Comments Add Comment

बार एसोसिएसन मतगणना : प्रगतिशील प्यानलको प्रारम्भिक अग्रता

Photo Credit : चन्द्र आले/अनलाइनखबर

१९ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । इलाम, झापा र विराटनगरको मतगणना सकिँदा प्रगतिशील समूहको प्यानल अगाडि छ ।

पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले १९६ मत पाएका छन् । यस्तै लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले १०९ मत पाएका छन् ।

यसैगरी महासचिव पदमा प्रगतिशील समूहकै सुरेन्द्र थापा १८५ मतसहित अगाडि छन् । लोकतान्त्रिक प्यानलका लिलामणी पौडेलले १११ मत पाएका छन् ।

इलाममा चन्डेश्वरले ५१ र सुनिलले २५ मत पाएका छन् । यसैगरी झापामा सुनिलले ७१ र चन्डेश्वरले ६२ मत पाए भने विराटनगरमा चन्डेश्वरले ८३ मत पाउँदा सुनिलले १३ मत पाएका छन् ।

यसैगरी महासचिव पदमा सुरेन्द्र थापाले इलाममा ४७ र लिलामणि पौडेलले २७ मत पाएका छन् । झापामा लिलामणिले ६९ र सुरेन्द्रले ५७ मत पाए । विराटनगरमा भने सुरेन्द्रले ८१ र लिलामणिले १५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्ष पदमा रुद्रप्रसाद पोखरेलले २०८ मत पाउँदा अर्का प्रत्यासी तेजबहादुर रावलले ८९ मत पाएका छन् ।

सोमबार राति ९ बजेसम्म मतगणना गरेर स्थगित गरिएको थियो । अब मंगलबार बिहान ९ बजेपछि पुनः मतगणना सुरु हुने निर्वाचन समितिका शिव रिजालले जानकारी दिए । सोमबार तीन ठाउँमा गणना गरिएको र मंगलबारबाट १० ठाउँमा मतगणना गर्ने तयारी भइरहेको रिजालले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन समितिका संयोजक दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment