उनको खोजी हुन थालिहाल्यो । सकारात्मक कुरा मात्रै लिएर अगाडि बढेपछि कुरा काट्नेहरु पनि थाक्दै गए । उनले बाजा बजाएको हेर्न आउनेको घुइँचो पनि उत्तिकै हुन थाल्यो । ‘केटीले धिमे बजाउने रे’ भनेपछि मानिसहरु जमघट भइहाल्थे । त्यसले उनलाई हौसला थपिँदै गयो । ‘प्रतियोगितामा जाने बेलामा पनि प्रतिस्पर्धीहरु सबै केटा नै हुन्थे, तर म सधैँ प्रथम पुरस्कार जित्थेँ । ती क्षणहरु असाध्यै अविस्मरणीय छ,’ उनी भन्छिन् ।

केटाहरुको बीचमा एक्ली केटी

तिमीले सुरु गर्‍यौ, अब हामीले नै टोलमा सिकाउन थाल्नुपर्छ भनेर बाले भनेपछि ०५४ सालमा टोलका १२ जना केटीहरुलाई उनले नै सिकाउन थालिन् ।

‘त्यसमध्ये नियमित गरिरहने त धेरै हुनुहुन्न, बेला-बेला कार्यक्रममा आएर बजाउनुहुन्छ,’ उनले भनिन् ।

इन्दिरालाई केटाहरुको समूहमा एक्लो केटी हुँदा कहिल्यै असहज महसुस गर्नुपरेन । सबैको साथ र सहयोग नै पाइन् । अझ एक्लो केटी भएकाले सबैको ध्यान आफ्नो प्रस्तुतिमा रहने हुँदा उनलाई खुशी नै लाग्यो ।

नेपालमा मात्रै होइन, विदेशमा गएर पनि धिमे बाजा बजाइन् उनले । ‘म पहिलोपटक इटालीमा धिमे बाजा बजाउन जाँदा १० जनाको समूहमा एक्ली केटी थिएँ । त्यहाँ पनि अरु केटीहरु किन छैनन् भन्ने कुरा भएको थियो । गुरुले नै नेपालमा अरु केटीहरुले बजाउँदैनन् अब विस्तारै आउँदै जान्छन् भनिदिनुभयो,’ उनले भनिन् ।

बनेपा, लुभू, पोखरा, हेटौँडा, वीरगञ्ज, बिराटनगरसहित विदेशमा दुईपटक इटाली, जर्मन, अस्टि्रया, थाइल्याण्ड र भारतका विभिन्न भागमा गएर इन्दिराले आफ्नो कला देखाइसकेकी छिन् ।

‘धिमे बाजा, नौ बाजा हाम्रो चाडवाडमा पनि निकै महत्व राख्ने बाजा हुन् । भक्तपुर नगरपालिकाले हरेक वर्ष यस्ता बाजाहरुको प्रतियोगिता नै गर्छ । त्यसले गर्दा पनि बाजा जोगाउन र केटीहरुलाई पनि यसमा लाग्न सहयोग पुगेको छ,’ उनले भनिन् ।

बिहे गरेपछि उनलाई श्रीमानले पनि बाजे र बाले जस्तै सहयोग गरिरहेका छन् । श्रीमानले नै कार्यक्रमहरुमा जाने बेला सरसहयोग गर्छन् । सात वर्षको छोरा पनि धिमेतिर आकर्षित भइसकेका छन् । यी सबै कुराले इन्दिराको मुहार उज्यालो पारिराख्छ ।

तर उनलाई लाग्छ, आफ्नो परिवारमा जस्तै त्यो समय अरु घरमा पनि केटीहरुले त्यसरी साथ पाएको भए धिमे बजाउने कुरामा मात्रै होइन अरु धेरै कुरामा केटीहरु अगाडि आउँथे कि ।

‘पछिल्लो समय नै बिहेपछि केटीहरुले समय दिन पाइरहेका छैनन् । कतिपयलाई म कार्यक्रमहरु हुँदा बोलाउँछु तर उनीहरु घरबाट अनुमित पाउँदैनन्, कतिपय बेला बच्चाको कारण पनि व्यस्त हुन्छन् । बिहेपछि हरेक समस्याहरु आउने रहेछन्,’ उनले भनिन् ।

अन्त्यमा,

इन्दिराको एउटा प्रश्न छ, बाजा जोगाउने बजाएर कि थुनेर ?

पछिल्लो समय मानिसहरुले बाजा संरक्षण गर्ने कुरालाई गहन रुपमा नलिएको जस्तो उनलाई लाग्छ । बाजा संग्रहालयमा राखेर नभई बजाएर मात्रै संरक्षण गर्न सकिने इन्दिरा बताउँछिन् ।

धिमे बजाउँदा जस्तो रमाइलो इन्दिरालाई अरु केहीमा लाग्दैन । त्यही रमाइलो पाटोले नै धिमेमा नयाँ पुस्ताको आकर्षण बढिरहेको उनलाई लाग्छ । तर पछिल्लो पुस्ता नौ बाजा बजाउन उत्सुक नभएकोमा भने उनलाई चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment