Comments Add Comment

लेखक स्वस्थ हुनुका फाइदा

केही समयअघि झापामा एक बृहत साहित्यिक कार्यक्रमको आयोजना भयो । काठमाडौंका साथै सीमापारी भारतको सिलगुढी, दार्जिलिङ, असम, मिरिकतिरका पनि साहित्यकारको निकै ठूलो झमघट भएको थियो । कार्यक्रममा मैले केही मित्रहरुलाई नमस्कार गर्दै मलाई चिन्नुभयो ? भनेँ ।

उहाँहरु केही अल्मलिनुभयो । उहाँहरुलाई अप्ठ्यारो पार्न चाहिनँ । यही कारण मैले आफैंले आफ्नो परिचय दिएँ । त्यसमध्येका एक मित्र छक्क पर्नुभयो । ‘अरे मैले त तपाईं यति जवान हुनुहुन्छ भन्ने सोचेकै थिइनँ । निकै प्रौढ हुनुहुन्छ होलाजस्तो लागेर मैले तपाई भनेर अनुमानै गरिनँ नि’ भन्नुभयो । मैले मेरो उमेर बताएपछि झन् आश्चर्य मान्दै उहाँले प्रश्न गर्नुभयो- कसरी आफूलाई फिट राख्न सक्नुभएको छ ?’

मैले आफ्नो पहिलेको अवस्था र आफूले परिवर्तन गरेको आनीबानीका बारेमा बताएँ । उहाँले यसै विषयमा लेख्नुस् न एउटा, तपाई लेख्ने मान्छे भनेपछि आज यो लेख्ने जमर्काे गरेकी छु ।

यतिबेला यो लेख लेख्न बस्दा मैले दार्जीलिङकी स्रष्टा आदरणीय विन्ध्या सुब्बालाई पनि सम्भिmरहेकी छु । आज भन्दा छ/सात वर्षअघि झापाको दमकमा एउटा कार्यक्रमको संयोजन मैले गरेकी थिएँ । जुन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आदरणीय विन्ध्या सुब्बालाई निमन्त्रणा गरिएको थियो । त्यतिबेला फोनमा निकैपटक उहाँसँग कार्यक्रमको बारेमा कुराकानी हुन्थ्यो । प्रत्यक्ष भेट भने भएको थिएन । जब उहाँ आउनुभयो, मैले आफ्नो परिचय दिएँ । उहाँ छक्क पर्दै भन्नुभयो, मैले तपाई यति भर्खरकी हुनुहुन्छ भन्ने सोचेकै थिइनँ । फोनमा बोल्दा त निकै प्रौढको जस्तो आवाज लाग्थ्यो ।’ त्यतिबेला मलाई भर्खरकी देख्ने बिन्ध्या दिदी मात्रै हुनुहुन्थ्यो । आज भेट्दा के भन्नु होला दिदीले झन् ? सोचिरहेछु ।

आजभन्दा १० वर्षअघि देख्नेहरुले मलाई अहिले धेरैले चिन्दैनन् । लामो समयपछि भेटिएका साथीहरु तिमी त झन जवान भइछौ, के हो रहस्य भन्छन्, जो आजभन्दा १० वर्षअघि तिमी त कस्तो जवानीमै बुढी देखिन्छौ भन्थे । आज म तिनै केही उपायहरु बताउँछु, जसले मलाई जवान र स्वस्थ रहन मद्दत पुगेको छ ।

यो परिवर्तन त्यति सजिलै आएको भने पक्कै होइन । अझ महिलाहरुलाई स्वस्थ रहन त्यति सजिलो छैन । महिलाहरू परिवार र समुदायको स्वास्थ्यका निम्ति मरिमेटेर काम गर्छन् । तर, उनीहरू आफ्नै स्वास्थ्यका निम्ति भने समय, पैसा र शक्तिको अभावमा रोग लुकाएर बस्न बाध्य हुन्छन् ।

समय र परिस्थिति सधैं एकनास हुँदैन । त्यही समय र परिस्थितिको दासले मेरो जीवनले पनि नयाँ मोड लियो । यस्तो मोड कि, न म त्यसबाट न बाहिर आउन सकें, न त आत्ससात नै । मानसिक रुपमा विक्षिप्तसमेत भएँ ।

हुँदाहुँदा मानसिक रोग विशेषज्ञकहाँ गएर नियमित निगरानीमा रहेर केही समय औषधि समेत सेवन गरेँ । यहीबीचमा मलाई योग प्रशिक्षक गंगा ढकालले मेरो अवस्थाको बारेमा थाहा पाएर योग कक्षामा बिहान-बिहान बोलाउनु भयो । मन नलागी नलागी योग कक्षामा जान थालें । ध्यान गर्न थालेँ । ममा परिवर्तनहरु आउन थाले । आफैंलाई अर्कै महसुस हुन थाल्यो ।

केही समयको योग कक्षा र औषधि सेवनले ममा एउटा दरो आत्मविश्वास पलायो । म आफैंले आफैंलाई बुझ्न थालें । कस्तो थिएँ कस्तो भएँ, म त यस्तो मान्छे होइन भनेर आफैंले आफ्नो मूल्याङ्कन गर्न थालेँ । ममा भएको नकारात्मक सोच, रीस पनि हराउँदै गयो । मानसिक रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा थिएँ नै ।

यतिञ्जेलको योग र ध्यानले ममा आत्मविश्वास पलााइसकेको थियो । मैले आफैले म औषधि छोड्न चाहन्छु, म मानसिक रोगी होइन, मानसिक रोगको अवस्था मात्र हो मेरो, सबैभन्दा ठूलो औषधि आत्मविश्वास हो, म पूर्णरुपमा स्वस्थताको अनुभव गरिरहेकी छु, त्यसैले म औषधि नखाने निर्णयमा पुगेको कुरा चिकित्सकलाई भेटेर भनेँ । यति धेरै आत्मविश्वासी विरामी पहिलोपटक भेटेँ भन्दै चिकित्सकले मेरो बाँकी जीवनमा केही राम्रो गर्ने शुभकामना दिँदै औषधि एकैपटक नछाड्न सल्लाह दिनुभयो । तर, मलाई औषधिभन्दा मेरो आत्मविश्वासले बलियो बनाउँछ भन्ने भित्रैबाट लाग्यो र त्यही दिनबाट मैले औषधि छाडिदिएँ ।

अहिले झण्डै ६ वर्ष भयो होला, एउटा पनि औषधि खानुपरेको छैन । यसको मुख्य कारण भने आफूलाई आफैंले विश्वास गर्नु हो । सकारात्मक सोच्नु हो । व्यवस्थित जीवनशैली, खुशी कसरी हुने, आफ्नो जीवनलाई सुखी कसरी बनाउने नितान्त आफैंमा भर पर्छ

यो यही मोड हो , जहाँबाट मेरो अर्काे पृथक यात्रा शुरु भयो । जिन्दगीको नयाँ यात्रा । जसले मेरो जीवनमा धेरै परिवर्तन ल्यायो ।  जीवनप्रतिको मोह जगाइदियो । र, जीवनलाई अत्याधिक प्रेम गर्न सिकायो । मानसिक तनाबका कारण कयौं दिन भोकै बस्ने म समयमै खाना खान थालेँ । बेलुकी चाँडै सुत्ने र बिहान चाँडै उठ्न थालेँ । बिहान उठेर योग गरिनँ भने मर्निङ वाक जान थालेँ । यतिमात्र गर्दा पनि मन शान्त भएको अनुभव हुन थाल्यो । आफूलाई व्यस्त राख्न थालें । काम हुँदा काम गर्ने, नत्र पत्रपत्रिका पढ्ने, संगीत सुन्ने आदि-आदि ।

मस्तिष्कलाई व्यस्त राख्न थालेपछि मनमा नकारात्मक कुराले प्रवेश गर्न नपाउँदोरहेछ । र, सकारात्मक सोचको पनि विकास हुँदोरहेछ । हाँस्नु पर्दा दिल खोलेर हाँस्न थालें । हाँसो एक प्रकारको प्राकृतिक उपचार पद्दति  हो भनेर योग गर्दा थाहा पाइसकेकी थिएँ । यसरी हाँस्दा कतिले वाइफाले समेत भने । तर, वास्ता गरिनँ । हाँस्दा शरीरका सम्पूर्ण अंगहरु सक्रिय हुन्छन् भन्ने जानिसकेपछि र जीव्ानलाई प्रेम गर्न थालिसकेपछि अरुले भनेका यस्ता कुराले त्यति नछुँदोरहेछ ।  र, रुँदा पनि  दिल खोलेरै रुन थालें । रुनु पनि मन शान्त पार्ने एक माध्यम हो । अरुले के भन्छन् भन्ने भन्दा पनि मेरा लागि के उचित हुन्छ भन्ने लाग्न थाल्यो । किनकि मैले जीवनलाई अत्याधिक प्रेम गर्न थालिसकेकी थिएँ । शाकाहारी त म पहिलेदेखि नै थिएँ ।

खानपिन, आहारबिहारमा विशेष ध्यान दिन थालेँ । कतै कार्यक्रम या यात्रामा जानुपर्‍यो भने ब्यागमा केही न केही खानेकुरा विशेष गरी फलफूल बोकेर हिँड्न थालेँ । कसैले कोक, फेन्टा खाउँ भन्दा पनि मलाई चिसो पानी नै दिनुस् भन्न थालेँ, बिहान-बिहान खालीपेटमा मन तातो पानी, ज्वानो, बेलुकी सकेसम्म चाँडो र भातको सट्टा रोटी, ढिँडोलगायत खान थालेँ ।

प्रत्येक दिन नसके पनि हप्ता दश दिनमा एक छाक कोदोको पिठो, एक छाक फापरको पिठो, एक छाक मकैको पिठो यसरी प्रयोग गर्न थालेँ । बाहिर होटलहरुमा पनि बाध्यता पर्दा मात्र खाने र कार्यक्रम, बिहे, भोज, पार्टीमा पनि खानाभन्दा सलाद बढी लिन थालेँ । साथीभाइ, आफन्त आउँदा बाहेक अन्य समयमा सागसब्जीमा चिल्लो, मसलाको प्रयोग नामका लागि मात्र गर्न थालेँ । तरकारीमा नुनको बदला कालोनून हाल्ने आदि गर्न थालेँ । अहिले म आफैंदेखि आफैंलाई अचम्म लाग्छ । बेलाबेला त हिजोकै म हो कि होइन जस्तो पनि लाग्छ ।

कुनैबेला चिकित्सकले माइग्रेन छ भनेका थिए । अहिले झण्डै ६ वर्ष भयो होला, एउटा पनि औषधि खानुपरेको छैन । यसको मुख्य कारण भने आफूलाई आफैंले विश्वास गर्नु हो । सकारात्मक सोच्नु हो । व्यवस्थित जीवनशैली, खुशी कसरी हुने, आफ्नो जीवनलाई सुखी कसरी बनाउने नितान्त आफैंमा भर पर्छ । जब सकारात्मक सोचिन्छ, मन शान्त हुन्छ । शरीरमा स्फूर्ति जाग्छ । अलिकति मात्र खानपिन र जीवनशैलीमा ध्यान दिने हो भने जीवन खुशी र सुखमय र स्वस्थ बनाउन सकिन्छ । खानपिनमा नियमित ध्यान दिने, सकारात्मक सोच राख्ने, आफूलाई व्यस्त राख्ने हो भने जीवन स्वस्थ र तन्दुरुस्त बनाउन सकिने रहेछ भन्ने मेरो आफ्नै भोगाइले बताएको छ । यिनै हुन् मलाई स्वस्थ र जवान बनाउने तरिका  ।

स्वास्थ सबैका लागि अनिवार्य सर्त हो । लेखकका लागि यो अझ बढी आवश्यक हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment